संगीत
परम्पराको आलोकमा मैथिली संगीतको वर्तमान अनुहार
गीत-संगीत कुनै पनि सभ्यताको आत्मिक स्पन्दन र सांस्कृतिक चेतनाको सर्वोच्च अभिव्यक्ति हो। जीवनका हरेक संस्कार, विचार, संवेदना कुनै न कुनै भाव र भाकामा उनिएको मिथिला भूमि र मैथिली भाषाका सन्दर्भमा यो कुरा झनै सान्दर्भिक लाग्छ।
भौगोलिक र जनसांख्यिक रूपमा मैथिली भाषाको फैलावट नेपाल र भारत दुवैतर्फ रहेको छ। सीमापारिको भारतीय मिथिला क्षेत्र भूगोल, जनसंख्या र बजारका हिसाबले विशाल छ। तर, मैथिली संगीतको स्वत्व, यसको शास्त्रीय जगको संरक्षण र यसभित्रको सार्थक चिन्तनको कुरा गर्दा एउटा सुखद र गर्विलो यथार्थ अगाडि आउँछ– मैथिल सांगीतिक धरोहरलाई जोगाउने र नयाँ चेतनासहित मुखरित गर्ने सवालमा नेपालीय मिथिला क्षेत्र बढी जीवन्त र अग्रगामी देखिएको छ।
भारतीय मिथिलामा संगीत धेरै हदसम्म अल्पकालीन व्यावसायिकता, बजारमुखी अर्थतन्त्र र हिन्दी तथा भोजपुरी सिनेमाको प्रभावमा परेर आफ्नो मौलिकता गुमाउँदै गइरहेको अवस्था देखिन्छ। तर, नेपालको पूर्वी तराई र समग्र मैथिल सांस्कृतिक पर्यावरणमा मैथिली संगीतले आफ्नो जगलाई बलियोसँग समातेर राखेको छ।

मिथिलाको लोकप्रिय बाजा ढोलक।
समाजको सबैभन्दा पिँधमा पारिएका जनताको लोकगीतलाई उठाएर राष्ट्रिय मञ्चमा स्थापित गर्ने सन्दर्भ होस् वा शताब्दीऔँ पुराना सांगीतिक परम्परालाई राजकीय उपेक्षाका बीच पनि आफ्नै बलबुतामा चलायमान राख्ने अडान– नेपालका मैथिल साधक, जनजाति समुदाय र गैरमैथिल सांस्कृतिक अभियन्ताहरूले देखाएको सामूहिक जागरण अतुलनीय छ। त्यसैले आजको मितिमा मैथिली संगीतको सक्कली र संघर्षशील अनुहार हेर्न हामीले नेपालकै भूगोल, यहाँका गाउँबस्ती र सांगीतिक सक्रियताहरूलाई प्रवृत्तिगत रूपमा नियाल्नुपर्ने हुन्छ।
रैथाने धरोहरमा सांस्कृतिक अन्तर्घुलन
नेपालको पूर्वी तराई क्षेत्र मैथिली संगीतको एउटा यस्तो जीवित संग्रहालय हो, जहाँ आधुनिकताको आँधी र राजनीतिक सामाजिक प्रदूषणले समेत पुराना राग र शैलीहरूलाई विस्थापित गर्न सकेको छैन। यसको एउटा प्रमुख कडी मिथिलाको केन्द्र भूभागमै लोपोन्मुख अवस्थामा पुगेको नारदी संगीतलाई लिन सकिन्छ। मैथिली गायनको प्राचीन शैली नारदी गाउने टोलीहरू आज पनि मोरङ, सुनसरीका ग्रामीण इलाकामा सक्रिय छन्।
