संस्कृति
किरात समुदायमा धामीहरू लोप हुँदै जाँदा जन्मदेखि मृत्युसम्मका सामाजिक कर्मकाण्डमा मात्र व्यवधान भइरहेको छैन, कालान्तरमा पहिचान नै मासिने जोखिम देखिएको छ।
हामी केटाकेटी हुँदा गाउँ धामीमय थियो। उबेला करिब एक सय घर शतप्रतिशत राई भएको भोजपुरको साविकको तिम्मा गाविस-३ को सिंगो बस्ती (हालको टेम्केमैयुङ गाउँपालिका-१ को एक टोल)मा ढ्यांग्रो-थाल बजाएर चिन्ता बस्ने धामीहरू १२/१४ जना जति थिए। कुनै बाजा नबजाई चिन्ता बस्ने धामीहरू पनि थिए। चिन्ता नबस्ने तर झारफुक र पूजाआजा मात्रै गर्ने धामीहरू त लगभग घरघरै थिए। कतिपय घरका सबै सदस्य धामी थिए।
वारि-पारिका गाउँमा राई र अन्य समुदायका धामीहरू उत्तिकै संख्यामा थिए। हिउँदभरि वारि र पारिका धामीले बजाएका ढ्यांग्रोको आवाजले रातको सन्नाटा खलबल्याउँथ्यो। साँझपख कहिले तल र कहिले माथितिर ढ्याङढ्याङ सुनिन्थ्यो। घर शान्तिका लागि हरेक घरमा वर्षमा एकचोटि धामी चिन्ता बसाउने र नचाउने चलन थियो। धामी नाच सामाजिक जमघट र अन्तरक्रियाको थलो जस्तै थियो।
धामी उमेरदार मानिसहरूका लागि आस्था र विश्वास थियो। केटाकेटीका लागि भने आदर्शसँगै मनोरञ्जन गर्ने खेल थियो। केटाकेटीहरू धामी बसेको देखासिकी गरेर बाँसको थाम्बाक (डम्फा), ढुंग्रो, ग्यालेन र काठका टुक्रा बजाउँदै हिँड्थे। थाल ठटाउन भने ठूलाहरूले दिँदैनथे, गाली गर्थे।
गोठाला र घाँसदाउरामा गएको बेला केटाकेटीहरू धामीले सेतो फेटामा प्वाँख सिउरे जस्तै टाउकामा लहरा वा गलबन्दी बाँधेर स्याउला सिउरिन्थे, र जे भेट्यो त्यही ठटाउँदै उफ्रिन्थे। गटटट कामेको अभिनय गर्थे। यस्तो अभिनयमा कोही बिरामी हुन्थे, कोही धामी, धामीका सहयोगी, घरपति र कोही रमिते हुन्थे।
धेरैजसो जातजाति र समुदायमा धामीको महत्त्व समुदायको एउटा अंगमा सीमित हुन्छ। तर, किरात समुदायको सामाजिक र सांस्कृतिक नेतृत्व धामी नै हो। समाजको मुटु र मस्तिष्क दुवै हो।
स्कुलमा पनि कक्षामा शिक्षक नभएको बेला होस् या टिफिनको समयमा, एकदुई जना केटा धामी भएर निस्किहाल्थे। कोही पेन्सिल वा कलमले किताबमा हिर्काउँदै हाहा हुहु गर्दै उफ्रिन्थे, कोही डेस्क-बेन्च ठटाउँदै धामी पात्रलाई सहयोग गर्थे। केटाहरू आफूमा अलिक नाम चलेका धामीको नक्कल गर्न रुचाउँथे।
समयको चक्र अगाडि बढिरह्यो। उबेलाका पाका धामीहरूले चोला फेर्दै गए। उबेलाका युवा धामीहरू बूढा हुँदै गए। उबेला धामी भएर रमाइलो गर्ने केटाकेटीहरू उमेर पुगेसँगै कोही घरव्यवहारमा बाँधिए, कोही लाखापाखा लागे। नयाँ पुस्ताकाहरू धामी बन्नै छोडे। अहिले त्यही गाउँमा ढ्यांग्रो ठोक्ने धामी जम्मा दुई जना छन्, एकै धामी सिरकुमारका छोराहरू टंकराज र मेघराज। अर्का धामी दिलकुमार बुढ्यौलीले थलिएका छन्। वारि-पारितिर त धामी झनै कम छन्। अहिलेका धेरै केटाकेटीले धामी नाचेको नजिकबाट देखेकै छैनन्।
