खोटाङ। ठेकेदार कम्पनीको लापरबाहीका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका ५‚ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ।
ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच २५ असार २०७८ मा ठेक्का सम्झौता भएको थियो। कम्पनीले २८ असार २०७९ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ।
२० करोड ७१ हजार ५९० रुपैयाँमा बन्ने भनिएको अस्पतालको काम ३३ प्रतिशत मात्र सकिएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए। तोकिएको समयमा काम पूरा नभएपछि पाँच पटकसम्म म्याद थप गरिएको थियो। अहिलेसम्म कम्पनीले ६ करोड ४९ लाख ६ हजार रुपैयाँ भुक्तानी बुझिसकेको गाउँपालिकाले जनाएको छ।
पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवन निर्माण नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काको भनाइ छ।
“ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गरिरहेका छौँ। पछिल्लोपटक थपिएको म्यादमा काम सम्पन्न भएन‚” उनले भने, “अस्पताल भवन निर्माणका लागि पालिकाबाट उपलब्ध रकम ठेकेदार कम्पनीले भुक्तानी लान सकेन। अब के गर्ने भन्ने विषयमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने तयारीमा छौँ।”
चिसापानी बजारमा आधारभूत अस्पात भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी निःशुल्क उपलब्ध गराएका थिए। विस्तृत परियोजना रिपोर्ट (डीपीआर) परिवर्तनमा समय लाग्नु, पर्याप्त बजेट नहुनु र फोक्सिङटारमा पुल नहुनुले आधारभूत अस्पताल भवन निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि ङ्वाङ डन्डुप लामाले बताए।