काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

अपराध

कैदीबन्दीको भत्ता, लुगा भत्ता, ६ वटा टेलिफोनमा असुली, मुढा-गलैँचा बिक्रीको रकम, कारागारको मेस नियन्त्रणबाट मासिक ९० लाख रुपैयाँ असुल्थे गिरी।

अभिषेक गिरी। तस्बिरहरू : सामाजिक सञ्जाल
अ+
अ-

अपराध जगत्‌मा अभिषेक गिरी यस्तो पात्र हुन्, जसको नाम हत्या, अपहरण, फिरौती, ठेक्कापट्टा र गैरकानुनी असुलीसँग जोडिन्छ। तीन दशकको अपराध यात्रामा गिरीले जेलको ढोका पटक पटक देखिसकेका छन्। जेलभित्र होस् या बाहिर, गिरी आपराधिक गतिविधिमा सधैँ चर्चामा छन्। ४८ वर्षीय गिरीलाई शनिबार (१३ असार) मोरङ प्रहरीले विराटनगर महानगरपालिका-८ मधुमारास्थित घरबाटै पक्राउ गर्‍यो।

यसपटक गिरी हत्या, गुन्डागर्दी वा पुरानै शैलीको फिरौती नभएर मोरङ जिल्ला कारागार, विराटनगरभित्रको आर्थिक स्रोतमा नियन्त्रण जमाएर कैदीबन्दीसँग असुली गरेको आरोपमा पक्राउ परेका हुन्। यसबाहेक एक थान पेस्तोल साथमै, एक थान घरमा र अर्को एक थान उनका साथीसँग रहेको सूचना प्रहरीसँग थियो। प्रहरी पुग्दा फेला नपरे पनि पेस्तोलको खोजी भइरहेको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका लेखापाल अच्युतप्रसाद रेग्मीको अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष जेल परेपछि ५ चैत २०७९ मा कारागारमुक्त भएका गिरी तीन वर्षपछि फेरि प्रहरी हिरासतमा पुगेका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार गिरीले विराटनगर कारागारमा रहेका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने दैनिक भत्ता नियमित रूपमा असुल्दै आएको पाइएको छ। यति मात्र होइन, कैदीबन्दीले कारागारभित्र श्रम गरेर कमाएको पारिश्रमिकसमेत गिरीको नियन्त्रणमा पुग्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अर्थात्, जेलभित्र पस्ने सरकारी रकमदेखि कैदीको पसिनाको कमाइसम्ममा गिरीको पहुँच छ।

 अभिषेक गिरी।

मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार अनुसन्धानको केन्द्रमा गिरी मात्र नभई उनले निर्माण गरेको असुली गिरोह पनि छ। गिरीको सञ्जालमा संलग्न विजय कामत, सहयोगी दीपक कार्की पक्राउ परेका छन्। प्रहरीले कैदीबन्दी, कारागारसँग सम्बन्धित व्यक्तिहरू र आर्थिक कारोबारका विवरण केलाइरहेको छ। “गिरीले कहिलेदेखि, कसरी र कसको संरक्षणमा यस्तो असुली सञ्चालन गरिरहेका थिए भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ,” कटवाल भन्छन्, “पीडितहरूको निवेदन लिने, प्रमाण संकलन र आर्थिक कारोबारको शृंखला जोडेर हेर्ने काम भइरहेको छ।”

जेलभित्रको अपराध दुनियाँ

प्रहरी अनुसन्धानअनुसार गिरीको आपराधिक यात्रा २०६० को दशकमा सुरु भएको हो। सरकारी तथा विकास निर्माणमा हुने ठेक्कामा लगानी तथा कमिसन असुलीबाट गिरीको अपराध यात्रा प्रारम्भ भएको हो। हुलाकी सडक र महानगरपालिकाभित्रका बहुउद्देश्यीय भवन ठेक्काबाट उनले काम सुरु गरेका थिए। ठेक्कापट्टाकै सिलसिलामा विराटनगरका पर्शुराम बस्नेतसँग गिरीको सम्बन्ध जोडिएको थियो। तर, उनीहरूको सम्बन्ध लामो समय अघि बढेन। प्रहरी अनुसन्धानअनुसार २०६५/६६ ताका दुईबीच साझेदारीको विषयमा खटपट आएको थियो। २०६२-२०६५ मा उनीहरू विराटनगरमा आपराधिक गतिविधिबाट आर्जित लाभ बाँड्थे। त्यसताका बस्नेतलाई गिरीले करिब ११ करोड रुपैयाँ लगानी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

