काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
अ+
अ-

काठमाडौँ । फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँग भिड्नुअघि मोरक्कोलाई ठूलो धक्का लागेको छ। टोलीका प्रमुख स्ट्राइकर इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटका कारण निर्णायक खेलबाट बाहिरिएका छन्।

मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद उआहबीले साइबारी समयमै फिट हुन नसकेको पुष्टि गर्दै उनी फ्रान्सविरुद्ध मैदान उत्रन नसक्ने बताएका छन्। क्यानडाविरुद्धको अन्तिम–१६ को खेलमा घाइते भएका साइबारीको स्वास्थ्यमा सुधार भए पनि क्वार्टरफाइनल खेल्न पर्याप्त नभएको प्रशिक्षकको भनाइ छ। यद्यपि, मोरक्को सेमिफाइनलमा पुगेमा उनको पुनरागमनको सम्भावना रहेको छ।

हालै डच क्लब पीएसभी आइन्डहोभेनबाट जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएका साइबारी प्रतियोगितामा मोरक्कोका उत्कृष्ट खेलाडीमध्ये एक मानिएका छन्। उनले समूह चरणका तीनै खेलमा गोल गरेका थिए भने नेदरल्यान्ड्सविरुद्धको पेनाल्टी सुटआउटमा निर्णायक गोल पनि गरेका थिए।

साइबारीको अनुपस्थितिमा सुफियान रहिमीले सुरुआती टोलीमा स्थान बनाउने सम्भावना बढेको छ। रहिमीले क्यानडाविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए।

मोरक्को सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्ससँग २–० को हारको बदला लिने लक्ष्यसहित क्वार्टरफाइनलमा उत्रँदैछ। प्रशिक्षक उआहबीले टोलीको लक्ष्य सेमिफाइनलमा पुगेर मात्र नरोकिने, उपाधि जित्ने रहेको बताएका छन्।

यता, स्टार खेलाडी ब्राहिम डियाजले फ्रान्स प्रतियोगिताको प्रमुख दाबेदार भए पनि मोरक्कोसँग उनीहरूलाई चुनौती दिने पर्याप्त क्षमता रहेको भन्दै टोली पूर्ण आत्मविश्वासका साथ मैदान उत्रने बताएका छन्।