२० असार २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिमा भएका सुधारात्मक कार्यबाट जनतामा सकारात्मक सन्देश गएको जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार १०० दिने कार्यअवधिमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न संरचनाहरू खारेजी र समायोजनबाट खर्च कटौतीदेखि राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी संगठन खारेजीलगायत सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताएका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए। उनले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब २० अर्ब रुपैयाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको बताए।

प्रवक्ता पोखरेलले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको जानकारी दिए। १०० बुँदे कार्यसूचीको ७० वटा बुँदा कार्यान्वयन भइसकेको भन्दै उनले बाँकी विषयको कार्यप्रगति पनि सन्तोषजनक रहेको धारणा राखे।

उनले संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको संयोजकत्वमा कार्यदल गठन गरी परामर्श प्रक्रिया सम्पन्न गरिएको र मस्यौदा लेखन कार्य भइरहेको पनि जानकारी गराए। साथै सरकारले विधेयकमा मल, औषधि र सूचना प्रविधिजस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिनेलगायतको व्यवस्था गरिएको पनि उनले बताए।

तथ्य, अनुसन्धान र प्रमाणमा आधारित गुणस्तरीय नीति निर्माण सुनिश्चित गर्न राष्ट्रिय नीति तर्जुमा तथा नीति परीक्षणको एकीकृत ढाँचा कार्यान्वयनमा ल्याइएको र यसले नीतिनिर्माण प्रक्रियामा एकरूपता, पारदर्शिता तथा कार्यान्वयन प्रभावकारिता सुदृढ गरेको प्रवक्ता पोखरेलले बताए।

त्यस्तै सरकारको सय दिनमा नीतिगत सुधारअन्तर्गत विभिन्न १७ वटा कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। १४ वटा विधेयकको तर्जुमा गर्नुका साथै यसका लागि सहमति प्रदान गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।