दृष्टिकोण
आत्महत्याका संकेतहरूलाई समयमै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन र उपचारमा जोड्न सके हामीले धेरै जीवन बचाउन सक्छौँ।
संसारमा दुई प्रकारका मानिस छन्। एकथरीले आफैँलाई अमर ठान्छन्। आफू हिँडेको बाटो उत्तम दाबी गर्छन्। आफ्नो विचारलाई अरूका लागि मानक बनाउने प्रयास गर्छन्। उनीहरू आफू चन्द्रलोकमा जन्मिएर पृथ्वी घुम्न आएको जस्तो गर्विलो भाषामा कुरा गर्छन्। अर्कोथरी भने आफूले जेसुकै र जतिसुकै राम्रो गरे पनि आफैँलाई दोषी देख्छन्। हीन ठान्छन्। सायद यही आत्मग्लानि र निरन्तरको निराशाले जीवन अन्त्य गर्ने निर्णयसम्म पुर्याउँछ।
मानिस जुनसुकै धरातलमा जन्मिए पनि सबैमा एउटा मस्तिष्क हुने हो। यही मस्तिष्कभित्र खुसी, दुःख, पीडा, आफूलाई अन्त्य गर्ने विचार वा अनन्तकालसम्म बाँच्ने इच्छा अटाएका हुन्छन्। मानव इतिहासमा जीवन र मरणका कथाहरू पनि थुप्रै पटक लेखिए। कसैले सम्पत्तिले भरिपूर्ण भएर पनि आत्महत्या रोजे। कसैले रोगव्याधि, पीडा र अभाव सहेर पनि पूरा जीवन संघर्ष गरे। जीवनको अन्तिम सास रहेसम्म बाँचे। यद्यपि, समाजमा आत्महत्या गर्नेहरूको इतिहास सबै कालमा कलंकित छ। डर, लाज र त्राससँग जोडिएको देखिन्छ। आत्महत्याका घटनालाई लुकाइन्छ। समाजले कलंकित गर्छ।
परामर्श मनोविज्ञान अध्ययनका क्रममा र पछि काम गर्ने क्रममा आत्महत्याबाट ज्यान गुमाएकाहरूका घटनाको कथा सुनेँ, देखेँ र बुझ्ने अवसर पाएँ। मनोसामाजिक परामर्शकर्ताहरूलाई सुपरिवेक्षणका क्रममा पनि यस्ता अनुभव दोहोरिइरहे। तर, एउटा प्रश्नले सधैँ पछ्याइरह्यो, आखिर मानिस किन आफ्नै जीवन अन्त्य गर्न तयार हुन्छ? किन बाँच्न मन नलाग्ने अवस्था आउँछ? कि आवेगको परिणाम हो वा आशा सकिएको अनुभूति भएर वा मानसिक रोगको प्रभाव?
सञ्चारमाध्यमले आत्महत्याका घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्नुको सट्टा, आशा तथा जीवनमा पाएका सफलताका कथाहरूलाई स्थान दिनुपर्छ।
यसको उत्तर सरल छैन। यसको कारण बहुआयामिक रहेको विभिन्न अध्ययनले देखाएका छन्। यसको परिणामलाई जैविक, मानसिक, सामाजिक र सांस्कृतिक पक्षहरूमा बाँडेर हेर्न सकिन्छ। केही मानिस तनाव, डिप्रेसन (अवसाद)सँग जुधिरहेका हुन्छन्। कोही आफन्तको मृत्यु, रोगव्याधि, बिछोड, दीर्घ रोग वा आर्थिक संकट भोगिरहेका हुन्छन्। कतिपयले सामाजिक लाञ्छना, भेदभाव र सम्बन्धविच्छेदबाट गुज्रिनुपरेको हुन्छ। कतै मैले पढेको थिएँ, ‘मानिस जन्मिँदा त परी भएरै जन्मिन्छ, तर पछि समाजले भ्यागुता बनाइदिन्छ।’ सायद यो कथनले मानिसमा पर्ने सामाजिक नकारात्मक प्रभावलाई बुझाउन खोजेको होला।
