काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

समाज

मधेसका कतिपय रेस्टुराँ तथा होटलमा फोहोर भान्सा, अखाद्य सामग्री र खाद्य सुरक्षा मापदण्ड उल्लंघन

५ श्रावण २०८३
जनकपुरधामस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मिथिला थाली रेस्टुराँ र रामानन्द चोकमा खुला स्थानमा पकाइएका परिकार। तस्बिरहरू : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। जनकपुरधामको व्यस्त रामानन्द चोकस्थित मिथिला थाली रेस्टुराँ मिथिलाका रैथाने परिकारका लागि परिचित छ। प्रवेशद्वारमा राखिएको मिथिला चित्रकला र भित्री सजावटले स्थानीय कला-संस्कृतिको झल्को दिन्छ। मिथिला खानाको स्वाद लिन दिनहुँ ग्राहक त्यहाँ पुग्छन्।

तर, बाहिरको आकर्षणसँग रेस्टुराँको भान्साको अवस्था मेल नखाएको सरकारी अनुगमन टोलीको निष्कर्ष छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामका अनुसार रेस्टुराँको खानामा मरेको झिँगा भेटिएको भन्दै उजुरी परेको थियो। त्यसपछि ४ असारमा गरिएको अनुगमनमा भान्सामा झिँगा पस्ने सम्भावना देखिएको र सरसफाइ सुधार गर्न लिखित निर्देशन दिइएको कार्यालयले जनाएको छ।

११ असारमा पुनः अनुगमन गर्दा पनि निर्देशनअनुसार सुधार नभएपछि रेस्टुराँलाई फेरि लिखित निर्देशन दिइएको थियो।

२२ असारमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, स्थानीय प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोली तेस्रो पटक रेस्टुराँ पुगेको थियो।

त्यसक्रममा बुनियाँ बनाउन तयार पारिएको पिठोको घोलमा खानामा प्रयोग गर्न नमिल्ने रङ मिसाइएको पाइएको कार्यालयले जनाएको छ। अनुगमन टोलीले करिब पाँच किलो घोल नष्ट गरेको थियो।

निरीक्षणका क्रममा भान्साको सरसफाइ कमजोर रहेको, खाना पकाउने र भाँडा माझ्ने ठाउँ एकै स्थानमा रहेको तथा यसअघि दिइएका निर्देशन पालना नभएको पाइएको कार्यालयको भनाइ छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सहायक प्रमुख जिल्ला अधिकारीमार्फत रेस्टुराँलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो।

परीक्षणमा अयोग्य माछामासु

धनुषाको लालगढस्थित बौवा होटल माछा र मासुका परिकारका लागि परिचित छ। पूर्व-पश्चिम राजमार्गमा पर्ने भएकाले स्थानीयसँगै लामो दूरीका यात्रु पनि खाना खान त्यहाँ रोकिन्छन्।

तर, १७ असारमा गरिएको अनुगमनमा होटलमा प्रयोग भइरहेको तेल तथा बिक्रीका लागि राखिएको माछामासुको गुणस्तरमा समस्या देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधाम।

कार्यालयका अनुसार बिक्रीका लागि राखिएको करिब १५ किलो माछा तथा मासुको प्रारम्भिक परीक्षण गरिएको थियो। परीक्षणपछि ती खाद्यवस्तु बिक्री तथा उपभोगका लागि अनुपयुक्त ठहर गरिएको कार्यालयको भनाइ छ।

त्यसपछि होटल सञ्चालकलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। अनुगमनका क्रममा होटल तथा रेस्टुराँमा एउटै तेल पटक पटक तताएर परिकार पकाउने प्रवृत्ति पनि देखिएको कार्यालयले जनाएको छ। लामो समयसम्म वा पटक पटक तताइएको तेलको प्रयोगले स्वास्थ्य जोखिम बढाउन सक्ने चिकित्सकहरू बताउँछन्।

 नौ दिनमा २९ होटललाई जरिवाना

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार १६–२४ असारमा मधेसका विभिन्न स्थानमा ६८ होटल तथा खाद्य प्रतिष्ठानको अनुगमन गरिएको थियो। तीमध्ये २९ वटालाई कुल १० लाख ८७ हजार रुपैयाँ जरिवाना गरिएको छ।

१६ असारमा मिथिला नगरपालिकाका नौ होटलमा अनुगमन गर्दा एउटा होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। १७ असारमा मिथिला बिहारी नगरपालिकाका आठ होटलमा अनुगमन गरिए पनि कुनै होटललाई जरिवाना गरिएको थिएन। १८ असारमा मिथिला नगरपालिका, लक्ष्मीनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाका १० होटलमा अनुगमन गरिएको थियो। तीमध्ये चार होटललाई कुल एक लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख विमलकुमार दाहाल।

१९ असारमा जनकपुरधामका नौ होटलमध्ये पाँच वटालाई कुल एक लाख ९५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। २२ असारमा जनकपुरधामका आठ होटलमा अनुगमन गर्दा दुई वटालाई २५-२५ हजार रुपैयाँका दरले कुल ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो।

२३ असारमा सर्लाहीको लालबन्दी र हरिवनका १४ होटलमा अनुगमन गरिएको थियो। तीमध्ये नौ वटालाई कुल तीन लाख ९७ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ।

२४ असारमा मलंगवाका १० होटलमध्ये आठ वटालाई कुल दुई लाख ७० हजार रुपैयाँ जरिवाना गरिएको थियो।

