आवरण
महिला क्रिकेटमा पनि पुरुषसरह नै लगानी र अवसर दिन थालिए पनि नतिजा भने निराशाजनक
‘क्यानले लगानी धेरै गरेको छ। त्यसैले हामीले त्यसको प्रतिफल नतिजामार्फत दिनुपर्छ। नतिजा दिन थालेपछि टोलीले पनि सही अर्थमा प्रगति गर्छ।’
मलेसियामा एसियन गेम्स छनोट र एसीसी (एसियन क्रिकेट काउन्सिल) महिला प्रिमियर कप खेल्नुअघि १७ मेमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माद्वारा व्यक्त यस भनाइमा जिम्मेवारी र अपेक्षा दुवै झल्किन्थ्यो। तर, प्रदर्शन त्यसअनुरूप हुन सकेन।
एसियन गेम्स छनोटमा चीनलाई १९ रन र इन्डोनेसियालाई चार विकेटले पराजित गर्दै नेपाल समूह ‘बी’ विजेता बनेर सेमिफाइनल त पुग्यो। तर, घरेलु टोली मलेसियासँग दुई विकेटको हार बेहोर्यो। तेस्रो स्थानका लागि भएको खेलमा समूह चरणमै हराइसकेको चीनसँग पाँच विकेटको हारसँगै नेपाल एसियन गेम्समा छनोट हुनसमेत असफल रह्यो।
लगत्तै मलेसियामै भएको एसीसी महिला प्रिमियर कपमा पनि नेपालले सुरुआती खेलमा राम्रो प्रदर्शन गरेको थियो। कतारलाई ८ विकेट र भुटानलाई ५१ रनले पराजित गर्दै नेपालले एक खेलअगावै क्वार्टरफाइनलमा स्थान बनायो। तर, समूहको अन्तिम खेलमा हङकङसँग ६९ रनको हार बेहोर्दा टोलीको गति रोकियो।

कविता कुँवर र कप्तान इन्दु बर्मा बायाँ।
एसिया कपमा छनोट हुन निर्णायक मानिएको खेलमा थाइल्यान्डसँग ५६ रनको हार बेहोर्दै नेपाल फेरि एकपटक लक्ष्यबाट टाढियो। चीन एसिया कपमा छनोट भयो। हङकङ र थाइल्यान्डले पनि एसिया कपमा स्थान सुरक्षित गरे।
१३ जुनमा टोलीसहित स्वदेश फर्किएकी कप्तान इन्दु निराश थिइन्। “यहाँबाट जाँदा हामी निकै आत्मविश्वासका साथ गएका थियौँ र अघिल्ला दुई शृंखलामा टोलीको लय पनि राम्रो थियो, तर त्यसलाई सफलतामा बदल्न सकेनौँ,” इन्दुले भनिन्, “भ्रमण निराशाजनक रह्यो।”
अलमलिएको टोली
सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेदेखि नेपाली महिला टोलीबाट अपेक्षा बढेको थियो। कतिपयले त पुरुष टोलीभन्दा अघि महिला टोलीले नै विश्वकप खेल्ने भविष्यवाणीसमेत गरेका थिए। तर, अहिलेसम्म महिला टोली एसिया कपभन्दा माथि उक्लन सकेको छैन। सन् २०२४ मा श्रीलंकामा भएको उक्त प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने नेपाल एसिया कपमा छनोट पनि हुन सकेन। त्यसबाहेक यसैवर्ष नेपालले पहिलोपटक आइसीसी टी-२० ग्लोबल क्वालिफायरमा सहभागिता जनाउनु नै ठूलो उपलब्धि रह्यो।
उता पुरुष टोली भने लगातार प्रगतिको बाटोमा अघि लम्कियो। यस टोलीले सन् २०१४, २०२४ र २०२६ मा टी-२० विश्वकप खेल्यो। सन् २०२३ मा एसिया कपमा भारत र पाकिस्तानसँग एकदिवसीय क्रिकेट खेल्ने अवसरसमेत पायो।
यसबीच महिला क्रिकेटले पर्याप्त अवसर र लगानी नपाएको गुनासो पनि बारम्बार उठिरह्यो। कप्तान इन्दुसहित केही खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटलाई उपेक्षा गरेको आरोपसमेत लगाए। आरोप आधारहीन थिएन। पुरुष टोली वर्षभर विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता र शृंखलामा व्यस्त रहँदा महिला टोली भने आईसीसी र एसीसीका सीमित प्रतियोगितामै खुम्चिन बाध्य थियो।
