समाज
हिउँ पर्ने क्रम घटेर वर्षा बढी हुन थालेपछि ढुंगा र माटोका परम्परागत घर मासिँदै
कुनै समय ढुंगा, माटो र काठले बनेका परम्परागत घरहरू हिमाली जिल्ला मनाङका मौलिक पहिचान र सभ्यता थिए। हिउँको भार सहजै थेग्ने र स्थानीय मौसमअनुकूल मानिने मौलिक शैलीका घर बिस्तारै इतिहास बन्दै गएका छन्। जलवायु परिवर्तनका कारण हिउँ पर्ने क्रम घट्दै वर्षा बढ्नु र अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटन व्यवसाय विस्तार हुनुका कारण मनाङका परम्परागत घरहरू तीव्र रूपमा मासिँदै छन्। आधुनिक निर्माण सामग्री प्रयोग गरेर नयाँ शैलीका घर बन्न थालेका छन्।
चामे बजारकी अनिता लामाका अनुसार पहिले जाडोयाममा बाक्लो हिउँ पर्ने भएकाले ढुंगा र माटाका घरहरू सुरक्षित, टिकाउ र स्थानीय मौसमअनुकूल मानिन्थे। तर, पछिल्ला वर्षहरूमा हिउँको सट्टा पानी धेरै पर्न थालेपछि माटोले बनेका छाना र भित्तामा चुहावट र क्षति बढेको उनी बताउँछिन्। भन्छिन्, “अहिले नयाँ घर बनाउँदा अधिकांशले जस्तापाताको छाना र आधुनिक निर्माण सामग्री रोज्छन्।” उनका अनुसार पर्यटकको बढ्दो आगमनसँगै पुराना घर भत्काएर आधुनिक होटल र लज निर्माण गर्ने क्रम पनि बढेको छ।
थानचोकका गणेश घलेका अनुसार मनाङको तल्लो भेगबाट परम्परागत घर लगभग हराइसकेका छन् भने माथिल्लो भेगका केही गाउँमा मात्रै त्यस्ता घर देख्न सकिन्छ। “जलवायु परिवर्तनले प्राकृतिक वातावरण मात्र होइन, हाम्रो मौलिक वास्तुकला र सांस्कृतिक सम्पदालाई पनि प्रत्यक्ष असर पारेको छ,” उनी भन्छन्।
माथिल्लो मनाङका विनोद गुरुङका अनुसार तापक्रम वृद्धि, हिउँ पर्ने अवधि छोटिनु र वर्षाको स्वरूपमा आएको परिवर्तनले परम्परागत निर्माण शैलीलाई टिकाइराख्न कठिन बनाएको छ। “समयमै संरक्षणका प्रभावकारी उपाय नअपनाउने हो भने मनाङका ढुंगा र माटाका घरहरू इतिहास र सम्झनामा सीमित हुनेछन्,” उनी भन्छन्।
पर्यटन विस्तारसँगै आधुनिक घर
मनाङमा परम्परागत घर विस्थापित हुँदै जानुमा जलवायु परिवर्तनसँगै पर्यटन व्यवसायको विस्तार पनि कारक हो। पर्यटकको आकर्षण र सुविधाका लागि आधुनिक निर्माण सामग्री प्रयोग गरेर होटल र पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको छ। एकीकृत सेवा कार्यालय मनाङका अनुसार जिल्लामा हाल १८३ वटा होटल र तीन वटा होमस्टे दर्ता छन्।

परम्परागत मौलिक घर भत्काएर होटल बनाएको ङिस्याङ गाउँपालिका पर्ने तल्लो पिसाङ गाउँ।
होटल व्यवसायी संघ चामेका अध्यक्ष फुर्पा छिरिङ लामाका अनुसार पर्यटकको रोजाइ र सुविधाप्रतिको अपेक्षा परिवर्तन भएसँगै होटल व्यवसायी आधुनिक भवन निर्माण गर्न बाध्य भएका छन्। “आन्तरिक र बाह्य दुवै पर्यटक पुराना शैलीका घरमा बस्न खासै रुचाउँदैनन्। उनीहरू व्यवस्थित शौचालय, बाथरुम, तातोपानी र अन्य आधुनिक सुविधा खोज्छन्,” उनी भन्छन्। यही कारण ढुंगा र माटोका घरलाई आधुनिक शैलीमा रूपान्तरण गर्ने वा नयाँ भवन निर्माण गर्ने क्रम पछिल्ला वर्षमा उल्लेख्य बढेको उनी बताउँछन्।
