काठमाडौँ। सोमबार मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सोमबारदेखि पाँच प्रदेशमा मनसुन फैलिएको र सोही मनसुनी वायुको प्रभाव भएका क्षेत्रमा बढी वर्षा भएको छ।
सोमबार कोशी, बागमती, मधेस प्रदेशमा पुरै तथा गण्डकी प्रदेशका अधिकांश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन प्रवेश भएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा भारी वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म बढी वर्षा भएको जानकारी दिए।
सोमबार रातीको अभिलेख अनुसार गएको २४ घण्टामा कास्कीमा ९८.२ र सुनसरीमा ८८.४ मिलिलिटर वर्षा भएको छ। यस्तै स्याङजा, लमजुङ, गोरखा, मकवानपुर, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङमा ५०देखि ६६ मिलिलिटरसम्म वर्षा भएको छ।
राति कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना विभागले साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ।
मङ्गलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने बताइएको छ।
मङ्गलबार देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्ने छ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्ने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।
कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने बताइएको छ।
हाल नेपालमा मनसुनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको हो। अहिले लमजुङ, स्याङ्जा, कास्की, चितवन, नवलपरासीपूर्वलगायत क्षेत्रमा पानी परिरहेको छ।