काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
अ+
अ-

कञ्चनपुर। मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै बेलौरी नगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ।

उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी खोला–नाला सरसफाइ, उद्धार सामग्री व्यवस्थापन, स्वयंसेवक परिचालन र विपद् प्रतिकार्य योजनालाई कार्यान्वयनमा ल्याइएको छ।

नगरपालिकाको विपद् शाखाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयका अनुसार दोदा र महाकाली नदीसँग जोडिएका वडा बाढी तथा डुबानको उच्च जोखिममा छन्।

विशेषगरी वडा नम्बर ५ सबैभन्दा बढी जोखिममा रहेको छ भने वडा नम्बर २, ६, ८ र १० पनि डुबानको जोखिममा रहेका छन्। ती क्षेत्रका करिब एक हजार ५०० भन्दा बढी परिवार सम्भावित डुबानको उच्च जोखिममा रहेका छन्।

सम्भावित विपद्को सूचना छिटो आदान–प्रदान गर्न समुदायस्तरीय विपद् व्यवस्थापन समिति (सिडीएमसी)लाई सक्रिय बनाइएको छ। समितिमा आबद्ध व्यक्तिहरूको वाट्सएप समूह गठन गरी बाढी वा अन्य विपद्को सूचना तत्काल प्रवाह तथा उद्धार टोली परिचालन गर्न सकिने व्यवस्था मिलाइएको पाण्डेयले जानकारी दिए।

विपद् सम्पर्क व्यक्ति पाण्डेयका अनुसार नगरपालिकाले सबै वडामा विपद्का बेला आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गरिसकेको छ। खोज तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई एक–एक थान रबर बोट उपलब्ध गराइएको छ।

साथै आपत्कालीन सञ्चालन केन्द्र सञ्चालनमा ल्याइनुका साथै राहत तथा उद्धार सामग्री भण्डारणका लागि गोदामघरको व्यवस्था गरिएको छ। विपद्को सामना गर्न नगरपालिकाले रु ५९ लाखको विपद् कोष स्थापना गरेको छ।

उक्त कोषमा जनप्रतिनिधि र कर्मचारीहरूले एक दिनको पारिश्रमिकस्वरूप रु एक लाख ७७ हजार ५५५ योगदान गरेका छन्।

कोषको रकम विपद् प्रतिकार्य, राहत वितरण, क्षतिग्रस्त घर पुनर्निर्माण तथा विपद्पछि फैलिन सक्ने महामारी नियन्त्रणमा खर्च गरिने व्यवस्था मिलाइएको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन २१ दिने तालिमप्राप्त २९ जना स्वयंसेवक समेत तयारी अवस्थामा राखिएको छ। पूर्वसूचना, प्राथमिक उपचार, खोज तथा उद्धारलगायतका टोली गठन गरी प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताइएको छ।

नगरपालिकाभित्र पर्ने नकैया नालामा बाँध निर्माणका साथै अवरुद्ध नाला तथा पानी निकासका संरचनाको सरसफाइलाई तीव्रता दिइएको छ।

पाण्डेयका अनुसार होचा स्थानमा बनेका घर र सडक निर्माणसँगै पानीको प्राकृतिक बहाव अवरुद्ध हुनु तथा अधिकांश क्षेत्रमा व्यवस्थित ढल र नगरपालिकाका सबै क्षेत्रमा ड्रेनेज प्रणालीको व्यवस्था नहुनुका कारण सामान्य वर्षामै समेत डुबानको समस्या देखिने गरेको छ।

नगरपालिकाले मनसुन अवधिभर सबै सरोकारवाला निकायसँग समन्वय गर्दै सम्भावित विपद्को क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई अझ प्रभावकारी बनाउने जनाएको छ।