काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

३ असार २०८३
अ+
अ-

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो साइज (व्यास) को पाइप हो।

भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए।

‘पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ। अब चाँडै अन्य प्रक्रिया सुरु हुन्छ’, इन्जिनियर श्रेष्ठले भने।

उनका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्‍याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा कामम भइरहेको छ।

हाल विभिन्न स्थानमा ‘रिजर्भ’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिने जनाइएको छ।

‘सिस्टम’ हस्तान्तरणपछि काठमाडौँवासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताए।