विराटनगर। कोसी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ बहुमतले पारित भएको छ।
सो विधेयक कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सदनमा पारित गरियोस् भनी गरेको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो।
यसअघि उक्त विधेयकमा कोशी प्रदेशसभा सदस्य गोम्बू शेर्पा र सपना दर्जीले बेग्लाबेग्लै शीर्षकमा खर्च कटौतीका लागि गर्नु भएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
यसैगरी, ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री लिथेपले सो विधेयक पारित गरियोस् भनी सदनमा गरेको प्रस्तावमा सभामुख विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो। प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।