झापा। जंगली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि झापामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिइन्।
‘प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढाउन बुधबार भनिसकेको छ, उनले भनिन्, ‘अब प्रमुख जिल्ला अधिकारीले ‘स्पेसल टास्क फोर्स’ परिचालनका लागि आवश्यक समन्वय गर्नु हुनेछ।’
गतसाता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा मृत्यु भएपछि स्थानीयवासीले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन्।
सोही घटनापश्चात् सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले जंगली हात्ती नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेकी थिइन्। ‘स्पेसल टास्क फोर्स’मा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैँले गर्ने कार्ययोजना बनेको सांसद डाँगीले जानकारी दिइन्।
फोर्सलाई हात्तीको प्रवेश गौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने जनाइएको छ। सो क्षेत्रमा अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बंगालबाट ३० देखि १०० वटासम्म जंगली हात्तीको बथान एकैपटकमा नेपाल प्रवेश गर्दै आएको छ।
वन्यजन्तु आरक्ष क्षेत्र नभएकाले हात्ती नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया सहज छैन। सशस्त्र प्रहरी बल र नेपाल प्रहरी संघीय सरकार मातहत रहेका छन् भने सशस्त्र वन रक्षक प्रदेश सरकारको मातहतमा रहन्छन्।