किन्शासा। ‘डेमोक्रेटिक रिपब्लिक अफ द कंगो ’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ भने मृतकको सङ्ख्या ४९२ पुगेको छ।
कंगोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन्। यसका साथै १८५ जना शंकास्पद बिरामीको पनि पहिचान गरिएको छ।
प्रतिवेदनमा पछिल्ला सातामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ। महामारीको गणनाअनुसार २५औँ र २६औँ सातामा प्रत्येक सातामा ३०० भन्दाबढी नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ। यसले समुदायस्तरमा सङ्क्रमण अझै सक्रिय रूपमा फैलिरहेको संकेत गरेको अधिकारीले बताएका छन्।
प्रतिवेदनमा मृत्युपश्चात् नमूना सङ्कलनमा समुदायको असहयोग तथा विशेषगरी उत्तर किभुमा रहेका इबोला उपचार केन्द्रको सीमित क्षमतालगायतका चुनौती उल्लेख गरिएको छ।
सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको प्रभावकारी खोजी गर्न नसकिएको अवस्था र प्रयोगशाला परीक्षणमा हुने ढिलाइले पनि सङ्क्रमण नियन्त्रणमा कठिनाइ उत्पन्न गरेको जनाइएको छ। साथै, औषधि तथा सङ्क्रमण नियन्त्रणसम्बन्धी सामग्रीको अभाव, असुरक्षा र प्रभावित केही क्षेत्रमा सीमित पहुँचका कारण महामारी नियन्त्रण प्रयास प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनाएअनुसार ‘बुन्डिबुग्यो’ भाइरसबाट हुने इबोलाको सम्भावित उपचारको प्रभावकारिता मूल्यांकन गर्न कंगोमा क्लिनिकल परीक्षण सुरु गरिएको छ।
उक्त भाइरसका कारण हुने इबोलाका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन।