काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
अ+
अ-

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय महाेत्तरीले नगर प्रहरीलाई पक्राउ गरेको विरोधमा गौशाला नगरपालिकाका कर्मचारीले नगरपालिका तथा मातहतका कार्यालयहरू बन्द गरेका छन्।

बिहीबार प्रहरीले निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तीकुमारी पाण्डेलाई हातपात गरेको आरोपमा ८ जना नगर प्रहरीलाई पक्राउ गरेपछि त्यसको विरोधमा कर्मचारीहरुले स्वास्थ्य कार्यालय, विद्यालयलगायत वडा कार्यालयहरु बन्द गरेको हो।

नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै गौशाला नगरपालिकाका कर्मचारीहरुले प्रहरीले कार्यालयमा प्रवेश गरेर नगर प्रहरीलाई धरपकड शैलीमा हिरासतमा लिएकाले सो कदमको विरोध जनाउँदै नगरपालिका र मातहतका कार्लालयहरू बन्द गरिएको ‍उल्लेख गरेका छन्।

उनीहरुले विज्ञप्ती मार्फत हिरासतमा रहेका नगर प्रहरीलाई रिहाई नगरेसम्म र नगरपालिका र मातहतका कार्यालयको कर्मचारीको सम्बन्धित निकायबाट सुरक्षाको प्रत्याभुति नभएसम्म नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले सेवा प्रवाह गर्न नसक्ने जनाएका छन्।

नगर प्रहरी पक्राउ परेको घटनामा १२ मध्ये ५ वडाका वडाध्यक्षले आपत्ति जनाएका थिए। उनीहरुले संविधानमा नगर प्रहरीको व्यवस्था, व्यवस्थापन तथा स्थानीय प्रशासन सञ्चालन गर्ने संवैधानिक अधिकार रहेकोमा नगर प्रहरीलाई पक्राउ गर्नु संघीयताको मर्म विपरित र असंवैधानिक रहेको दावी गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पन्चलाल गोलेले पक्राउ परेका नगरप्रहरी विरुद्ध कुन मुद्दा दर्ता गर्ने त्यसमा छलफल भइरहेको बताए।