काठमाडौं । सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न सरकारले थप एक साताको समय दिएको छ।
यसअघि आजसम्ममा होल्डिल्ङ सेन्टर छाडेर आफैँ बसोबासको व्यवस्था मिलाउन निर्देशन दिइएको थियो। अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले एक सूचना जारी गर्दै असार १९ सम्मको समय सीमा थप गरेको जनाएको हो।
सुकुम्बासीहरूले आफूहरूलाई जबर्जस्ती ननिकाल्न र दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेलगायतका माग गर्दै होल्डिङ सेन्टरबाट निकालिए पुरानै ठाउँमा छाप्रो हालेर बस्ने अडान लिँदै आएका छन्।
गत जेठ ५ को मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुम्बासीका लागि पुन:स्थापनाका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको थियो।
त्यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय सरकारको छ।
रकम प्राप्तिका लागि असार १५ सम्म बैंक खाता नम्बरसहित निवेदन दिन समितिले सूचनामा आग्रह गरेको छ।