संरक्षणमा स्थानीय तहको उदासीनता
चार वटा स्थानीय तह रहेको मनाङमा माथिल्लो क्षेत्रका सीमित गाउँमा मात्रै परम्परागत घर बाँकी छन्। तर, तिनको संरक्षणका लागि चार पालिकामध्ये नार्पा भूमिबाहेक तीन गाउँपालिकाले प्रभावकारी कार्यक्रम अघि सारेका छैनन्।
ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार अन्नपूर्ण चक्रीय पदमार्गका कारण होटल, रेस्टुराँ र अन्य पर्यटकीय पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेको छ। उनको स्वीकारोक्ति छ, “पालिकाले परम्परागत घर संरक्षणका लागि कुनै विशेष कार्यक्रम सञ्चालन गरेको छैन।” हिउँ कम र वर्षा बढी हुन थालेपछि स्थानीयवासी ढुंगा, माटो र काठका घर बनाउन इच्छुक नै नरहेको उनी बताउँछन्।

नार्पा भूमि गाउँपालिकाको क्याङ गाउँ।
नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ पालिकाले सडक र पदमार्ग निर्माणलाई प्राथमिकता दिएको तर परम्परागत घर संरक्षणका लागि हालसम्म कुनै योजना नबनेको बताउँछन्।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र गुरुङ पनि जलवायु परिवर्तनको असर न्यूनीकरण तथा परम्परागत घर संरक्षणका लागि पालिकासँग कुनै कार्यक्रम नरहेको बताउँछन्। “यस्ता मौलिक घर जोगाउन सरकारी पहल मात्र भएर हुँदैन, स्थानीय समुदाय पनि तिनको सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बुझेर संरक्षणमा सक्रिय हुनुपर्छ,” उनी भन्छन्।
नार्पा भूमिको संरक्षण अभियान
जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा परम्परागत ढुंगा र माटाका घरहरू विस्थापित हुन थालेपछि मनाङको नार्पा भूमि गाउँपालिकाले हिमाली सभ्यताको मौलिक पहिचान जोगाउन संरक्षण अभियान सुरु गरेको छ।
गाउँपालिकाको तथ्यांकअनुसार नार्पा भूमिमा १२८ घरधुरी छन्। तीमध्ये २८ वटा घरमा टिनको छाना र कंक्रिट संरचना निर्माण भइसकेको छ। परम्परागत घरको मौलिक स्वरूप जोगाउने उद्देश्यले गाउँसभाले फु गाउँलाई संरक्षण गर्ने नीति पारित गरिसकेको छ।
नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार पालिकाभित्रका सबै गाउँलाई एकैपटक संरक्षण गर्न सम्भव नभए पनि कम्तीमा एउटा गाउँलाई हिमाली सभ्यताको जीवित सम्पदाका रूपमा जोगाउने लक्ष्य राखिएको छ। त्यसका लागि फु गाउँमा टिनका छाना, सिमेन्ट र फलामे रडको प्रयोग गरी घर निर्माण गर्न पूर्ण प्रतिबन्ध लगाउने तयारी भइरहेको उनी बताउँछन्।
अध्यक्ष लामा भन्छन्, “मौलिक घरहरू जोगाउन परम्परागत शैलीमै घर निर्माण वा मर्मत गर्ने स्थानीयलाई गाउँपालिकाले अनुदानसमेत उपलब्ध गराउने व्यवस्था गरेका छौँ।”
