काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ असार २०८३
अ+
अ-

काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार सुधारका विषयमा केन्द्रित रही छलफल भएको छ।

बैठकमा सांसद तथा विज्ञले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनमा जोड दिए।

समिति सभापति आशिष गजुरेलले सुझावलाई कार्यान्वयनमा लैजान समितिले सहजीकरण गर्ने बताए। उनले सडक सुरक्षा अत्यन्त संवेदनशील विषय भएकाले सरकार यसमा गम्भीर हुनुपर्ने धारणा राखे।

सडक सुरक्षासम्बन्धी विधेयक बनेको पाँच वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसकेको उल्लेख गर्दै उनले सडक पूर्वाधार समयमै निर्माण नहुँदा समस्या बढिरहेको बताए।

एकीकृत यातायात नीति रहे तापनि सम्बन्धित मन्त्रालय हटाइएको विषय उठाउँदै उनले भावी पुस्ताको सुरक्षाका लागि पनि सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए।

सभापति गजुरेलले भने, ‘अझै पनि व्यवस्थित फुटपाथ र अपाङ्गमैत्री सडक निर्माण हुनसकेको छैन।’

सांसद सुनिल केसीले सडक दुर्घटनाका समस्या समाधान गर्न संसद्ले सहजीकरण गर्नुपर्ने बताए। उनले सडक निर्माणका क्रममा अव्यवस्थित रूपमा बाटो खन्ने, मर्मतमा ढिलाइ हुने तथा सरोकारवाला निकायबीचको समन्वय अभावका कारण दुर्घटनाको जोखिम बढेको जनाउँदै समितिमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद वासना थापाले कर्णाली क्षेत्रमा सडक सञ्चालन अनुमति (रोड परमिट) प्राप्त गर्नसमेत समस्या रहेको जनाउँदै सडक सुरक्षाको अवस्था सुधार गर्नुपर्नेमा जोड दिए।

बैठकमा सांसद भरतकुमार स्वार, पूर्णप्रसाद लिम्बू, धनेन्द्र कार्की र राजु पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सडक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातका लागि बेग्लै सडक लेन, पार्किङ व्यवस्थापन र दक्ष चालकको आवश्यकता औँल्याए।

उनले नेपालमा बढ्दो सवारी चापअनुसार पूर्वाधार निर्माण हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठले मालवाहक सवारीसाधनको निगरानी र सुरक्षा प्रणाली सुधार गर्नुपर्ने बताए।

समितिले सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार विकासका विषयमा विज्ञ तथा सरोकारवालासँग सुझाव लिएको हो।