विराटनगर। कोसी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलिग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।
उनका अनुसार इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट जाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका ६ बाट को.१ख ४६३५ नम्बरको मिनीट्रकलाई शंका लागि जाँच गर्दा आलुको बोराले लुकाएर २५ वटा प्लास्टिकको पोकामा गाँजा फेला परेको थियो। प्रहरीले ७७५ किलो गाँजासहित मिनीट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका १ का ३३ वर्षीय परीक्षण कुवँरलाई पक्राउ गरेको हो।
त्यसैगरी इलाका प्रहरी कार्यालय राजारानीले साँगुरीगढी गाउँपालिका ५ का २४ वर्षीय विशेष राईलाई २० किलोग्राम गाँजा र बा.६४प १४३५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो। यस्तै मोरङको प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका ६ का बिकुल राई र ज्ञानेन्द्र विकलाई तीन ग्राम ५०० मिलिग्राम ब्राउन सुगसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका ६ का प्रदीप मण्डललाई दुई ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रवक्ता थापाले जानकारी दिए।