हिमाली जिल्लामा मौलिक घरको महत्त्व
हिमाली जिल्लाका ढुंगा, माटो र काठबाट बनेका परम्परागत घर बसोबासका संरचना मात्र होइनन्, ती हिमाली सभ्यता, संस्कृति र स्थानीय ज्ञानका जीवित सम्पदा हुन्। स्थानीय भूगोल, हावापानी र उपलब्ध प्राकृतिक स्रोतअनुसार निर्माण गरिएका यी घरहरूले हिमाली समुदायको पुस्तौँदेखिको सीप, जीवनशैली र मौलिक पहिचान झल्काउँछन्।
यी घरहरू प्राकृतिक रूपमा ताप नियन्त्रण गर्न सक्षम हुन्छन्। बाक्लो ढुंगाको पर्खाल र माटाको प्रयोगले जाडोमा घरभित्र न्यानोपन कायम राख्न र गर्मी याममा चिसो बनाउन मद्दत गर्छ। साथै, हिमाली गाउँको मौलिक स्वरूप जोगाउने यिनै घरहरू सांस्कृतिक तथा पर्यटनका दृष्टिले पनि महत्त्वपूर्ण सम्पदा मानिन्छन्। मौलिक बस्ती अवलोकन गर्न आउने स्वदेशी-विदेशी पर्यटकका लागि यस्ता घरहरू गाउँका प्रमुख आकर्षण हुन्। यी घर लोप हुँदै जाँदा हिमाली बस्तीको मौलिक स्वरूपसँगै सांस्कृतिक सम्पदा पनि हराउने जोखिम बढ्दै गएको छ।

ङिस्याङ गाउँपालिकाको ग्यारु गाउँमा ढुंगा, माटो र काठबाट बनेका परम्परागत मौलिक घर।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)का प्रमुख रविन कडरियाका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घटेको, वर्षा बढेको र माटोका छाना चुहिने समस्या बढेकाले परम्परागत घरको मर्मतसम्भार कठिन र खर्चिलो बन्दै गएको छ। “यिनै कारणले स्थानीयहरू रहरले भन्दा पनि बाध्यात्मक परिस्थितिका कारण कंक्रिट र टिनका आधुनिक घर निर्माण गर्न बाध्य भइरहेका छन्,” उनी भन्छन्।
कडरिया परम्परागत घरको संरक्षणले पुराना भवन जोगाउने मात्र नभई हिमाली समुदायको इतिहास, संस्कृति, परम्परागत निर्माण प्रविधि, पर्यटनको आधार र भावी पुस्ताका लागि मौलिक पहिचान सुरक्षित राख्ने काम पनि गर्ने बताउँछन्। “मौलिक बस्ती संरक्षण गर्न सकियो भने त्यो केवल एउटा गाउँको संरक्षण होइन, हिमाली सभ्यता र सांस्कृतिक सम्पदाको पनि संरक्षण हुनेछ,” उनी भन्छन्।
तथ्यांकले देखाउने जलवायु तस्बिर
जल तथा मौसम विज्ञान विभागको हुम्दे मौसम केन्द्रको तथ्यांकले मनाङमा जलवायु परिवर्तनको प्रभाव एउटै सूचकबाट मात्र मापन गर्न नसकिने देखाउँछ। दिनको अधिकतम तापक्रममा दीर्घकालीन रूपमा निरन्तर वृद्धि नदेखिए पनि रातको न्यूनतम तापक्रम पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ। त्यस्तै, वर्षाको मात्रा र यसको वितरणमा पनि अस्थिरता देखिन थालेको छ।
हुम्देमा अधिकतम तापक्रमको दीर्घकालीन औसत १४.२ डिग्री सेल्सियस छ। सन् २०१५ (१५.९५ डिग्री सेल्सियस) र २०१९ (१५.३० डिग्री सेल्सियस) सामान्यभन्दा बढी तातो वर्षका रूपमा देखिन्छन्। त्यसविपरीत २०१८, २०२०, २०२१, २०२३ र २०२४ मा अधिकतम तापक्रम औसतभन्दा कम मापन भएको छ। यसले दिनको तापक्रम निरन्तर बढिरहेको भन्दा पनि वर्षअनुसार उतारचढाव बढ्दै गएको संकेत गर्छ। सन् २०२६ को १०.९० डिग्री सेल्सियसको तथ्यांक भने पूरा वर्षको अभिलेख नभएकाले अघिल्ला वर्षसँग प्रत्यक्ष तुलना गर्न उपयुक्त हुँदैन।
तथ्यांकले मनाङभित्रै वर्षाको वितरणमा पनि ठूलो भिन्नता रहेको देखाउँछ। ताल, गोगा र तिल्चे क्षेत्रमा तुलनात्मक रूपमा धेरै वर्षा हुने गरेको छ भने हुम्दे र मनाङ गाउँ क्षेत्र अपेक्षाकृत सुक्खा छन्। यसले जलवायु परिवर्तनको प्रभाव एउटै जिल्लाभित्र पनि स्थानअनुसार फरक फरक रूपमा देखिएको संकेत गर्छ।
न्यूनतम तापक्रमको अवस्था भने फरक देखिन्छ। यसको दीर्घकालीन औसत ०.२ डिग्री सेल्सियस रहे पनि सन् २०१९ देखि २०२५ सम्म अधिकांश वर्षमा न्यूनतम तापक्रम औसतभन्दा माथि रहेको छ। सन् २०२२ मा २.०४ डिग्री सेल्सियस, २०२४ मा १.५२ डिग्री सेल्सियस र २०२५ मा १.७२ डिग्री सेल्सियस मापन गरिएको छ। यसले मनाङमा रात र बिहानको चिसोपन घट्दै गएको तथा हिमाली क्षेत्र क्रमशः न्यानो बन्दै गएको संकेत गर्छ। सन् २०१७ र २०१८ भने तुलनात्मक रूपमा बढी चिसा वर्षका रूपमा देखिन्छन्।
वर्षाको तथ्यांकले पनि मनाङमा वर्षाको मात्रा वर्षअनुसार निकै फरक हुने देखाउँछ। सन् २०१७, २०१९, २०२० र २०२१ मा औसत वर्षा ९०० मिलिमिटरभन्दा बढी पुगेको थियो। पछिल्ला वर्षहरूमा उपलब्ध तथ्यांकअनुसार सन् २०२४ र २०२५ मा वर्षा उल्लेखनीय रूपमा कम देखिए पनि ती वर्षका केही मौसम केन्द्रको अभिलेख अपूर्ण भएकाले त्यसलाई अन्तिम निष्कर्षका रूपमा लिन सकिँदैन।
तथ्यांकले मनाङभित्रै वर्षाको वितरणमा पनि ठूलो भिन्नता रहेको देखाउँछ। ताल, गोगा र तिल्चे क्षेत्रमा तुलनात्मक रूपमा धेरै वर्षा हुने गरेको छ भने हुम्दे र मनाङ गाउँ क्षेत्र अपेक्षाकृत सुक्खा छन्। यसले जलवायु परिवर्तनको प्रभाव एउटै जिल्लाभित्र पनि स्थानअनुसार फरक फरक रूपमा देखिएको संकेत गर्छ।
जल तथा मौसम विज्ञान विभागका मेटियोरोलोजिस्ट अशोक बख्रेलका अनुसार जलवायु परिवर्तनको प्रभाव मूल्यांकन गर्दा अधिकतम तापक्रम मात्र हेरेर निष्कर्ष निकाल्न मिल्दैन। न्यूनतम तापक्रम, वर्षाको मात्रा, वर्षाको वितरण र दीर्घकालीन प्रवृत्तिलाई समग्र रूपमा विश्लेषण गर्न आवश्यक हुन्छ। मनाङको तथ्यांकले पनि जलवायु परिवर्तनका प्रभाव स्थान र सूचकअनुसार फरक फरक रूपमा देखिएको संकेत गरेको उनी बताउँछन्।
जलवायु परिवर्तनले हिमालको प्राकृतिक स्वरूप मात्रै बदलिइरहेको छैन, पुस्तौँदेखि मनाङको पहिचान बनेको मौलिक वास्तुकलालाई पनि संकटमा पारिरहेको छ। संरक्षणका ठोस पहल नहुने हो भने हिमाली सभ्यताको महत्त्वपूर्ण सम्पदा मानिने ढुंगा र माटाका घर अब पुराना तस्बिर र सम्झनामै सीमित हुने जोखिम छ।