काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
अ+
अ-

रूपन्देही। मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ। अर्का एक बालक बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब नौ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान पठान शुक्रबार साँझ ६ः३० बजे नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए।

मोहर्रम पर्वका अवसरमा ताजिया विसर्जनका लागि ठूलो संख्यामा स्थानीय भेला भएका बेला ती बालक मुख्य विसर्जनस्थलबाट करिब ७०० मिटर टाढा नदीमा नुहाउन र पौडी खेल्न गएका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले खोजीका क्रममा आकाश पासीलाई नदीबाट उद्धार गरी उपचारका लागि भीम अस्पताल भैरहवा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए।

बेपत्ता भएका अरमान पठानको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासीको सहयोगमा खोजी कार्य जारी छ।

प्रहरीका अनुसार वर्षाका कारण रोहिणी नदीमा पानीको सतह बढेको र पानी धमिलो रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।