विराटनगर। पोखरीमा डुबेर मृत्यु भएका किशोरको शव उठाउने क्रममा विराटनगरको १८ भेडियारी क्षेत्र तनावग्रस्त बनेको छ। मृतकका आफन्त र स्थानीयले शव उठाउन अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ।
मोरङ जहदा गाउँपालिका १ बुधनगरका १४ वर्षीय मञ्जितकुमार यादव शुक्रबार बिहान स्थानीय पोखरीमा मृत फेला परेका थिए। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लैजान खोज्दा स्थानीयले बाटो छेकेर प्रदर्शन गरेका थिए।
मृतकका आफन्त र स्थानीय बासिन्दाले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि कारबाही हुनुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शव उठाउन दिएका थिएनन्। आक्रोशित भीडले प्रहरी विरुद्ध नाराबाजी गर्दै अवरोध सिर्जना गरेपछि केही बेर सो क्षेत्र तनावपूर्ण बनेको थियो।
प्रदर्शनकारीहरूले माग पूरा नभएसम्म शव लैजान नदिने अडान राखेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। भीडलाई तितरबितर पारी शव अस्पताल लैजान प्रहरीले लाठी चार्जसमेत गरेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीको लाठी चार्जपछि प्रदर्शनकारीहरू भागेका थिए र अहिले स्थिति सामान्य बनेको छ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार शुक्रबार बिहान १० : ३० बजेतिर पोखरीको बीच भागमा यादवको शव तैरिरहेको अवस्थामा भेटिएको थियो। अहिले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ।
गत बुधबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा बोकेर जाँदै गर्दा प्रहरीले जाँच गर्न खोजेपछि यादव मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा हामफालेका थिए।
सोही दिन मोटरसाइकलको पछाडि सवार ४१ वर्षीय भारतीय नागरिक शिवधर यादवलाई ६ किलो १३० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।