तर, हालैका वर्षहरूमा अवस्था फेरिएको छ। क्यानले महिला क्रिकेटमा लगानी बढाएको छ। अहिले क्यानले महिला क्रिकेट प्रवर्द्धनमा प्रतियोगिताका लागि मात्र वार्षिक करिब पाँच लाख अमेरिकी डलर बराबरको बजेट छुट्याएको छ। विदेशी प्रशिक्षक हर्षल पाठकसमेत भित्र्याएको क्यानले महिलालाई पुरुष टोलीसरह ‘म्याच फी’ (प्रतिखेल १० हजार रुपैयाँ) दिने व्यवस्था मिलाएको छ। सन् २०२० मा पहिलोपल्ट केन्द्रीय सम्झौतामा रहँदा १० देखि १५ हजार रुपैयाँ तलब थाप्ने महिला खेलाडीले अहिले २५ देखि ५५ हजार रुपैयाँ पाउन थालेका छन्। नियमित प्रशिक्षण र अन्तर्राष्ट्रिय शृंखला पनि भइरहेकै छ।

नेपाली महिला टोली।
यस वर्षकै कुरा गर्ने हो भने पनि नेपाली पुरुष र महिला राष्ट्रिय टोलीले समान २० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। पुरुष टोलीले वर्षको सुरुआत आईसीसी टी-२० विश्वकपबाट गरेको थियो। त्यसपछि उसले यूएईसँग दुई खेलको शृंखला खेल्यो। घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग-२ का खेलमा सहभागी भयो। सिंगापुरमा भएको एसियन गेम्स छनोटमा प्रतिस्पर्धा गर्यो।
यस अवधिमा महिला टोलीले पनि समानान्तर अन्तर्राष्ट्रिय अनुभव बटुल्यो। उसले थाइल्यान्डमा एसिया कप राइजिङ स्टार्स, रुवान्डामा आईसीसी च्याम्पियन ट्रफी तथा मलेसियामा दुई टी-२० आई शृंखला, एसियन गेम्स छनोट र एसीसी प्रिमियर कप खेल्यो।
तर, परिणाममा दुवै टोलीबीच स्पष्ट भिन्नता देखियो। पुरुष टोलीले विश्वकपमा दुई पटकको विजेता इङ्ल्यान्डविरुद्ध समेत प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आत्मविश्वास बढायो। घरेलु मैदानमा यूएईसँगको शृंखला जित्दै लिग-२ का आठमध्ये ६ खेल आफ्नो पक्षमा पार्यो। सिंगापुरमा अपराजित रहँदै एसियन गेम्समा समेत स्थान सुरक्षित गर्यो।
विपरीत, महिला टोलीले २० खेलमध्ये ११ खेल जिते पनि अपेक्षित उपलब्धि भने हासिल गर्न सकेन। बरु वरीयतामा आफूभन्दा निकै तल रहेका भानुआटु र चीनसँग समेत पराजित हुनुपर्यो।
मुख्य प्रशिक्षक पाठक यसको मुख्य कारण टिमकै कमजोरी रहेको स्वीकार्छन्। “हार र जित खेलका हिस्सा हुन्। तर, अब हामीले आफ्ना कमजोरीहरूबारे गम्भीर मन्थन गर्नुपर्छ,” उनी भन्छन्, “हामीले परिस्थितिअनुसार आफूलाई ढाल्न सकेनौँ। शारीरिक तन्दुरुस्तीमा कमी देखियो, ब्याटिङ अवेरनेस पनि भएन। कहाँ गति बढाउने, कहाँ रोकिएर खेल्ने भन्नेमै खेलाडी अलमलिए।”

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठक।
नेपाली टोलीको मुख्य समस्या नै शारीरिक तन्दुरुस्ती हो। यही समस्या सुधार्न क्यानले भारतकी स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षक मोनिकालाई नेपाल ल्याएको थियो। तर, उनी आएको एक वर्षभन्दा बढी भए पनि टोलीमा त्यसको प्रभाव देखिएको छैन।
हर्षल आउनुअघि नेपाली महिला राष्ट्रिय टोलीलाई मनोज कटुवालले प्रशिक्षण दिइरहेका थिए। १० नोभेम्बर २०२३ मा दुई वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त कटुवालकै नेतृत्वमा टोलीले पहिलोपटक टी-२० विश्वकप छनोटको एसिया चरण पार गर्दै ग्लोबल छनोटसम्मको यात्रा तय गरेको थियो।
