काठमाडौँ। कैलालीस्थित नेपाली सेनाको तालिम शिक्षालयमा अभ्यासका क्रममा ग्रिनेड पड्काउँदा एक जनाको मृत्यु भएको छ।
कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मृत्यु हुनेमा सेनाका हुद्दा हिमालविक्रम विष्ट छन्।
लम्कीचुहा नगरपालिका ३‚ गोरांगेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयको ब्यारेकबाट मोहन्याल गाउँपालिका ७‚ जलपा सामुदायिक वनमा फायरिङ गर्ने क्रममा बिहीबार बिहान उनी सख्त घाइते भएका थिए।
विष्टको उपचारका क्रममा लालरत्न अस्पतालमा मध्याह्न १२ बजे मृत्यु भएको तिमिल्सिनाले बताए।
ग्रिनेड पड्काउँदा उनको दाहिने हातको हत्केला र शरीरका अन्य भागमा चोट लागेको थियो।
फायरिङका क्रममा सहसेनानी हिमराज जोशी भने घाइते भएका छन्। उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ।