सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र तीन राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
असार २४ गते राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई रोकेर चेकजाँच गरेको थियो। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७ रानी बस्तीका ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८ अशोक चोकका ३२ वर्षीय इम्रान खान रहेका छन्।
प्रहरीका अनुसार चेकजाँचका क्रममा नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको हो । दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ। उनीहरूमाथि हतियारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।