लेनदेन हिसाब नमिलेपछि गिरीले जेलबाटै बस्नेतलाई गोली हान्न मान्छे खटाएको प्रहरीको भनाइ छ। त्यसयता दुवै जनाको सम्बन्ध सुमधुर छैन। २०७० सालमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गिरीविरुद्ध दुई करोड ९४ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति रहेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्‍यो। उक्त मुद्दामा गिरीले सफाइ पाए। गिरीसँगै ११ करोड ४१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति दाबी गर्दै दायर मुद्दामा बस्नेतले पनि सफाइ पाएका थिए।

अभिषेक गिरीले जेलभित्र चलाएको असुली धन्दाको विरोध गर्दै मोरङ कारागारका कैदी।

गिरीको कारागार यात्रा २०६५ सालबाट सुरु भएको हो। विराटनगरका करण यादवको हत्या आरोपमा गिरी पहिलो पटक जेल परेका थिए। बस्नेत र गिरी दुवैको समूह तत्कालीन जिल्ला विकास समितिमा टेन्डर लुट्न गएकामा यादव मारिएपछि घटनाले अर्कै मोड लियो। यादवलाई तरबार प्रहार गरी हत्या गरेको आरोपमा गिरी पक्राउ परे। प्रहरी उपरीक्षक कटवालका अनुसार त्यही बेलादेखि गिरीको मोरङ कारागारभित्रको आर्थिक स्रोतमा पहुँच पुगेको देखिन्छ।

यादव हत्या प्रकरणमा २०६९ सालमा सफाइ पाएर गिरी छुटेका थिए। यसको एक वर्ष नपुग्दै २०७० सालमा अपहरण आरोपमा ललितपुरबाट पक्राउ परे। अपहरण तथा शरीर बन्धक मुद्दामा उनलाई अदालतले १० वर्ष कैद सजाय फैसला गरेको थियो।

करण यादवको हत्यामा केन्द्रीय कारागारमा रहँदा पनि उनी आपराधिक गतिविधिमा सक्रिय नै थिए। काठमाडौँका व्यवसायी ध्यानगोविन्द वैद्यको अपहरण योजना बनाएको खुलेपछि केन्द्रीय कारागारबाट उनलाई नुवाकोट सारियो। तर, त्यहाँबाट पनि उनले अपराध कर्म छोडेनन्। नुवाकोट जेलमै रहेका सशस्त्र समूहका छोटा राजन समूहसँग मिलेर कल बाइपास गरी मोरङका व्यापारीलाई धम्क्याउँदै पैसा मागेको आरोप गिरीलाई लाग्यो। प्रहरीले जेलमा छापा मार्दा कल बाइपासका सामग्री फेला पारेको थियो।

गिरीले आफ्नो फाउन्डेसनमार्फत विभिन्न ठाउँमा राहत बाँडेको र सामाजिक काम गरेको भिडिओ बनाउँथे। उनले सोही फाउन्डेसनमार्फत चन्दा संकलनसमेत गर्ने गरेका थिए। तर, प्रहरीको आशंका छ- फाउन्डेसन अवैध धनलाई वैध बनाउने माध्यम मात्र थियो।

गिरीको अपराध नुवाकोटमा पनि नरोकिएपछि मोरङ कारागार नै पठाउन खोजियो। तर, मोरङ कारागारले राख्न नमानेपछि उनलाई सुनसरीको झुम्कास्थित कारागारमा राखियो। त्यहाँ पुगेपछि पनि गिरीले आपराधिक गतिविधि छोडेनन्। फागुन २०६६ मा गिरीले जेलबाटै मान्छे खटाएर पुराना सहकर्मी पर्शुराम बस्नेतलाई दुई गोली हान्न लगाए। दुई महिना लामो सघन उपचारपछि पर्शुराम तंग्रिए। त्यसको बदला लिन पर्शुराम समूहले १८ जेठ २०६८ मा पेसी बयानमा जिल्ला अदालत मोरङ ल्याउँदा गिरीलाई आक्रमण गर्‍यो। पछिल्लो मुद्दामा मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लाग्यो।

यति मात्रै नभएर कारागारमा रहँदा विराटनगर हाटखोला पुलनजिक घर भएका इसराइल मियालाई कारागारभित्रै कुटपिटपछि हत्या गरेको आरोप गिरीलाई छ। उक्त कारागारमै धरान घर भएका उत्तम राईलाई कुटपिट गरी हत्या गरेको आरोप पनि उनलाई छ। मोरङ कारागारमा रहँदा आतंक मच्चाएपछि उनलाई २३ चैत २०७४ मा डिल्लीबजार कारागार सारियो। तर, गिरीले यसपटक मोरङ कारागार जान राजनीतिक रूपमै ‘लबिइङ’ थाले। नेपाली कांग्रेस नेतृत्वको सरकार हुँदा गृह मन्त्रालयसम्म पहुँच पुर्‍याएर मोरङ कारागार सरुवा गराए। १६ कात्तिक २०७८ मा कारागार व्यवस्थापन विभागले गिरीलाई मोरङ कारागार सरुवा गर्‍यो। गृहमन्त्री बालकृष्ण खाण भएका बखत कांग्रेसनिकट मानिने गिरी त्यहाँ सरुवामा परेका थिए।

गिरीलाई मोरङ कारागार पुर्‍याउँदा कैदीबन्दीले प्रवेश दिएनन्। यसपछि उनलाई केही समय सप्तरी कारागार राखियो। अन्तत: सप्तरीबाट ९ मंसिर २०७८ मा गिरीलाई मोरङ कारागार लगियो। यसपछि उनी मोरङ कारागारका चौकीदार बनेका थिए। गिरी मोरङ कारागार जान मरिहत्ते गर्नुको पछाडि जेलभित्रको असुली नै मुख्य कारण भएको प्रहरीले जनाएको छ।

रिहा भएपछि समाजसेवी देखिने प्रयास, अपराध सञ्जाल उस्तै

पछिल्लो पटक जेलबाट छुटेपछि अभिषेक गिरीले आफ्नो सार्वजनिक छवि बदलिएको सन्देश दिन योजनाबद्ध प्रयास गरेको देखिन्छ। वर्षौंसम्म अपराधसँग जोडिएको परिचय पन्छाएर उनी ‘सुध्रिएको व्यक्ति’ को नयाँ कथा निर्माण गर्न लागिपरेका थिए। दोस्रो विवाह गरेर पारिवारिक जीवन सुरु गरे। सार्वजनिक कार्यक्रममा परिवारसहित देखिन थाले। त्यसपछि नेपाली कांग्रेसको क्रियाशील सदस्यमा जोडिँदै आफूलाई राजनीतिक रूपमा सक्रिय पात्रका रूपमा प्रस्तुत गर्न खोजे। गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमान्डरकै रूपमा गिरी सक्रिय थिए।

अभिषेक गिरी।

उनी यतिमै रोकिएनन्। आफ्नै नाममा ‘अभिषेक गिरी फाउन्डेसन’ स्थापना गरेर विद्यालयमा विद्यार्थीलाई पोसाक वितरण गर्ने, खेलकुद सामग्री, राहत बाँड्ने र विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने कार्यलाई प्राथमिकता दिए। बाहिरबाट हेर्दा उनले अपराधको बाटो छाडेर समाजसेवातर्फ उन्मुख भएको सन्देश दिन खोजिरहेको देखिन्थ्यो। तर, प्रहरीको अनुसन्धानले फरक तस्बिर देखाएको छ। प्रहरी उपरीक्षक कटवालका अनुसार गिरीको सार्वजनिक छवि जति बदलिएको देखिन्थ्यो, उनको भित्री सञ्जाल त्यति नै सक्रिय थियो। बाहिर समाजसेवा र राजनीतिक सक्रियताको आवरण बनाइरहेका गिरी जेलभित्र आर्थिक असुली धन्दा चलाइरहेका थिए।

१३ असारको बिहान मोरङ प्रहरीको टोली गिरीको निवासमा पुग्दा ‘पैसा गन्ने मेसिन’ फेला पर्‍यो, जुन सामान्यतया बैंक वा ठूला व्यापारिक प्रतिष्ठानमा भेटिन्छ। गिरीले घरमै पैसा गन्ने मेसिन राख्नु र कारागारभित्रका कैदीबन्दीको श्रम लुट्नुले मोरङमा गिरीको ‘अपराध साम्राज्य’ कति गहिरोसँग जरा गाडेर बसेको छ भन्ने देखाउने कटवाल बताउँछन्।

पैसा गन्ने मेसिन।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कैदमुक्त भएपछि पनि मोरङ कारागारभित्रको आर्थिक गतिविधिमा उनको नियन्त्रण हटेन। कारागारभित्र ५०० भन्दा बढी कैदीबन्दीले बुन्ने मुढा र गलैँचाको व्यापारबाट हुने लाखौँ रुपैयाँको आम्दानी सिधै गिरीको व्यक्तिगत बैंक खातामा जम्मा हुने गरेको तथ्य खुलेको छ। मोरङ कारागारमा अहिले एक हजार १९९ कैदीबन्दी छन्। तीमध्ये करिब ५०० जना मुढा बुन्ने र १०० जना गलैँचा बुन्ने काममा संलग्न छन्। दिनभर पसिना बगाएर कैदीबन्दीले तयार पारेका यी सामग्री ट्रकमा लोड भएर बिक्रीका लागि चितवन र काठमाडौँका बजारमा पुग्छन्। तर, त्यसको आम्दानी ती कैदीको हातमा पर्दैन।

प्रहरी उपरीक्षक कटवालका अनुसार पछिल्लो समय चितवन र काठमाडौँमा मुढा र गलैँचा बिक्री गरिएबापतको सात लाख रुपैयाँ सिधै गिरीको बैंक खातामा आएको देखिएको छ। “कैद भुक्तान गरेर निस्किएको चार वर्ष हुन लाग्दा पनि कारागारको उत्पादनको रकम बाहिर बसेका व्यक्तिको खातामा जानु संगठित अपराधको नमुना हो,” कटवाल भन्छन्, “हामी गिरीको वित्तीय शृङ्खला खोतल्दै छौँ।”

गिरी १३ मंसिर २०७८ मा मोरङ कारागारको चौकीदार नियुक्त भएका थिए। ५ चैत २०७९ मा जेलमुक्त भएपछि उनले कारागारभित्र आफ्नो प्रभाव यसरी जमाएका थिए कि त्यहाँ हुने हरेक आर्थिक कारोबारको कमिसन वा पूर्ण रकम उनीकहाँ पुग्ने सुनिश्चित थियो। सरकारी नियमअनुसार कैदीबन्दीले सिदा खर्च दैनिक ८० रुपैयाँ पाउँछन्। यसबाहेक गर्मी भत्ता र लत्ताकपडाका लागि पनि सरकारले रकम पठाउँछ। तर, गिरीको समूहले यसमा पनि लुट मच्चाएको पाइएको छ।

गत १२ असारमा मोरङ कारागारको ‘ब्लक बी’ मा रहेका ५४४ जना कैदीबन्दीलाई वितरण गरिएको गर्मी भत्ताबापतको १३ लाख ६० हजार रुपैयाँ गिरीले असुली गरेको उजुरी प्रहरीमा परेको छ। प्रतिकैदी २५ सय रुपैयाँका दरले उठाइएको उक्त रकम संकलन गर्न कारागारका केही सहयोगी कर्मचारी, तरकारी आपूर्तिकर्ता विजय कामत र गिरीका सहयोगी दीपक कार्कीले भूमिका खेलेको प्रहरीको दाबी छ। यही सूचना बाहिरिएपछि १३ असारमा गिरी आफ्नै निवासबाट समातिएका थिए।

अभिषेक गिरी (बायाँ), पर्शुराम बस्नेत (दायाँ, फोनमा कुरा गरिरहेका)

गिरी चौकीदार रहँदा मोरङ कारागारभित्र कोठा नम्बर १३ सक्रिय थियो, जसको नाम सुन्दै कैदीहरू थर्कमान हुन्थे। कैद भुक्तान गरेर निस्किएकाहरूका अनुसार गिरीले त्यो कोठालाई ‘टर्चर सेन्टर’ (यातना गृह) बनाएका थिए। अदालतले पुर्पक्षका लागि पठाएका नयाँ थुनुवाहरूलाई सुरुमा १३ नम्बर कोठामा राखिन्थ्यो। त्यहाँ गिरीका मान्छेहरूले उनीहरूको आर्थिक अवस्थाको ‘ब्रिफिङ’ लिन्थे। हुनेखाने र सम्पन्न परिवारका व्यक्ति देखिएमा उनीहरूलाई मानसिक र शारीरिक यातना दिइन्थ्यो। यातनाबाट बच्न र सुरक्षित कोठामा सर्न ‘सलामी’ बुझाउनुपर्ने नियम थियो। “सलामी भनेको गिरीले तोकेको निश्चित रकम हो,” हालै कैदमुक्त भएका एक व्यक्ति भन्छन्, “१० हजारदेखि एक लाख रुपैयाँसम्म मासिक रूपमा घरबाट मगाउन लगाइन्थ्यो। पैसा नदिनेले १३ नम्बर कोठामा यातना बेहोर्नुपर्थ्यो।”

गिरीको आतंक आर्थिक असुलीमा मात्र सीमित थिएन। कारागारभित्र उनकै एकाधिकारमा पसल सञ्चालन हुन्थे, जहाँ बजार मूल्यभन्दा दोब्बर मूल्यमा सामान किन्न कैदीहरू बाध्य थिए। अझ अचम्मको कुरा त, कैदीबन्दीले आफन्तसँग गर्ने फोन कलमा समेत गिरीले पैसा असुल्थे। प्रतिमिनेट सात रुपैयाँसम्म शुल्क उठाइन्थ्यो। प्रहरी स्रोतका अनुसार गिरीले कैदीबन्दीको भत्ता, लुगा भत्ता, ६ वटा टेलिफोनमा असुली, मुढा-गलैँचा बिक्रीको रकम, कारागारको मेस नियन्त्रणबाट मासिक ९० लाख रुपैयाँ असुल्थे। नयाँ कपडा कारागारभित्र छिर्दा समेत प्रतिगोटा ३०० रुपैयाँसम्म ‘ट्याक्स’ बुझाउनुपर्थ्यो।

गिरीले आफ्नो फाउन्डेसनमार्फत विभिन्न ठाउँमा राहत बाँडेको र सामाजिक काम गरेको भिडिओ बनाउँथे। उनले सोही फाउन्डेसनमार्फत चन्दा संकलनसमेत गर्ने गरेका थिए। तर, प्रहरीको आशंका छ- फाउन्डेसन अवैध धनलाई वैध बनाउने माध्यम मात्र थियो।

प्रहरीले गिरी, उनकी दिदी अर्पणा तुलाधार र अन्य आफन्तको नाममा रहेको सम्पत्ति विवरण संकलन गरिरहेको छ। गिरीको लगानीमा विराटनगरमा २०० वटा सिटी सफारी, २५ वटा टिपर, दुई वटा क्रसर उद्योग र कटहरीमा ‘अन्नपूर्ण आयल सप्लायर्स’ रहेको पाइएको छ। यी सबै सम्पत्तिको स्रोत कारागारभित्रको असुली नै भएको प्रहरीको दाबी छ। यस्तै, गिरीले काठमाडौँको बूढानीलकण्ठमा एउटा घर, धनकुटा भेडेटार र मोरङ रमितेमा रिसोर्ट स्थापना गर्न १० रोपनी जग्गा किनेको प्रहरीले जनाएको छ। तर, ती जग्गा उनले आफन्तको नाममा राखेको पाइएको छ। ‘कट अफ लिंकेज’ मा काम गर्ने भएकाले उनले आपराधिक गतिविधिबाट आर्जेको यकिन विवरण पत्ता लगाउन कठिन रहेको प्रहरीले जनाएको छ। गिरीले जोडेको जग्गाजमिनको विवरण सम्बन्धित जिल्लाका मालपोत कार्यालयसँग माग गरिएको छ।

प्रहरीले उनीविरुद्ध अहिले आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ। “यो एउटा असुलीको घटना मात्र होइन, यो एउटा ठूलो संगठित अपराध र सम्पत्ति शुद्धीकरणको विषय हो,” कटवाल भन्छन्, “हामीले बैंक खाता, सेयर लगानी र बेनामी सम्पत्तिको खोजीका लागि सम्बन्धित निकायमा पत्राचार गरिसकेका छौँ।”