काठमाडौँ। मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को १३ चैत २०८२ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नम्बर ३२ को कार्यान्वयनस्वरूप अस्पतालले अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयको अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दै अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो। अस्पतालले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत बिरामीले अस्पतालको वेबसाइटबाटै ओपीडी टिकट लिन सक्नेछन्। योसँगै टिकट लिन अस्पतालमा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ।
अस्पतालका अनुसार अनलाइनबाट टिकट लिने बिरामीले डिजिटल माध्यमबाट टिकट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसले सेवा प्रवाह थप सहज, छरितो र पारदर्शी बनाउने विश्वास अस्पतालको छ।
अस्पतालका अनुसार सार्वजनिक बिदाबाहेक अन्य दिन ओपीडी सेवा बिहान ९ देखि १ बजेसम्म तथा दिउँसो २ देखि ५ बजेसम्म सञ्चालन हुनेछ। तर अनलाइनबाट टिकट लिएका बिरामीलाई बिहानको ओपीडीका लागि ९:३० देखि १२:३० बजेसम्म तथा दिउँसोको ओपीडीका लागि २:३० देखि ४:३० बजेसम्म अस्पतालमा उपस्थित हुन अनुरोध गरिएको छ।
