काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

३ असार २०८३
अ+
अ-

झापा। जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार र मंगलबार ‘स्वीप अपरेसन’ गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

शंकास्पद स्थानमा सञ्चालित अपरेसनका क्रममा ७९ पुरुष र चार महिला गरी ८३ जना लागुऔषध सेवनकर्ता र नौ जना कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्लास्टिकबाहेक ३८ ग्राम ९१० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ र तीन ग्राम ९०० मिलीग्राम गाँजा बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार लागुऔषधसहित फेलापरेका मुख्य कारोबारीहरूमा दमक नगरपालिका–३ बस्ने २७ वर्षीय विकास भुजेल र भद्रपुर नगरपालिका–७ बस्ने ३० वर्षीया सरिता राजवंशी रहेका छन्।

उनीहरूको साथबाट छ ग्राम ९० मिलीग्राम खैरो हेरोइन बरामद भएको छ। यस्तै, बिर्तामोड नगरपालिका–६ बस्ने १८ वर्षीय देवेन्द्र विकको साथबाट एक ग्राम ४२० मिलीग्राम र बिर्तामोड–३ घर भई हाल वडा नं ४ मा डेरा गरी बस्ने ३९ वर्षीय गणेशप्रसाद ओलीको साथबाट ३०० मिलीग्राम खैरो हेरोइन फेलापरेको छ।

त्यसैगरी, प्रतिबन्धित गाँजा तीन ग्राम ९०० मिलीग्रामसहित बिर्तामोड नगरपालिका–४ बस्ने २६ वर्षीय चाल्स लिम्बू र वडा नं ३ बस्ने ३० वर्षीय उमेश राजवंशी पक्राउ परेका छन्।

शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित ‘एलेक्स’ भन्ने सुरज ढकालको घर कोठा खानतलासी गर्दा २० ग्राम ४१० मिलीग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

चितवन भरतपुर महानगरपालिका–१४ बस्ने २४ वर्षीया सोनी खाती र मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बस्ने ६० वर्षीया सीता राजवंशीको साथबाट १० ग्राम ७७० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको छ।

प्रहरी नायब उपरीक्षक अवाका अनुसार नियन्त्रणमा लिइएका नौ जनामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

नियन्त्रणमा लिइएका अन्य लागुऔषध सेवनकर्ताहरूलाई आवश्यक मनोपरामर्श सेवा प्रदान गरी अभिभावकको जिम्मा लगाउने तथा आवश्यकताअनुसार पुनःस्थापना केन्द्रमा पठाउने कार्यसमेत भइरहेको छ।