त्यति मात्र होइन, उनको प्रशिक्षणकालमा नेपालले एसीसी प्रिमियर कप, एसिया कप र विभिन्न अन्तर्राष्ट्रिय शृंखला पनि खेलेको थियो। यस अवधिमा नेपालले हङकङ, तान्जानिया, जापान, नेदरल्यान्ड्स, थाइल्यान्ड, युगान्डा र नामबियासँग शृंखला पनि खेल्यो।
तर, कप्तान इन्दुले सञ्चारमाध्यममै प्रशिक्षक कटुवालसँगको सहकार्यले टोलीलाई थप उचाइमा पुर्याउन नसकेको भन्दै यसका लागि क्यानसँग विदेशी प्रशिक्षकको माग गरेकी थिइन्। त्यसपछि क्यानले पाठकलाई नयाँ प्रशिक्षक नियुक्त गरेको थियो।
थाइल्यान्डलाई विश्वकपमा पुर्याएका पाठकको आगमनसँगै क्यान व्यवस्थापन, टोली र समर्थकमा उत्साह र महत्त्वाकांक्षा एकसाथ छाएको थियो। स्वयं पाठकले पनि नेपाललाई विश्वकपमा पुग्न सक्ने टोलीका रूपमा हेरेका थिए। तर, गत जनवरीमा घरेलु मैदानमै भएको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताबाट नेपाली महिला टोलीको जिम्मेवारी सम्हालेका उनले आशाअनुरूप नतिजा दिलाउन सकेनन्। प्रतियोगितामा नेपालले थाइल्यान्डसँग आठ विकेट, नेदरल्यान्ड्ससँग दुई रन तथा स्कटल्यान्डसँग ७२ रनको हार बेहोर्यो। प्रतियोगितामा नेपालको एक मात्र उपलब्धि कमजोर मानिएको जिम्बाबेविरुद्ध ६ विकेटको जित निकाल्नु रह्यो।
त्यसयता मलेसियासँग खेलेको दुई शृंखला जित्नुबाहेक नेपाली टोलीले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय नतिजा हात पार्न सकेको छैन। प्रशिक्षक पाठक यसको प्रमुख कारण अपर्याप्त समय रहेको तर्क गर्छन्। “म यहाँ आएको छोटो समय मात्र भएको छ। नयाँ खेलाडी आएका छैनन्। अझै पुरानै टिमसँग काम गर्नुपरेको छ,” उनी भन्छन्।
उही खेलाडी, उस्तै नतिजा
नेपाली टोली प्रायः पुरानै खेलाडीको वरिपरि घुमिरहेको देखिन्छ। तीमध्ये प्रमुख दुई नाम हुन्, सीता रानामगर र रुविना क्षेत्री।
१२ जुलाई २००७ मा एसीसी महिला प्रतियोगिताअन्तर्गत थाइल्यान्डविरुद्ध डेब्यु गरेकी सीता (३४) अझै टोलीको हिस्सा छिन्। त्यस्तै, ४ जुलाई २००९ मा एसीसी महिला टी-२० च्याम्पियनसिपमा सिंगापुरविरुद्ध अन्तर्राष्ट्रिय डेब्यु गरेकी रुविना (३२) पनि लामो समयदेखि टोलीको महत्त्वपूर्ण सदस्य रहँदै आएकी छन्। तर, यी दुईले पछिल्लो समय टोलीमा अनुभवी र परिपक्व खेलाडीको योगदान दिन सकेका छैनन्।
सीताले पछिल्लो १३ खेलमा ११४ रन बनाएकी छन्। उनीभन्दा सात खेल बढी खेलेकी रुविनाले ९० रन बनाएकी छन्। बलिङमा सीताले ६ विकेट लिँदा रुविनाले भने १७ विकेट लिएकी छन्।

रुविना क्षेत्री (दायाँ) र सीता रानामगर।
यी दुईबाहेक सन् २०१९ पछि टोलीमा प्रवेश गरेका खेलाडी नै अहिलेको मुख्य संरचना बनेका छन्। तीमध्ये कप्तान इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, कविता जोशी र काजोल श्रेष्ठ नियमित रूपमा टोलीको हिस्सा रहँदै आएका छन्।
अहिले स्वयं कप्तान इन्दुको प्रदर्शनमा समेत प्रश्न उठ्न थालेको छ। गएको १८ खेलको तथ्यांक हेर्दा मलेसियाविरुद्ध ३० मेमा भएको एसियन गेम्स छनोटमा अविजित ४६ रन बनाउनु उनको हेर्नलायक इनिङ थियो। उक्त खेलमा उनले ४१ बलमा पाँच चौका प्रहार गरे पनि नेपाल दुई विकेटले पराजित भयो। बाँकी १७ खेलमा उनी निरन्तरता दिन असफल भएकाले कप्तानी भूमिकासँग जोडिएको अपेक्षा पूरा नभएको टिप्पणी हुन थालेको छ।