अनुगमनका क्रममा भान्साको सरसफाइ, खाद्यवस्तुको भण्डारण, प्रयोग भइरहेको तेल र पकाइएका परिकार राख्ने तरिकामा समस्या देखिएको कार्यालयको भनाइ छ। 

खुला खाना, फोहोर भान्सा

मधेसका कतिपय होटलमा पकाइएका परिकार खुला रूपमा राख्ने गरिएको अनुगमन टोलीले जनाएको छ। यसरी राखिएका खाना धुलो, झिँगा र अन्य प्रदूषणको सम्पर्कमा आउने जोखिम हुन्छ।

जनकपुरधाम उपमहानगरपालिका-३ का श्याम पूर्वे अस्पताल रोडको एउटा होटलमा खाना खान जाँदा फोहोर देखिएको बताउँछन्। “होटल सञ्चालकलाई सरसफाइबारे जानकारी गराएँ,” उनी भन्छन्, “तर उनले खान मन भए खानुस्, नभए जानुस् भनेर जवाफ दिए।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामका प्रमुख विमलकुमार दाहालका अनुसार अनुगमन गरिएका धेरै होटलमा खाना खुला रूपमा राखिएको र भान्साको सरसफाइ कमजोर पाइएको छ।

जनकपुरधामको मिथिला थाली रेस्टुराँ।

“धेरै होटलमा भान्सा फोहोर छन्। खाना पकाउँदा स्वच्छतामा ध्यान नदिँदा उपभोक्ताको स्वास्थ्यमा समस्या आउन सक्छ,” उनी भन्छन्, “हामी पहिलो पटक सुधारका लागि निर्देशन दिन्छौँ। त्यसपछि पनि सुधार नगरे जरिवानासहित कारबाही गर्छौं।” पटक पटक निर्देशन दिँदा पनि केही होटलले सुधारमा ध्यान नदिएको उनको भनाइ छ।

कतिपय साना तथा मझौला होटलमा शौचालय र खाना पकाउने ठाउँबीच पर्याप्त दूरी नरहेको अनुगमन टोलीले जनाएको छ। केही भान्सामा झिँगा, मुसा र साङ्लाको समस्या पनि देखिएको टोलीको भनाइ छ।

दाहाल उपभोक्ताले पनि होटलको सरसफाइ, भान्साको अवस्था र खाना राख्ने तरिका हेर्नुपर्ने बताउँछन्।

“होटल सफा छ कि छैन भन्नेमा उपभोक्ता पनि सचेत हुनुपर्छ,” उनी भन्छन्, “फोहोर ठाउँमा तयार पारिएको खानाले रोगको जोखिम बढाउन सक्छ।”

पटक पटक तताइएको तेलबाट जोखिम

चिकित्सक डा. विजयकुमार सिंह अस्वस्थकर खानपानले पाचन प्रणाली, मुटु र अन्य स्वास्थ्य जोखिम बढाउने बताउँछन्। उनका अनुसार एउटै तेललाई पटक पटक उच्च तापक्रममा तताएर बनाइएका परिकार नियमित सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। “पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक र मुटुसम्बन्धी रोगमा अस्वस्थकर खानपानको भूमिका हुन्छ,” उनी भन्छन्, “विशेषगरी पटक पटक तताइएको तेलको प्रयोगबाट जोगिनुपर्छ।”

लामो समय फ्रिज वा डिपफ्रिजमा राखिएका माछामासुको तापक्रम, भण्डारण अवधि र अवस्थाबारे पनि होटल सञ्चालकले ध्यान दिनुपर्ने उनी बताउँछन्। मसला वा रङ प्रयोग गर्दैमा बिग्रिएको खाद्यवस्तु सुरक्षित नहुने भएकाले म्याद, गन्ध, रङ र भण्डारण अवस्थाको नियमित जाँच आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

 

जनकपुरधाम प्रादेशिक अस्पतालका प्रमुख डा. जामुन सिंहका अनुसार अस्पतालमा पेटसम्बन्धी समस्या लिएर दैनिक ठूलो संख्यामा बिरामी आउने गरेका छन्। अस्वस्थकर खानपान र दूषित पानी पेटसम्बन्धी समस्याका प्रमुख कारणमध्ये रहेको उनी बताउँछन्।

जनकपुरधामको रामानन्द चोकमा खुला स्थानमा पकाइएका परिकार।

होटलको खाना खाएकै कारण कति बिरामी अस्पताल पुगेका हुन् भन्ने छुट्टै तथ्यांक अस्पतालसँग छैन। तर, खानाको स्वच्छता र सुरक्षित पानीमा ध्यान नदिँदा झाडापखाला, पेट दुख्ने, बान्ता र अन्य संक्रमणको जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो राजमार्ग, अस्पताल क्षेत्र र मानिसको चाप बढी हुने स्थानका होटलमा अनुगमन केन्द्रित गरिएको बताउँछन्।

“अनुगमनका क्रममा धेरै होटलमा खानामा प्रयोग गर्न नमिल्ने वस्तु र सरसफाइको कमजोर अवस्था देखिएको छ,” नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने छुट कसैलाई नभएकोमा जोड दिँदै उनी भन्छन्, “पहिलो पटक सुधार गर्न निर्देशन दिन्छौँ। दोस्रो पटक पनि सुधार नदेखिए थप कडा कारबाही हुन्छ।”