मैथिली साहित्य र संगीतमा महाकवि विद्यापति केन्द्रीय तत्त्व हुन्। उनको चर्चाबिना मिथिलाको संगीत इतिहास अधुरो रहन्छ। विद्यापतिका गीतहरू शृंगार, भक्ति र दर्शनका त्रिवेणी हुन्। नेपालतर्फ विद्यापति स्मृति पर्व जस्ता कर्मकाण्डी समारोह भलै त्यति फस्टाउन सकेका छैनन्, तर यसको सामाजिक सरोकार अत्यन्तै महत्त्वपूर्ण छ। समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा पूर्वी नेपालका थारू, दनुवार, गनगाईं जस्ता जनजातीय समुदायमा विद्यापतिका गीतहरूले एउटा बेग्लै वैशिष्ट्य, आदर र संरक्षण पाएका छन्।

भजनमा सहभागी जनकपुरका कलाकार।
पछिल्लो समय मिथिलाको परिचय मास्नमै उद्यत राजनीति प्रेरित सामाजिक गतिविधिहरूमा सांस्कृतिक विभूतिहरूलाई सप्रयत्न बेवास्ता गर्ने वा ओझेल पार्ने क्रियाकलाप उत्कर्षमा पुगेको छ। यस्तोमा पनि जनजातीय समुदायहरूले विद्यापतिका गीतलाई निर्धक्क आफ्नै शैली र लवज, आफ्नै परम्परागत बाजा तथा आफ्नै सांस्कृतिक उत्सवहरूको अभिन्न अंग बनाएर राखेका छन्।
यसैगरी, समाज आधुनिकतातर्फ बहकिँदा वा बजारको पछि लाग्दा पनि यी जनजाति समुदायले विद्यापतिको सांगीतिक साखलाई ‘ऐतिहासिक अमानत’ का रूपमा अक्षुण्ण राखेका छन्। अझ महाकवि विद्यापतिको गाथा तथा कार्य-प्रक्रियाहरूसमेतको समष्टि– ऐतिहासिक लोकगाथा विदापतले पनि यिनीहरूबाटै निरन्तरता पाएको छ। यो मिथिलाको सभ्यता र नेपालको बहुसांस्कृतिक अन्तर्घुलनको उत्कृष्ट नमुना हो, जहाँ विद्यापति जस्ता कालजयी कविलाई समाजले सांस्कृतिक नायक मानेर उनका गीत-संगीतलाई आफ्नो जीवनपद्धतिसँग जोडेर राखेको छ।
मिथिलामा लोकगाथा (नाच)हरूको लामो र समृद्ध परम्परा छ। यो यस्तो नाट्य विधा हो, जसमा नाटक, नृत्य र संगीतको त्रिकोणात्मक सम्बन्ध हुन्छ। तर, यसको मेरुदण्ड भनेको संगीत नै हो। समयको प्रवाहले सिर्जित प्रतिकूलता र मनोरञ्जनका डिजिटल साधनका कारण यी नाचहरू भने धराशायी हुने अवस्थामा छन्। यस्तो संकटपूर्ण अवस्थामा पनि नेपालकै केही ग्रामीण टोली आजका दिनसम्म पनि यी लोकनाचमा उत्तिकै सक्रिय छन्। उनीहरूले आफ्नो धरोहरलाई बुढ्यौली काँधहरूमै भए पनि बोकेर हिँडेका छन्।
सप्तरीको नकटी-रायपुर, अकबरपुर तथा सिरहा र धनुषाका कतिपय ग्रामीण क्षेत्रका नाच टोलीहरूले अझै पनि राजा सलहेस, गोपीचन, कुमर बृजभान, अल्हा-रूदल (आल्हा-ऊदल) आदि गाथा नाचलाई निरन्तरता दिँदै आएका छन्। आर्थिक अभाव, सामाजिक उपेक्षा, पुस्तान्तरणको प्रतिकूलताका बीच पनि यी टोलीहरूको भूमिका सांस्कृतिक संरक्षणका दृष्टिले महत्त्वपूर्ण छ।
नेवार समुदायको ऐतिहासिक अपनत्व