पूजा महतो, रुबी पोद्दार, सोनी पाख्रिन र सुमन विष्ट पछिल्लो पुस्ताका खेलाडी हुन्। तर, उनीहरूले समेत अपवादबाहेक ‘म्याच विनिङ’ प्रदर्शन देखाउन सकेका छैनन्। रिया शर्मा र मनीषा उपाध्याय जस्ता नयाँ खेलाडीले भने केही आशा देखाएका छन्। यी दुईले पछिल्ला पाँच प्रतियोगितामा क्रमश: २५ र २४ विकेट लिएका छन्।
महिला राष्ट्रिय टोलीकी पूर्वब्याटर डोली भट्ट नियमित घरेलु प्रतियोगिता नहुनु महिला क्रिकेटको मुख्य समस्या रहेको बताउँछिन्। “महिला क्रिकेटको स्तर उकास्न घरेलु प्रतियोगिताहरू नियमित सञ्चालन गर्नुपर्छ। निरन्तर प्रतिस्पर्धात्मक क्रिकेटले नयाँ प्रतिभाको पहिचान गर्न, खेलाडीहरूको सीप विकास गर्न र राष्ट्रिय टोलीमा स्थानका लागि स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। तर, अहिलेसम्म त्यसो भइरहेको छैन,” उनी भन्छिन्।

पूर्वखेलाडी डोली भट्ट।
सिनियर महिला खेलाडीले अन्तिमपल्ट १४ देखि २५ जनावरी २०२५ सम्म धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता खेलेका थिए। २० ओभरको उक्त प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब सहभागी थिए। दुई समूहमा विभाजन गरी खेलाइएको उक्त प्रतियोगितामा समूह ‘ए’ मा रहेका एपीएफ, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कर्णालीले समान चार खेल खेले।
तर, आर्मी, बागमती, कोसी र मधेसले भने तीन तीन मात्र खेल खेल्न पाए। १२ दिनमै प्रतियोगिता सकिने भएपछि क्यानले ‘सुपर फोर’ खेलाउँदै विजेता छानेको थियो। त्यसमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमतीले मात्र थप दुई खेल खेल्न पाए। यी टोलीमा प्राय: राष्ट्रिय टोलीका खेलाडी छन्। त्यसैले धेरै खेल्ने मौका यी खेलाडीले मात्र पाए। बाँकीले तीनचार खेलमै चित्त बुझाउन बाध्य हुनुपर्यो। त्यसयता क्यानले घरेलु प्रतियोगिता गरेको छैन। अहिले अस्ट्रेलिया रहेकी भट्ट यस्तै फुटकर प्रतियोगिता हुँदा नयाँ खेलाडीले पुरानासँग प्रतिस्पर्धा नै गर्न नसकेको बताउँछिन्।
“पहिला त पर्याप्त घरेलु प्रतियोगिता नै छैन। अझ पूर्वाधारको अभाव छ। यस्तोमा नयाँ खेलाडीको विकास प्रभावित भएको छ। उनीहरूलाई स्थापित खेलाडीसँग प्रतिस्पर्धा गरेर राष्ट्रिय टोलीमा स्थान बनाउन कठिन भइरहेको छ,” पाँच वर्ष घरेलु क्रिकेट खेलेर अस्ट्रेलिया लागेकी २४ वर्षीया भट्ट भन्छिन्। सो अवधिमा उनले २१ वटा टी–२० आई खेलेकी थिइन्। प्रदर्शनका आधारमा खेलाडी छनोट हुन नसक्नु महिला टोलीको अर्को समस्या रहेको पनि उनको आरोप छ।
“प्रदर्शनका आधारमा अवसर दिने संस्कार नबनाएसम्म सुधार सम्भव छैन। वर्षौंदेखि एउटै समूह वरिपरि टिम घुमिरहँदा नयाँ प्रतिभाले अवसर नै नपाउने अवस्था सिर्जना भएको छ,” नेपाली टोलीका पूर्वखेलाडी तथा अम्पायर सञ्जय गुरुङ भन्छन्, “घरेलु क्रिकेटमा मिहिनेत गरिरहेका युवालाई अवसर नदिएसम्म टिम बलियो बन्दैन।”
के गर्दै छ क्यान?
