एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर अमेरिका–इरान समझदारी पत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्ट पुगेका छन्।
पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार पाकिस्तानी प्रतिनिधिमण्डलले वार्ताका क्रममा अमेरिकी, इरानी तथा कतारी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्राविधिक तहको वार्ता छिट्टै सुरु हुने र सोमबारसम्म जारी रहन सक्ने जनाइएको छ। यद्यपि छलफलका लागि कुनै औपचारिक समयसीमा तोकिएको छैन। प्रतिवेदनअनुसार समझदारी पत्रको कार्यान्वयनलाई अगाडि बढाउन तथा बाँकी रहेका विषय टुङ्ग्याउन आवश्यकताअनुसार वार्ता जारी रहनेछ।
उक्त वार्ता अमेरिका र इरानबीच हालै हस्ताक्षर भएको समझदारी ज्ञापन पत्रको कार्यान्वयन प्रक्रियालाई केन्द्रमा राखेर हुन लागेको हो।