मैथिली संगीतको भूगोल तराई वा मिथिला क्षेत्रमा मात्र सीमित छैन। चौधौँ शताब्दी र त्यसपछिका दिनहरूमा महाकवि विद्यापतिको काव्य-प्रभाव र लोकप्रियताले यसको विस्तार बंगाल, आसाम, ओडिसालगायत नेपाल उपत्यकातिर पनि व्यापक भएको थियो।
यसै सिलसिलामा मैथिली संगीतको एउटा बलियो र ऐतिहासिक जरा काठमाडौँ उपत्यकाको नेवार समुदायसँग जोडिएको छ। मल्लकालमा यहाँका राजाहरू स्वयम् पनि मैथिली भाषाका प्रगाढ अनुरागी, लेखक र संगीतकार हुने गर्दथे। मल्लकालीन दरबारहरूमा मैथिली नाटक र संगीतको नियमित सृजन तथा मञ्चन हुन्थ्यो। त्यही ऐतिहासिक धरोहरलाई सम्मान गर्दै काठमाडौँ उपत्यकाको नेवार समुदायले मैथिली संगीतको संरक्षणमा देखाएको चासो र सक्रियता अद्वितीय छ।
नेपालमा सांस्कृतिक संरक्षणको सवालमा नेवार, राई, लिम्बू, थारू, सुदूरपश्चिमेली समाज, आदिको जागरण र निरन्तरता अत्यन्तै लोभलाग्दो प्रकृतिको छ। आफ्नो परम्पराप्रति गर्व गर्ने र त्यसलाई जीवन्त राख्ने उनीहरूको प्रतिबद्धता वा जातीय चरित्रकै कारण मैथिली संगीतले पनि नेवारहरूबीच सम्मान र संरक्षण पाएको छ।
नेपालमा सांस्कृतिक संरक्षणको सवालमा नेवार, राई, लिम्बू, थारू, सुदूरपश्चिमेली समाज, आदिको जागरण र निरन्तरता अत्यन्तै लोभलाग्दो प्रकृतिको छ। आफ्नो परम्पराप्रति गर्व गर्ने र त्यसलाई जीवन्त राख्ने उनीहरूको प्रतिबद्धता वा जातीय चरित्रकै कारण मैथिली संगीतले पनि नेवारहरूबीच सम्मान र संरक्षण पाएको छ। नेवार समुदायका आधुनिक युवाहरूसमेत आफ्नो परम्परागत संगीतको संरक्षण र संवर्द्धनमा उत्तिकै जागरूक र प्रतिबद्ध देखिन्छन्।
यसै जागरूकताको फलस्वरूप ललितपुर र काठमाडौँका विभिन्न स्थानमा मैथिली संगीत गुन्जिइरहेको छ। ललितपुरका विभिन्न श्री हरिभजन मृदंग, सुनाकोठी, विद्यापति भजन खलः चापागाउँलगायत संघसंस्थाहरू प्रखर रूपमा मिथिलाको यो सांस्कृतिक नासोलाई जोगाउने, गाउने र त्यसप्रति गर्व गर्ने अभियानमा देखिन्छन्।
हालै जनकपुरधाममा आयोजना भएको जनकपुर साहित्य महोत्सवमा श्री हरिभजन मृदंग, सुनाकोठीका ४० जना जति सदस्यहरू आफैँ साधनस्रोत जुटाएर जनकपुर पुगेका थिए। राज्य वा कुनै ठूलो व्यावसायिक घरानाको आर्थिक सहयोगविना उनीहरू त्यहाँ पुग्नुको उद्देश्य एउटा प्रस्तुति दिनु मात्र थिएन, बरु उपत्यकाले शताब्दीऔँदेखि जोगाएर राखेको मिथिलाको सांगीतिक नासोलाई उसैको आँगनमा लगेर ससम्मान सुम्पने एउटा पवित्र उत्साह थियो। यो प्रवृत्तिले के पुष्टि गर्छ भने, मैथिली संगीतको अनुहारलाई उज्यालो बनाउन नेपालका विभिन्न जातजाति र समुदायहरूले गहिरो सांस्कृतिक ऐक्यबद्धतामार्फत योगदान दिएका छन्।
