आन्दोलन स्थगित, शव बुझ्न आफन्त राजी
विराटनगर। ऋणको सावाँभन्दा तीन गुणा बढी रकम तिरिसक्दा पनि जग्गा फिर्ता नपाएको र उल्टै साहुबाट धम्की खेप्नुपरेपछि आत्महत्या गरेकी विराटनगर १४ महत टोलकी ५३ वर्षीया शान्तिदेवी महतोको परिवार र जिल्ला प्रशासन कार्यालय मोरङबीच पाँचबुँदे सहमति भएको छ।
सहमतिसँगै ८ असारदेखि प्रशासनको मूल गेटमा धर्ना दिइरहेका आफन्त र अधिकारकर्मीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। मंगलबार भएको वार्तामा प्रशासनले पीडित परिवारलाई न्याय दिने र दोषीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि परिवारले कोसी अस्पतालमा रहेको शव बुझ्न सहमति जनाएका हुन्।
यस्तो छ घटना
घटनाको शृंखला ११ वर्षअघि सुरु हुन्छ। ११ असोज २०७२ मा माइली छोरी सोनीको भाँचिएको खुट्टा उपचार गर्न शान्तिदेवीले स्थानीय अम्बिका भनिने अमरिकाकुमारी रायसँग एक लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्। ऋणको बदलामा उनले आफ्नो नाममा रहेको १० धुर जग्गा रायको नाममा नामसारी गरिदिइन्।
शान्तिदेवीले समयक्रममा रायलाई ९० हजार रुपैयाँ ब्याज मात्र बुझाइसकेकी थिइन्। तर रायले जग्गा फिर्ता गर्नुको साटो विराटनगर १४ कै श्रीनारायण गुप्ताकी पत्नी सुन्दरी गुप्ताको नाममा सोही जग्गा बिक्री गरिदिइन्। आफ्नो जग्गा जोगाउन शान्तिदेवीले विभिन्न सहकारीबाट ऋण काढेर गुप्ता परिवारलाई चार लाख ६५ हजार रुपैयाँ बुझाए पनि जग्गा फिर्ता भएन। बरु गुप्ता परिवारले उनीविरुद्ध अदालतमा मुद्दा हालेर मानसिक सास्ती दिन थाले।
गत ६ वैशाखमा गुप्ता परिवारले घरमै पुगेर जग्गा खाली गर्न र ज्यान मार्ने धम्की दिएपछि विक्षिप्त बनेकी शान्तिदेवीले भोलिपल्ट ७ वैशाखमा आफ्नै घरमा आत्महत्या गरिन्। “हामीले साढे चार लाख तिरिसक्यौँ। तर जग्गा पनि फिर्ता आएन, श्रीमती पनि रहिनन्,’ मृतकका श्रीमान् भोमा महतोले भने।
यस्तो छ पाँचबुँदे सहमति
जिल्ला प्रशासन कार्यालयका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र पीडित पक्षबीच भएको सहमतिमा घटनाको निष्पक्ष छानबिन गर्ने पहिलो बुँदा उल्लेख छ।
यस्तै मृतकका पति भोमा महतोलाई योग्यताका आधारमा रोजगारीका लागि उद्योग वाणिज्य संघ मोरङसँग पहल गर्ने र मृतकका दुई छोरीको माध्यमिक तहसम्मको शिक्षाका लागि प्याब्सन मोरङमार्फत छात्रवृत्तिको व्यवस्था गर्ने सहमति भएको छ।
उच्च शिक्षाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने र मिटरब्याजसम्बन्धी कानुनी जटिलता फुकाउन पहल गर्ने सहमतिमा उल्लेख छ। वार्तामा सहभागी विराटनगर १४ का वडाध्यक्ष सूर्यनारायण महतोले विपन्न नागरिकमाथि भएको यो चरम शोषण भएको र दोषीले कुनै हालतमा उन्मुक्ति पाउन नहुने बताए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा श्रीनारायण गुप्ता र उनका छोरा अमन गुप्तालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। श्रीनारायणकी पत्नी सुन्दरी गुप्तालाई भने हाजिरी जमानीमा छाडेको छ। “सुन्दरी गुप्तालाई भने स्वास्थ्य अवस्थाका कारण हाल हाजिर जमानीमा छाडिएको छ। पछि अभियोग अदालतमा दर्ता हुँदा उनलाई पनि प्रतिवादी बनाइन्छ,” उनले भने।

प्रशासन र पीडत पक्षबीच भएको पाँचबुँदै सहमतिको पत्र।