काठमाडौँ। नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरूलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकको विशेष समयमा उनले आफ्नो पार्टीको नेतालाई लागेको फौजदारी अभियोग सरकारले फिर्ता लिने काम गरेको बताइन्। एकजनाको बयानका भरमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको भन्दै झाँक्रीले आपत्ति जनाइन्।
उनले आफूसँग प्रतिस्पर्धी राजनीतिक दलका नेतालाई चुप लाग्ने बनाउन बांग्लादेश र पाकिस्तानको मोडलको अभ्यास गर्न खोजिएको तर्क पनि गरिन्। सोधपुछका लागि जहिले पनि उपलब्ध हुनसक्ने मान्छेलाई पक्राउ गर्ने काम उचित नभएको उनको भनाइ छ। त्यस्तै उनले एक्सप्रेस वेमा चलेको सरकारले एकमाथि अर्को गलत काम गरेको भन्दै सरकार दुर्घटनाको नजिक रहेको टिप्पणी गरिन्।
एमाले नेतृ झाँक्रीले २३ र २४ भदौको घटनाको छानबिनका लागि न्यायिक छानबिन आयोग गर्नसमेत माग गरिन्।