काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
फाइल तस्बिर।
अ+
अ-

विराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ कोसी प्रदेशद्वारा विराटनगरमा शुक्रबार आयोजित ‘कोसी मिडिया सम्मेलन’ को उद्‌घाटन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक अधिकार स्थापित गर्न सञ्चारकर्मीहरूले सत्य र तथ्यका आधारमा सशक्त रूपमा अघि बढ्नुपर्ने धारणा राखे।

उनले आगामी १ साउनदेखि कोसी प्रदेश सरकारले सबैलाई विज्ञापनको हक र अधिकार दिने भन्दै प्रेस क्षेत्रलाई उपेक्षा गरेर नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने कुरामा जोड दिए। उनले लोकतन्त्र मुलुकको संस्कृति भइसकेकाले यसलाई कसैले पनि सखाप पार्न नसक्ने जिकिर गरे। जनताको भाव र विद्रोहबाट स्थापित लोकतन्त्रमा प्रेसजगत मर्यादित हुनुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ।

उनले आगामी साउनदेखि बजेट एवं कार्य विधिका साथ सञ्चार प्रतिष्ठान गठन हुने जानकारी दिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, महेन्द्र विष्ट र शिव गाउँलेलाई सम्मान गरिएको थियो।

महासंघका महासचिव रामप्रसाद दाहालले ‘पत्रकार आचारसंहिता र मर्यादित पत्रकारिता’ तथा महासंघ कोसी प्रदेशका पूर्वअध्यक्ष मोहन काजीले ‘कोसी प्रदेशका पत्रकारहरूको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।