सुर्खेत। सुर्खेतमा रहेका बादी समुदायका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
होसन्ना सेवकाई नेपालको आयोजनामा वीरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलाकिनार र सुब्बाकुनामा रहेका बादी समुदायकेन्द्रित स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शनिबार र आइतबार चलेको शिविरमा ३३३ जनाले सेवा लिएका छन्।
शनिबार झुप्रा खोला र आइतबार सुब्बाकुनामा बसोबास गर्ने बादी समुदायलाई लक्षित गरी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको होसन्ना सेवाकाई नेपालका कार्यकारी अधिकृत पूजा वादी जानकारी दिइन्।
शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा. गणेश तिवारी र स्त्रीरोग विशेषज्ञ डा. भवानी शिल्पकारले जाँच गरेका थिए। शिविरका सञ्चालनका क्रममा हाडजोर्नी, छाला, पानीयन्य र स्त्री रोगको समस्या बढी देखिएको शिविरमा संलग्न ज्योति भट्टराईले बताइन्। उनका अनुसार समुदायमा किशोरावस्थामै बच्चा जन्माउने महिलामा पाठेघरको समस्या देखिएको छ। स्वास्थ्य परीक्षण गरिएका बिरामीलाई नि:शुल्क औषधी पनि वितरण गरिएको थियो।