भुटानी शरणार्थी प्रकरण
काठमाडौँ। भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी‚ पूर्वगृहमन्त्री बालकृष्ण खाँड‚ शरणार्थी नेता टेकनाथ रिजालसहित १५ जना लिखत किर्तेमा दोषी ठहर भएका छन्।
राज्यविरुद्धको आरोपित कसुर सम्बन्धमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले १५ जनालाई दोषी ठहर गरेको छ भने सात जनालाई सफाइ दिएको छ।
खड्काको इजलासले रायमाझी‚ खाँड‚ रिजालसँगै केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे‚ नरेन्द्र केसी‚ शमशेर मियाँ‚ हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई मंगलबार दोषी ठहर गरेको हो।
यसैगरी रामशरण केसी‚ टंककुमार गुरुङ‚ सन्दीप रायमाझी‚ प्रतीक थापा‚ लक्ष्मी महर्जन‚ केशव तुलाधर र आशिष बुढाथोकीले भने सफाइ पाएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाइ करोडौँ रुपैयाँ ठगी गरिएको आरोपमा दर्ता भएको यस बहुचर्चित मुद्दामा लामो अनुसन्धान र सुनुवाइपछि अदालतले यस्तो फैसला सुनाएको हो।
सजाय निर्धारण अर्को पेसीमा हुने अदालतले जनाएको छ।

यो पनि…