सांस्कृतिक अगुवा
किराती समाजले धामीलाई अगुवा मान्छ। यसलाई धामी प्रथा मानिन्छ। समाजशास्त्री र मानवशास्त्रीहरू ‘समानिज्म’ भन्छन्। धामी परम्परा संसारभरि पाइन्छ। नेपालका प्राय: सबै जातजाति र समुदायमा धामी परम्परा छ। धेरैजसो जातजाति र समुदायमा धामीको महत्त्व समुदायको एउटा अंगमा सीमित हुन्छ। तर, किरात समुदायको सामाजिक र सांस्कृतिक नेतृत्व धामी नै हो। समाजको मुटु र मस्तिष्क दुवै हो।
किरात समाजमा धामीको तीन वटा भूमिका छ। पहिलो, मानिसको जन्मदेखि मृत्युसम्मका सामाजिक कर्मकाण्ड सम्पन्न गर्ने। दोस्रो, पुर्खा, पितृ र प्रकृतिसँग संवाद गरी उनीहरूलाई खुसी बनाउने। तेस्रो, झारफुक गरी बिरामी निको पार्ने। धामीका यी तीनवटै भूमिकाको उद्देश्य हो, प्रकृति र पुर्खालाई खुसी पारी मानव जातिलाई शान्ति, सुस्वास्थ्य र दीर्घायु दिलाउनु।

युवा धामी मणि राई।
समाजशास्त्रीहरू धामीलाई लौकिक र भौतिक संसार तथा अलौकिक र आत्मिक संसारबीचको सञ्चार संवाहक मान्छन्। भौतिक संसार हरेक व्यक्तिले देख्न र अनुभव गर्न सक्छ। अलौकिक संसार सबैको पहुँचमा हुँदैन। भौतिक संसारबाट अलग भएपछि मात्रै अलौकिक संसारमा पुग्न सकिन्छ। मृत्यु मानिसको जीवन समाप्त हुनु होइन, रूपान्तरण मात्रै हो। भौतिक संसारबाट अलौकिक संसारमा प्रवेश गर्नु हो मृत्यु, भौतिक शरीरबाट आत्मा अलग हुनु हो। आत्माको मृत्यु हुँदैन।
मरेर गएका पुर्खाहरू आत्माका रूपमा हाम्रै वरिपरि छन्। उनीहरूलाई देख्न विशेष आँखा चाहिन्छ र त्यस्तो आँखा र शक्ति धामीमा हुन्छ भन्ने मानिन्छ। धामीले आत्मासँग संवाद गरी भौतिक मानवलाई शान्ति, स्वास्थ्य र समृद्धिको मार्गमा लैजाने भूमिका खेल्छन्। जीवनदेखि मृत्युसम्मका सम्पूर्ण कर्मकाण्ड भौतिक संसार र अलौकिक संसारबीचको संवादका आयाम भएकाले किरात समाजमा सबै कर्मकाण्ड धामीको नेतृत्वमा सम्पन्न गर्ने परम्परा छ।
लोप हुँदै जाँदा संस्कारमा बाधा
जन्मपछि न्वारान, पास्नी, छेवर/गुन्युचोली, विवाह र मृत्यु संस्कार किरात समाजका मुख्य कर्म हुन्। मुख्य र सबैभन्दा जटिल कर्म मृत्यु संस्कार हो।
किरात समाज बहुजातीय, बहुक्षेत्रीय, बहुसांस्कृतिक तथा बहुआयामिक भएकाले संस्कारहरू ठाउँअनुसार फरक फरक भए पनि आधारभूत विश्वास, मान्यता र विषयमा समानता पाइन्छ। जन्मदेखि विवाहसम्मका संस्कारगत कर्महरू सामान्य रूपमै चल्छन्।
किराती मान्यताअनुसार मानिसको मृत्यु शरीरबाट आत्मा छुट्टिएर जानु हो। कुन उमेरमा र के कारणले मृत्यु भयो भन्ने कुराले आत्मा बस्ने स्थान निर्धारण गर्छ। बुढ्यौलीमा सामान्य मृत्युवरण गरेकाहरू तीन चुलामा बस्छन्। बुढ्यौलीको आसपासमा अकाल मृत्यु भएकाहरू बलेसीमा बस्छन्। केटाकेटीहरू फूलबारीमा बस्छन्। धामी र सिकारीहरू अनकन्टार र मानवीय अतिक्रमणबाट मुक्त चोखो ठाउँमा बस्छन्। अकाल मृत्यु भएका जवानहरूको आत्मा अस्थिर हुन्छ, भड्किइरहेको हुन्छ। अकाल मृत्युमा दुर्घटना, आत्महत्या, हत्या र प्रसवका कारण भएका मृत्यु पर्छन्।

धामी मेघराज राई (बायाँ), अस्ट्रियाली (युरोपवाला) धामी रुपर्ट हुबर।
आत्माहरूसँग संवाद गरेर, उनीहरूको इच्छा बुझेर उपयुक्त थलोमा पुर्याउने र बसाउने काम धामीको हो। अकाल मृत्यु भएका जवानहरूको भड्किएको आत्मालाई सही ठाउँमा र सही तरिकाले व्यवस्थापन गर्नु धामीका लागि सबैभन्दा चुनौतीपूर्ण काम हो। भड्किएको आत्मालाई सही तरिकाले व्यवस्थापन गर्न सकिएन भने विनाशकारी बन्ने र सबैलाई दु:ख दिने सांस्कृतिक विश्वास छ। त्यसैले त्यस्तो काम धामी भन्दैमा सबै धामीले गर्न सक्दैनन्। यसका लागि विशेष शक्ति र क्षमता भएको धामी चाहिन्छ। त्यस्ता धामीहरू थोरै हुन्छन्।
धामीहरू लोप हुँदा किराती संस्कारमा प्रभाव परिरहेको छ। सहरी क्षेत्रमा त झन् मुस्किल छ। पसल थापेर उपचारको नाममा व्यापार गर्ने धामीझाँक्रीहरू सहरबजारमा छ्यापछ्याप्ती पाइए पनि किरातको संस्कारगत धामी लोप हुँदै गएको पाइन्छ।
धामी लोप भएर अरू समाजमा खासै फरक नपर्ला, तर किरात समाजको जरा हल्लिन्छ।
धामी लोप भएर अरू समाजमा खासै फरक नपर्ला, तर किरात समाजको जरा हल्लिन्छ। जरा हल्लिएपछि रुख ढल्छ। अर्थात्, किरात समाजको किरातपन सकिन्छ। कसरी? परम्परागत कर्मकाण्ड गर्ने धामी नभएपछि धर्मान्तरणले अवसर पाउँछ, त्यस्तो गति बढ्न पुग्छ।
मूल थलोबाट छुट्टिएर गएका, थोरै संख्यामा मात्रै रहेका राईहरूको मृत्यु संस्कारकै समस्याका कारण धर्मान्तरण गरेको पाइन्छ। कतिले हरेक कर्मकाण्डमा हिन्दु ब्राह्मण पुरोहित प्रयोग गरिरहेका छन् त कति इसाईकरण भएका पाइन्छन्। कतिले बौद्ध लामाहरू प्रयोग गरेका छन्।
कतिले दोहोरो यातायात व्यवस्था वा खर्च, दह्रो पारिश्रमिक र अन्य सुविधासमेत दिएर धेरै टाढाको पुर्ख्यौली थलोबाटै धामी मगाएर कर्म गर्नुपर्ने अवस्था छ। त्यसो गर्नु महँगो हुने मात्र होइन, दिगो पनि हुँदैन। तर, पुर्ख्यौली ठाउँमै धामी अभाव हुन थालेपछि त्यो पनि सम्भव देखिँदैन।
अहिलेकै अवस्था निरन्तर रहने हो भने अबको डेढ-दुई दशकसम्म धामीहरू लगभग लोप हुनेछन्। रहलपहल एक-दुई जनाले सबैतिर भ्याउन सक्दैनन्। उनीहरू ज्यादै महँगा बन्नेछन्, जुन जोसुकैले धान्न सक्दैनन्। जेजसरी भए पनि कर्मकाण्ड त गर्नैपर्ने हुन्छ। त्यसका लागि अन्य समुदायको पुरोहित प्रयोग गर्नुपर्ने हुन्छ। त्यो धर्मान्तरणबाट मात्रै सम्भव हुन्छ। यसको परिणाम, समग्र समाज र समुदायले आफ्नो मौलिकता र पहिचान गुमाउँछ।