‘क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सहभागी हुनू’
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सहभागी हुन आफ्ना नेता-कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
सदस्यता व्यवस्थापन केन्द्रीय समिति संयोजकसमेत रहेका पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देखिएको विवाद अन्त्य भएको बताए। कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रमअन्तर्गत युवासँग आइतबार गरिएको अन्तर्क्रियामा उनले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नुपर्ने बताए। उनले आगामी १५औँ महाधिवेशनलाई विधिसम्मत ढंगले सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले नेतृत्व तहलाई सम्मान गर्न आफूहरू सधैँ तयार रहेको तर विधिको दायरा र सीमालाई कसैले पनि मिच्न नहुने स्पष्ट पारे। महामन्त्री पौडेलले पार्टीभित्र रहेका संस्थापन र इतर दुवै पक्षका नेता-कार्यकर्ताले अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने धारणा राखे।
पौडेलले सदस्यता अद्यावधिकलाई लिएर अनावश्यक भ्रम फैलाइएको उल्लेख गर्दै यसको उद्देश्य पुराना सदस्यलाई हटाउनु नभई उनीहरूको विवरण अद्यावधिक गरी एकीकृत अभिलेख तयार गर्नु रहेको स्पष्ट पारे।
उनले सरकार गठन भएको १०० दिन पुग्दा पनि सरकारले जनतामा विश्वास जगाउनुको साटो अनेकन् आशंका र संशय मात्रै जन्माउने काम गरेको आरोप लगाए। जनताले जुन लोकतान्त्रिक र संसदीय व्यवस्थाबाट रास्वपालाई निर्वाचित गरेर पठाए, सरकारमा पुगेपछि उनीहरूले त्यही व्यवस्था र जगलाई भत्काउने गरी महाधिवेशनबाट नीति पास गरेको भन्दै आपत्ति जनाए।
उनले रास्वपाले संघीयता खारेज गर्नेजस्ता व्यवस्था र संविधानविरोधी निर्णयहरू गरिरहेको आरोप लगाए। वालेन्द्र शाह र रास्वपा नेतृत्वले चुनावका बेला एउटा र सत्तामा पुगेपछि अर्कै चरित्र देखाएको उनको आरोप छ। उनले लोकतान्त्रिक र संसदीय व्यवस्थाकै बलमा आएर त्यही विचार र प्रणाली सिध्याउने खेल खेलिएको भन्दै सरकारको १०० दिने कार्यकाल पूर्ण रूपमा शंकास्पद रहेको दाबी गरे।