डिजिटल लोकतन्त्र र नयाँ पुस्ताको आवाज– ‘मैथिली र्याप’
परम्पराको संरक्षण एउटा पाटो हो, तर समयको गतिसँगै संगीतको रूप र विधामा परिवर्तन आउनु पनि उत्तिकै स्वाभाविक र आवश्यक छ। यस परिप्रेक्ष्यमा सामाजिक सञ्जाल र ग्लोबल संस्कृतिको माहोलमा हुर्किएको आजको नयाँ पुस्ताले मैथिली संगीतलाई नयाँ कलेवर दिइरहेको देखिन्छ। यसैको परिणाम हो– मैथिली र्याप र बहुभाषिक फ्युजनको शक्तिशाली उदय।
यो हिप-हप र र्याप शैलीमा पछिल्लो समय डिजिटल माध्यमसँगै भित्रिएको एउटा नयाँ, विद्रोही र उदीयमान धारा हो। परम्परागत गीतको रैथाने शक्ति मानिने कथात्मकता, व्यंग्य र सामाजिक टिप्पणीलाई नै नयाँ पुस्ताले आधुनिक ‘स्पोकन एक्सप्रेसन’, पश्चिमी ‘बिट्स’, तीव्र प्रवाह र चोटिला ‘पन्चलाइन’ मा ढालेका छन्। यिनमा सीमावर्ती भाषिक वातावरण झल्काउँदै मैथिली, नेपाली, हिन्दी र अंग्रेजी शब्दको प्राकृत मिश्रण पाइन्छ, जहाँ युवाहरूको संघर्ष, बेरोजगारी, पहिचानको लडाइँ र सडकको यथार्थ मुख्य प्रवृत्ति बनेका छन्।
संकट जतिसुकै विकट भए पनि मिथिलाको माटोमा आधारभूत उर्वरता कायम रहुन्जेल मैथिली संगीतको रैथाने, मधुर र ओजस्वी अनुहार निन्याउरो हुनेछैन। आशाका बाटाहरू यिनै हुन् र यिनै प्रवृत्तिका जगमा उभिएर मैथिली संगीतले आफ्नो सुखद भविष्यको यात्रा तय गर्नेछ।
यस धारभित्र कडा तथा ओजिला बिम्बहरूको प्रयोगले सामाजिक वर्ग-विभेद तथा मधेस र पहाडबीचको मानसिकतालाई समान स्तरमा ल्याउने तथा होच्याउने मानसिकतालाई चुनौती दिँदै विशिष्ट भाषिक र बिम्बात्मक फ्युजन सिर्जना गरेको छ। यद्यपि, यस्ता आक्रामक र बहुभाषिक प्रयोगहरूलाई सांगीतिक परम्परावादी र प्राज्ञिक शुद्धतावादीहरूले भाषाको मिठास मासेको, पश्चिमा शैली भित्र्याएर भाषाको शास्त्रीय मर्यादामा धक्का पुर्याएको जस्ता आरोपहरू पनि लगाउने गरेका छन्। तर, सम्बद्ध कलाकारहरू यसलाई समकालीन समाजको यथार्थ अभिव्यक्ति मान्छन्।
यो सांगीतिक लहर नेपाल र भारतको भूगोलबीच एउटा क्रस-बोर्डर इकोसिस्टमका रूपमा फैलिएको छ। यसमा अहिलेको चर्चित र अग्रणी नाम हो मनियाँ (राहुलकुमार मण्डल), जसले सन् २०१८ मा विराटनगरबाट (डिजेवाला) DJ Wala मार्फत यात्रा सुरु गरी मैथिली हिप-हपलाई माध्यम बनाए। जनकपुरमा अर्का र्यापर एके राइनलाई भेटेपछि काठमाडौँ आएर उनीहरूले निकालेको मैथप (Maithop) गीत उनीहरूको करियरको ब्रेकथ्रु बन्यो। मनियाँका एन्टी लभ, निकम्मा, शिवजी, घुर्मी नचा दे र भगतइ जस्ता ट्र्याकहरूले लोकप्रियता पाए। उनले सामाजिक रूपमा आफ्नै पिछडिएको समुदायका स्थानीय साथीहरूलाई म्युजिक भिडियोमा कास्ट गरेर विशुद्ध भुइँमान्छेका क्षमता देखाउँदै आएका छन्। यद्यपि, मैथिली गीत-संगीतको अन्य फर्म्याटमा पनि यो परिपाटी कायमै रहेको देखिन्छ। सांगीतिक सहकार्यले अनेकौँ सामाजिक बन्धनलाई भत्काउने काम उहिल्यैदेखि मिथिलामा गर्दै आएको छ।

भूमि फेस्टिभलमा प्रस्तुति दिँदै कलाकार।
यो र्याप संगीतलाई बलियो बनाउन डीके सागरको भूमिका पनि विशेष छ, जसको मधेसी बिट्स (वीरेन्द्र केशरी) द्वारा उत्पादित जन-चेतना, फुटल नसीब र काल कविसँगको सहकार्यमा आएको छुटकाराले सामाजिक चेतनालाई डिजिटल मञ्च दियो। यस्तै, सञ्जय कुशवाहाले किसान जस्ता गीतमार्फत मिथिलाको श्रम र संघर्षलाई हिप-हपको स्वर दिएका छन्।
सीमापारि भारततर्फ भने अनुज मिथिलावासीले सन् २०१७ देखि नै यस धारको प्रारम्भिक प्रवर्द्धन गरिरहेका छन्। यो डिजिटल लोकतन्त्रको युगमा युवाहरूले मैथिली संगीतको एउटा नयाँ र शक्तिशाली समानान्तर विधा खडा गरेका छन्, जसले नेपाली र मैथिली दुवै भाषा बोल्ने श्रोतालाई एउटै सांगीतिक आत्मीयता बाँधिदिएको छ।
नेपाली र्यापको तुलनामा मैथिली र्यापले सानो बजार र युट्युबमा खुम्चिएको तथा संस्थागत अभिलेखनको अभाव झेलिरहेको भए पनि मधेसी बिट्स र मैथप जस्ता च्यानल, स्थानीय स्टुडियो संस्कृति र टिकटक जस्ता प्लेटफर्मको बुई चढेर यो विद्यापतिको भूमिलाई आधुनिक हिप-हप फ्लोसँग सफलतापूर्वक संवाद गराउन सफल भएको छ।
इतिहासको गौरव र वर्तमानको संघर्षका बीच मैथिली संगीतले आफ्नो अदम्य जीवन्तता प्रदर्शन गरिरहेको छ। नेपालको बहुसांस्कृतिक भूगोल, यहाँका विभिन्न जातजाति (विशेषगरी नेवार र तराईका जनजाति समुदाय)को अपनत्व र स्थानीय संगीतकर्मीहरूको निःस्वार्थ साधना नै यस संगीतका वास्तविक प्राण हुन्।
मैथिली संगीतको नयाँ बाटो फराकिलो पार्ने सन्दर्भमा आजको पुस्ताले विश्वव्यापीकरण र आधुनिक प्रविधिलाई एउटा बलियो हतियार बनाएको छ। नामविशेषको व्यक्तिगत चर्चाभन्दा माथि उठेर हेर्ने हो भने अहिले मैथिली संगीतमा तीन वटा मुख्य प्रवृत्तिगत धारहरू सक्रिय देखिन्छन्, जसले यसलाई विश्वमञ्चमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
पहिलो, लोकगीतको आधुनिकीकरण र प्राविधिक परिष्कारमा एउटा तप्का त्यस्ता संगीतकर्मीहरूको छ, जसले जनकपुरदेखि मुम्बई वा अन्य आधुनिक स्टुडियोहरूसम्मको यात्रा तय गरेर मैथिलीका परम्परागत लोकधुन र विद्यापतिका रचनाहरूलाई अन्तर्राष्ट्रिय स्तरको संगीत संयोजन र आधुनिक प्रविधिसँग जोड्ने काम गरिरहेका छन्। यसले मैथिली संगीतको प्राविधिक गुणस्तरलाई विश्वस्तरीय बनाएको छ। यस कोटिमा प्रवेश मल्लिक, प्रिया मल्लिक, गौतम झालगायतको कामलाई लिन सकिन्छ।
दोस्रो, लोकस्वरूपको शुद्धता र शास्त्रीय अडान : बजारको तीव्र व्यवसायीकरण र पश्चिमाकरणका बीच पनि लोकगीतको मौलिक र शुद्ध स्वरूपलाई नै कायम राखेर व्यापकता दिने अर्को एउटा बलियो प्रवृत्ति कायमै छ। यो प्रवृत्तिले के साबित गर्छ भने, मैथिली लोकगीतको वास्तविक शक्ति यसको माटोको सुगन्धमा छ। हाल विधायक बनेर पनि संगीत यात्रा कायम राखेकी मैथिली ठाकुर, शिवानी भगत आदि यस कोटिका प्रतिनिधि कलाकार हुन्।
तेस्रो, सामयिक पप-फ्युजन र युवा आकर्षण : तेस्रो धार भनेको परम्परागत लोकगीतलाई आधुनिक पप र पश्चिमी संगीतको संरचनामा ढालेर युवा पुस्तामाझ ‘ट्रेन्डिङ’ बनाउने प्रवृत्ति हो, जसबारे माथि चर्चा भइसकेको छ।

भूमि फेस्टिभलमा प्रस्तुति दिँदै कलाकार।
साथै, स्थानीय धरातलमा बसेर सुनील मल्लिक, सुभाष वीरपुरिया, ललित कामत, जागेश ठाकुर, भागवत मण्डल, शैलेन्द्र विश्वकर्मा, तेजू मैथिल, ज्योती विश्वकर्मा, वीरेन्द्र झा, हरिशंकर चौधरी, सानुमाया यादव जस्ता अनेकौँ कलाकारले सिर्जनात्मक संगीतको जगलाई मर्न दिएका छैनन्। उनीहरूले मौलिक लोकधुनहरूको संकलन गर्ने, नयाँ प्रतिभालाई सिकाउने र मैथिली सुगम संगीतको एउटा बलियो धारा निर्माण गर्ने काम निरन्तर गरिरहेका छन्।
पुस्तान्तरणको संकट
गौरवशाली इतिहास र वर्तमानका केही प्रयोग सुखद देखिए पनि यसको भित्री यथार्थ र भविष्य भने गम्भीर चुनौतीहरूले घेरिएको छ। संगीत बाँच्नका लागि एक पुस्ताबाट अर्को पुस्तामा यसको ज्ञान, सीप र भावनाको भौतिक हस्तान्तरण हुनुपर्छ। तर, अहिले आर्थिक र भौगोलिक विस्थापनका कारण यो कडी नराम्ररी चुँडिएको छ।
नेपाल र भारत दुवैतर्फको मिथिला क्षेत्रका अधिकांश गाउँ अहिले युवाविहीन बनेका छन्। गाउँका घर-घरबाट युवाहरू रोजगारीका लागि खाडी मुलुक, मलेसिया वा भारतका ठूला सहरमा पलायन भएका छन्। पुराना बुढापाकाहरूसँग संगीत सिक्ने र त्यसलाई निरन्तरता दिने युवा नै गाउँमा नभएपछि गाउँघरमा हुने सांगीतिक उत्सवहरू बाधित भएका छन्।
सामाजिक आन्दोलनको अनपेक्षित सांस्कृतिक मूल्य
विगतका दशकहरूमा नेपालको तराई क्षेत्रमा भएका सामाजिक जागरणका आन्दोलनहरू आफैँमा न्यायपूर्ण र ऐतिहासिक थिए। तर, ती आन्दोलनका क्रममा भएका केही भावनात्मक निर्णयहरूको एउटा अनपेक्षित र नकारात्मक प्रभाव मैथिली संगीतमा पर्न गयो। विगतमा कतिपय परम्परागत बाजाहरू (ढोल, तासा, पिपही, सहनाई, आदि) बजाउने कामलाई निश्चित जातिहरूको ‘बाध्यकारी परम्परागत पेसा’ र जातीय अपमानको प्रतीक मानिन्थ्यो। आन्दोलनको राप-तापमा ती समुदायले विभेदकारी पेसा बहिष्कार गर्ने निर्णय गरे। सामाजिक न्यायका दृष्टिले यो आत्मसम्मानको लडाइँ भए तापनि राज्य वा समाजले ती रैथाने बाजाहरूलाई ‘सबैको साझा कला’ का रूपमा संरक्षण गर्ने वैकल्पिक व्यवस्था गर्न सकेन। नतिजास्वरूप बाजा बजाउने पुस्तैनी सीप हरायो।

भूमि फेस्टिभलमा प्रस्तुति दिँदै कलाकार।
बजारवाद र नक्कलको परिपाटी
भारतीय मिथिला क्षेत्रको व्यावसायिक बजारमा छिटै चर्चा र पैसा कमाउने भ्रममा हिन्दी, भोजपुरी गीतका चटकदार लय र अश्लील शब्दहरूसमेतको नक्कल गर्ने परिपाटी निकै फस्टाएको छ। यसले सिर्जनात्मक संगीत र मिथिलाको सुसंस्कृत सांगीतिक साखलाई ठूलो आघात पुर्याएको छ। नयाँ धुन निर्माण गर्ने वा संगीतकार जन्माउने अवस्थाको अन्त्य नै भए जस्तो लाग्छ। यस सन्दर्भमा पनि बीउसम्म जोगाउने काम नेपालकै मिथिला क्षेत्रमा हुने गरेको छ।
डायस्पोराको सांगीतिक लय र संस्थागत आशाका किरणहरू
यति धेरै चुनौती र निराशाका बीच पनि मैथिली संगीतको प्राणवायु रोकिएको छैन भने त्यसको श्रेय केही संस्थागत प्रयास र डायस्पोरा (प्रवासी) युवाहरूको लगावलाई जान्छ।
यस दिशामा आशाको सबैभन्दा सुन्दर र भावुक तस्बिर अरब-कतारका मरुभूमिहरूबाट आउने गरेको छ। रोजगारीका लागि घरगाउँ छाडेर कतार, साउदी अरब, दुबई, मलेसिया पुगेका मैथिल युवाहरूले त्यहाँको कठिन श्रमका बीच पनि आफ्नो संगीतलाई मर्न दिएका छैनन्। ती युवाहरूले कोठामा जम्मा भएर होरी, छठ र भगवती जागरणका सांस्कृतिक गीतहरू गाउने गर्छन्। पछिल्लो समय उनीहरूले ‘हनुमान् आराधना’ जस्ता धार्मिक उपक्रमहरू सुरु गरेर मरुभूमिको तातो हावामा पनि नियमित भजन-कीर्तनको परम्परा थालेका तस्बिर सामाजिक सञ्जालमा देखिने गरेको छ।
संस्कार गीतको संस्थागत पुनरोदय
