प्रतिनिधिसभा बैठक
काठमाडौँ। सांसदहरूले कर्णालीमा भएको सवारीसाधन दुर्घटनापछि उद्धारमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा बैठकमा सोमबार उनीहरूले कर्णाली राजमार्गमा भएको सवारीसाधन दुर्घटनापछि समयमै उद्धार हुन नसकेको भन्दै उद्धारमा भएको ढिलाइबारे सरकारलाई रुलिङ गर्न माग गरे।
बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले सुर्खेतबाट कालीकोट जाँदै गरेको गाडी दुर्घटनापछि समयमै उद्धार हुन नसकेको बताइन्।
उनले घटना भएको यत्तिका दिन बित्दा पनि राज्यका तर्फबाट घटनाको यकिन तथ्य र विवरण आउन नसक्नु अत्यन्तै खेदजनक रहेको बताइन्। साथै थापाले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि सरकारको ध्यानाकर्षण गराइन्।
त्यस्तै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले मन्त्रीहरू हेलिकोप्टरमा सयर गर्ने तर कर्णालीका नागरिक नदीमा डुब्दा र विपद्मा पर्दा राज्य अनुपस्थित रहने गरेको बताए।
कर्णालीमा खसेको गाडी र बेपत्ता यात्रुको खोजी तथा उद्धारमा ढिलाइ भएको भन्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा उद्धारमा भएको ढिलाइबारे रुलिङको माग गरे। शाहीले कर्णालीका जनतामाथि विभेदपूर्ण व्यवहार हुँदै आएको भन्दै दुर्गम क्षेत्रका नागरिकप्रति समेत सरकार गम्भीर नदेखिएको धारणा राखे।
सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन