काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

काठमाडौँ। प्रहरीले पोखराको स्नोकर हाउसबाट ब्राउनसुगरसहित कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो पोखराको टोलीले बुधबार र बिहीबार पोखरा महानगरपालिका-१५ बाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१० का ३८ वर्षीय रुमबहादुर थापा, ३७ वर्षीय गोविन्द थापा र बाँके कोहलपुर नगरपालिका-१४ का ३२ वर्षीय सुरज सुनार रहेका छन्। थापा पोखरा महानगरपालिका-१५ मा रहेको स्नोकर हाउसका सञ्चालक हुन्।

उनीहरूको साथबाट ११२.५३ ग्राम ब्राउनसुगर बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए। सुनार लागुऔषध खरिदका लागि काँकडभिट्टा पारि भारत पानीट्यांकी पुग्ने गरेको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए।

गोविन्द भने यसअघि लागुऔषध मुद्दामा ३० महिना कैद र डेढ लाख जरिवाना सजाय पाई कारागारबाट छुटेका व्यक्ति हुन्। पक्राउ परेकाको साथबाट प्रहरीले नगद ६ लाख ७ हजार र ब्राउनसुगर तौलिने तराजु बरामद गरेको छ।

यस्तै, मोरङ प्रहरीले १९६.४०० ग्राम ब्राउनसुगरसहित बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पथरी शनिश्चरे नगरपालिका-१० मंगलबारेका ३३ वर्षीय ३६ वर्षीय मोतिराज लिम्बु र रंगेली नगरपालिका-६ का ३३ वर्षीय मिथुन साहलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यसैबीच, प्रहरीले ३६.११ ग्राम ब्राउनसुगरसहित सुन्दरहरैंचा नगरपालिका-१औ का भानुभक्त लिम्बु, विप्लव परियार, किरण राईलाई पक्राउ गरेको छ।