विश्वमा हरेक वर्ष सात लाखभन्दा बढी मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेको विभिन्न अध्ययनले देखाएका छन्। अरिस्टोटलदेखि सकारात्मक मनोविज्ञानको मूल मान्यता के हो भने मानिसले सुख र सन्तुष्टि खोज्छ। त्यसैगरी, चार्ल्स डार्विनको जीवनरक्षा सिद्धान्तअनुसार जीवन जिउने इच्छा जन्मजातै हुन्छ वा सयौँ वर्ष बाँच्न मन लाग्छ। डा. मार्क ल्यारीले आत्महत्याको बाटो रोज्ने व्यक्तिले पनि प्राथमिक रूपमा आफ्नो जीवनलाई अन्त्य गर्न चाहेको हुँदैन भनेर व्याख्या गरेको पाइन्छ।
आत्महत्याको कारण व्यक्तिले आफूलाई मात्रै गुमाउँदैन, उसले विभिन्न आश्रित व्यक्तिलाई पीडामा छोडेर जान्छ। यसले आफूसँगै परिवार र समाजलाई पनि प्रभावित गर्ने हुन्छ। केही अध्ययनले एउटा आत्महत्याले १३५ जनालाई प्रत्यक्ष प्रभाव पार्न सक्ने देखाएका छन्। बाँचेकाहरू शोक, अपराधबोध, गुमाउनुको पीडा, सामाजिक लाञ्छना र कलंकका सिकार भएका हुन्छन्। हरेक वर्ष १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार आत्महत्या गर्न प्रयोग हुन सक्ने स्रोतहरूको पहुँचलाई कम गर्ने, युवायुवतीलाई जीवन जिउने सीप सिकाउने, जोखिममा रहेका व्यक्तिलाई समयमै पहिचान गरी उपचारमा जोड्ने र प्रभावकारी नीति तथा रणनीति लागु गर्न प्राथमिकता दिनुपर्छ।
मनोविज्ञानका अनुसार आत्महत्या प्राय: जीवन समाप्त पार्ने इच्छा मात्र होइन, असह्य मानसिक र भावनात्मक पीडा, परिस्थितिजन्य तनाव, मन तथा भावनाको रोग लागेर वा आशा सकिएपछि पनि मानिसले आत्महत्याको बाटो रोजेको हुनसक्छ। तर, हाम्रो समाजमा आत्महत्याबारे खुलेर छलफल भएको देखिँदैन। यस विषयमा खुला छलफल भएमा र रिपोर्टिङमा आएमा आत्महत्या रोकथामका लागि योजना बनाउन मद्दत मिल्छ। यसका लागि समुदाय, विद्यालय, कार्यस्थल वा हरेक ठाउँमा खुला छलफल गरिनुपर्छ।
यसमा सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। आत्महत्याका घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्नुको सट्टा, आशा तथा जीवनमा पाएका सफलताका कथाहरूलाई स्थान दिइनुपर्छ। त्यसैगरी, विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार आत्महत्या गर्न प्रयोग हुन सक्ने स्रोतहरूको पहुँचलाई कम गर्ने, युवायुवतीलाई जीवन जिउने सीप सिकाउने, जोखिममा रहेका व्यक्तिलाई समयमै पहिचान गरी उपचारमा जोड्ने र प्रभावकारी नीति तथा रणनीति लागु गर्न प्राथमिकता दिनुपर्छ।
आत्महत्या रोकथाम सबैको साझा जिम्मेवारी हो। आत्महत्याका संकेतहरूलाई समयमै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन र उपचारमा जोड्न सके धेरै जीवन बचाउन सकिन्छ। आवश्यकता परे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा मनोसामाजिक परामर्शकर्ता, मनोविद् र मनोचिकित्सकको सहयोग लिन तथा मानसिक तनावमा हुनेले कुनै शुल्क नलाग्ने हेल्प लाइन ११६६ मा फोन गरी मनोपरामर्श लिन सकिन्छ।
(बोहरा मनोविद् हुन्।)