क्यानका प्रबन्धक विनोद दास पछिल्लो समय नेपाली महिला टोलीले विश्वकप छनोट, एसियन गेम्स छनोट र एसिया कपको मुख्य आधार रहेको एसीसी प्रिमियर कप खेल्न परेका कारण क्यानले घरेलु क्रिकेट गर्न नसकेको दाबी गर्छन्। “यो वर्ष विश्वकप छनोट, एसिया कप छनोटलगायत धेरै महत्त्वपूर्ण प्रतियोगिता भए। त्यसैले हाम्रो ध्यान त्यतै केन्द्रित थियो। अब वर्षा सकिएपछि सिनियर खेलाडीले खेल्ने प्रतियोगिता हुन्छन्,” उनी भन्छन्। यी प्रतियोगिता सकिएसँगै नयाँ खेलाडीलाई अवसर दिने र टोलीलाई थप फराकिलो बनाउने प्रक्रिया सुरु गरिने उनी बताउँछन्।
हुन त क्यानले भर्खरै प्रदेश प्रदेशमा यू-१९ प्रतियोगिता सक्काएको छ। प्रतियोगिताबाट केही खेलाडी छनोट गरेर क्याम्पमा राख्ने योजना छ। “ए टिम भनेर नाम दिनु मात्रै ठूलो कुरा होइन। अहिले पनि हामीले करिब २८ जना खेलाडीलाई विभिन्न समयमा रोटेसनमा क्याम्पमा बोलाइरहेका छौँ। गत वर्ष त एकपटक ३२ जना खेलाडीलाई समेत क्याम्पमा राखेका थियौँ,” महिला टोलीका पूर्व प्रशिक्षकसमेत रहिसकेका दास भन्छन्।

क्यानका प्रबन्धक विनोद दास। तस्बिर: दासको सामाजिक सञ्जाल
तर, उनकै भनाइअनुसार अब सिनियर टोलीले खेल्ने कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता छैन। नेपाल एसियन गेम्समा छनोट हुन सकेन। अर्कातर्फ एसिया कप पनि गुमाउनेछ। सेप्टेम्बरको मध्यबाट मात्रै अब घरेलु क्रिकेट प्रतियोगिता हुनेछ। सामान्यतया नेपालमा मध्य जुनदेखि मध्य सेप्टेम्बरसम्म वर्षा हुने गरेको छ।
क्यानको योजना भने अब टी-२० आई फर्म्याटमै केन्द्रित हुनेछ। पुरुष टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० आई मान्यता पाएको छ। महिलालाई भने टी-२० आई मान्यता मात्र प्राप्त भएको हुँदा यसमै लाग्ने उनी बताउँछन्। “प्रतियोगिता छोटो भएको भन्ने कुरा उठ्ने गरेको छ। अहिले सबैको मुख्य लक्ष्य टी-२० विश्वकपमा पुग्नु नै हो। हाम्रो पनि लक्ष्य त्यही फर्म्याटमा बलियो हुने हो,” दास भन्छन्।
000
नेपाली महिला टोलीलाई पहिलोपटक एसिया कप प्रतियोगितामा पुर्याएका टोलीका पूर्वमुख्य प्रशिक्षक मनोज कटुवाल नेपाली महिला क्रिकेटरमा सीप र क्षमतामा खासै कमी नरहेको तर तन्दुरुस्ती र व्यावसायिक आचरणमा सुधार गर्नैपर्ने औँल्याउँछन्। महिला क्रिकेटका समस्या र सम्भावनाबारे कटुवालसँग गरिएको कुराकानीको सार :
हालै महिला टोलीले दुई वटा ठूला प्रतियोगिताहरू खेल्यो। तर, जित हात पार्न सकेन। किन होला?
