काठमाडौँ। ‘समथिङ लाइक अ फिल्म फेस्टिभल’ (एसएलएफ) मा मिहिर प्याकुरेल निर्देशित ‘आइ लिसन फर द साउन्ड अफ एसेज’ र निशित थापाको ‘द बस टु बागबजार’ पुरस्कृत भएको छ। १२ असारदेखि चार दिनसम्म चलेको महोत्सवमा निर्देशक प्याकुरेलले उत्कृष्ट नवीन चलचित्र पुरस्कार र थापाले सर्वाधिक मनपराइएको फिल्म पुरस्कार प्राप्त गरेका हुन्।
सोमबार समापन भएको महोत्सवमा युवा र पहिलो पटक चलचित्र बनाएका निर्देशकहरुसहित विश्वभरिका ४० वटा चलचित्र प्रदर्शन भएका थिए। महोत्सवमा नेपालका तर्फबाट १३ वटा चलचित्र समावेश थिए।
एसएलफफ मार्फत समापन कार्यक्रममा डकस्कुलले सन् २०१८ देखि दिँदै आएको ‘फ्रिडम फिल्ममेकर पहिचान पुरस्कार’ २०२६ समेत पनि प्रदान गर्यो। हालसालै चलचित्र नियमन विधिमा परिवर्तनका लागि अगुवा भूमिका निर्वाह गरेका मनोज पण्डितलाई सो अवार्ड प्रदान गरिएको छ।
थापाथलीस्थित ‘ऐरावत पिक्चर हाउस’मा आयोजना भएको महोत्सवमा नयाँ पुस्ताका फिल्मकर्मी र दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो। ३० सिट क्षमताको यो प्रदर्शन थलोलाई डक स्कुलका संस्थापक क्षितिज अधिकारी सहरमा वैकल्पिक सिनेमाका लागि स्थापना गरिएको विशेष स्थल भएको बताउँछन्।
एसएलफफ सन् २०११ मा युवा फिल्मकर्मीका लागि समानान्तर सिर्जनात्मक मञ्चका रूपमा सुरु गरिएको थियो।