मैथिल समाजको एउटा बलियो खम्बा भनेको संस्कार गीत हो। जन्म, मुण्डन, उपनयन, विवाह जस्ता हरेक सांस्कारिक तथा आनुष्ठानिक अवसरहरूमा महिलाहरूद्वारा गाइने गीतनाद (जस्तै- सोहर, सम्दाउन, कोहबर, आदि) मैथिली संगीतको मुख्य धरातल हो। तर, सहरीकरण र आधुनिकताका कारण यी गीत पनि महिलाहरूको कण्ठबाट हराउन थालेका थिए।
तर, यस दिशामा मैथिली विकास अभियानद्वारा हालै विराटनगरमा एउटा ऐतिहासिक कार्यको सुरुआत गरिएको छ। संस्थाले वार्षिक क्यालेन्डर नै बनाएर मैथिली संस्कार गीत प्रतियोगिताको आयोजना गर्न थालेको छ। यस प्रतियोगितामा विभिन्न उमेर समूहका महिला र युवतीको उल्लेख्य उत्साह र सहभागिता देखिएको छ।
त्यसैगरी, भूमि म्युजिक फेस्टिभल जस्ता सांगीतिक महोत्सव र संगीतकार रश्मिरञ्जन झाले चालेका कदम, अनि मैथिली विकास कोषले गर्ने साहित्य, कला तथा नाट्य महोत्सवमा सांगीतिक प्रस्तुतिको विशेष शृंखला राख्ने परिपाटीले मैथिली संगीतलाई प्राज्ञिक र बौद्धिक विमर्शको विषय पनि बनाएको छ।

भूमि फेस्टिभलका सहभागी।
निचोडमा भन्नुपर्दा, मैथिली संगीतको अनुहार आजको मितिमा एउटा ऐतिहासिक दोबाटोमा उभिएको छ। यसको एउटा पाटो चिन्ता, अभाव, पुस्तान्तरणको संकट र आधुनिक बजारको विकृतिले थिचिएको छ। अर्को पाटो भने नयाँ पुस्ताको र्याप, फ्युजनको जोस, संस्थागत महोत्सवहरूको चमक र खाडीका श्रमिक युवाहरूको आत्मीयताले चम्किएको छ।
पुस्तान्तरणको प्रक्रिया वा शृंखला टुटे पनि नयाँ पुस्ता आफ्नै तवरले, आफ्नै भाषा, विम्ब र प्रविधिमा तयार भइरहेकै छ। इतिहासको गौरव र वर्तमानको संघर्षका बीच मैथिली संगीतले आफ्नो अदम्य जीवन्तता प्रदर्शन गरिरहेको छ। नेपालको बहुसांस्कृतिक भूगोल, यहाँका विभिन्न जातजाति (विशेषगरी नेवार र तराईका जनजाति समुदाय)को अपनत्व र स्थानीय संगीतकर्मीहरूको निःस्वार्थ साधना नै यस संगीतका वास्तविक प्राण हुन्।
भोलिको मैथिली संगीतलाई अझ बढी सुरक्षित र समृद्ध बनाउनका अब देशमा रहेका तीन तहका सरकारले पनि यसका शास्त्रीय विधालाई संरक्षण गर्ने, परम्परागत वाद्यवादन सिकाउने प्रतिष्ठान खोल्ने र नयाँ पुस्ताका र्याप तथा फ्युजन प्रयोगलाई पनि एउटा विधागत मान्यता दिँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ। संकट जतिसुकै विकट भए पनि मिथिलाको माटोमा आधारभूत उर्वरता कायम रहुन्जेल मैथिली संगीतको यो रैथाने, मधुर र ओजस्वी अनुहार निन्याउरो हुनेछैन। आशाका बाटाहरू यिनै हुन् र यिनै प्रवृत्तिका जगमा उभिएर मैथिली संगीतले आफ्नो सुखद भविष्यको यात्रा तय गर्नेछ।