मेरो प्रशिक्षणमा हामीले नौ वर्षपछि एसिया कप खेल्यौँ र पहिलो पटक विश्वकपको ग्लोबल क्वालिफायरसम्म पुग्न सफल भयौँ। तर, अहिले आएर आफूभन्दा धेरै तलको वरीयता भएका चीन, इन्डोनेसिया र भानुआटु जस्ता टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने वा मलेसियासँग हार्नुपर्ने अवस्था आउनु दुःखद हो। हामीले यी टिमलाई आत्मविश्वासका साथ जित्नुपर्ने थियो।
हाम्रो प्रदर्शनमा पुराना कमजोरी अझै देखिएका छन्। प्रशिक्षक नयाँ भए पनि टोलीको मुख्य समस्या फिटनेसमा छ। स्किलका हिसाबले हाम्रा खेलाडी खराब छैनन्। तर, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न फिटनेसमा निकै सुधार गर्नुपर्ने देखिन्छ। चीनसँग हार्न नहुने खेल हार्नुको एउटा कारण फिटनेस नै हो। केही असर वर्षाले पनि गरेको हो।
ब्याटिङमा अहिले पनि रुविना र सीता जस्ता सिनियर खेलाडीमा मात्र भर पर्नुपर्ने अवस्था छ। यसलाई कसरी सुधार्न सकिएला?
खेलहरू नै नभएपछि कुन आधारमा नयाँ खेलाडी छनोट गर्ने भन्ने समस्याले गर्दा हामी पुराना खेलाडीमा भर पर्नुपरेको छ। अबको एकदुई वर्षभित्र क्यानले युवा खेलाडीलाई बढी प्राथमिकता दिएर तयारी गराउनुपर्छ। हाम्रा युवा महिलाले यू-१९ विश्वकप खेलिसकेका छन् र हालै सम्पन्न यू-१९ राष्ट्रिय प्रतियोगितामा सबै प्रदेशबाट राम्रो प्रदर्शन देखिएको छ। अब यही प्रदर्शनको आधारमा हामीले बिस्तारै सिनियर खेलाडीलाई विस्थापित गर्दै लैजानुपर्छ।
यीबाहेक साना प्रविन, सोनी पाख्रिन जस्ता धेरै आशालाग्दा खेलाडी देखिएका छन्। अब परिपक्व भइसकेका खेलाडीहरूभन्दा यस्ता नयाँ प्रतिभालाई बढी प्राथमिकता दिनुपर्छ।

नेपाली महिला टोलीका पूर्वमुख्य प्रशिक्षक मनोज कटुवाल। तस्बिर : कटुवालको सामाजिक सञ्जाल
प्रतियोगिता र लगानी बढे पनि सोचे जस्तो नतिजा नआउनुको कारण केलाई मान्ने?
खेलाडीमा केही हदसम्म व्यावसायिकताको अभाव देखिन्छ। प्रायः खेलाडी १५ दिन वा एक महिनाको राष्ट्रिय क्याम्पमा मात्र अभ्यास गर्ने गर्छन्, जुन सुधारका लागि पर्याप्त हुँदैन। क्याम्प सकिएपछि पनि आफ्नै जिल्ला वा प्रदेशमा व्यक्तिगत रूपमा मिहिनेत गर्ने बानी बसाल्नुपर्छ। पुरुष टोलीका सदस्यहरूले जस्तै व्यक्तिगत प्रशिक्षण, फिटनेस र पोषणमा ध्यान दिएमा मात्रै राम्रो नतिजा हात पर्छ।
नेपालको पुरुष टोलीमा ‘ए’ टिमले गर्दा सिनियर टोलीलाई एउटा दबाब छ। महिला क्रिकेटमा चाहिँ यस्तो ‘बेन्च स्ट्रेन्थ’ को अभाव खड्किएको हो?
एकदमै, महिला टिममा ‘बेन्च स्ट्रेन्थ’ एकदमै आवश्यक छ। अहिले सिनियर टिमका ५-६ जना खेलाडी आफ्नो स्थान सुरक्षित छ भन्नेमा ढुक्क देखिन्छन्। उनीहरूमा म सुरक्षित छैन भन्ने सोच विकास गर्न पनि बलियो बेन्च आवश्यक छ। यसका लागि क्यानले पहल गर्नुपर्छ।
महिला क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन अबको रणनीति के हुनुपर्छ?
युवा खेलाडीमा विशेष लगानी गर्नुपर्छ। मेरो विचारमा यू-१९ का ६ देखि ८ जना उत्कृष्ट खेलाडीलाई विशेष प्रशिक्षणका लागि भारत पठाउनुपर्छ। पहिला पुरुष खेलाडीलाई पनि पठाइएको थियो। भारतमा भिसाको झन्झट हुँदैन र खर्च पनि कम लाग्छ। विशेषगरी, दक्षिण भारत पठाउनु राम्रो हुन्छ। त्यहाँ वर्षाले खासै असर गर्दैन। ६-७ महिनाको विशेष प्रशिक्षणमा राख्न सके नेपाली महिला क्रिकेटले छिटै राम्रो नतिजा निकाल्न सक्छ।