काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो।
अभियुक्त पन्तले एकजना बेरोजगार युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख र खत्रीले दुबई पठाउने बहानामा ६ जनाबाट २३ लाख रुपैयाँ असुलेको प्रहरीको दाबी छ। दुवै अभियुक्तलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग चलान गरिएको छ।
यसैबीच नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।