काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन अहिले नेतृत्व चयनको निर्णायक र रोचक मोडमा आइपुगेको छ।

केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ । सभापतिमा रवि लामिछाने नै निर्विरोध भइसकेका छन् भने अन्य १८ पदमा प्रतिस्पर्धा हुँदै छ।

खुला र महिला गरी दुई उपसभापतिका लागि चुनाव हुँदै छ। खुलातर्फ स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठ तथा महिलातर्फ सोविता गौतम, डा. तोसिमा कार्की, लिमा अधिकारी, समीक्षा बाँस्कोटा र इन्दिरा रानाबिच प्रतिस्पर्धा हुँदै छ । अर्का एक उपसभापति भने सभापतिले मनोनीत गर्नेछन्।

सबैभन्दा कडा टक्कर महामन्त्रीमा हुँदै छ। जसमा निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित विपिन आचार्य, मनीष झा, शिशिर खनाल, प्रमोद न्यौपाने, गणेश पराजुली र गणेश कार्की आकांक्षी छन्।

त्यस्तै, सहमहामन्त्रीमा दुई खुला र एक महिला गरी तीन पदका लागि निर्वाचन हुँदै छ। जसमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि न्यौपाने, असिम शाह र रिमा विश्वकर्मा आकांक्षी छन्। बाँकी दुई सहमहामन्त्री भने सभापतिले मनोनीत गर्नेछन्।

त्यस्तै, एक वरिष्ठ नेता, एक कोषाध्यक्ष, महिलासहित दुई सहकोषाध्यक्ष, एक प्रवक्ता, महिलासहित तीन सहप्रवक्ता पनि सभापतिले नै मनोनीत गर्नेछन्।

मतदानबाट आउने पदाधिकारी पनि सर्वसम्मत गराउन बिहीबार दिउँसो सभापति लामिछाने आन्तरिक छलफलमा जुटेका थिए । तर, सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको हो।