काठमाडौँ। वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका ६ स्थायी घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका ५ बस्दै आएका ४६ वर्षीय लहानुराम चौधरी छन्।
प्रहरीका अनुसार चौधरीले क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ठूलो रकम असुली गरेका थिए। उनले २६ पीडितबाट करिब दुई करोड ५० लाख रुपैयाँ संकलन गरी सम्पर्कविहीन बनेपछि पीडितहरूले उजुरी दिएका थिए।
उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले चौधरीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
वैदेशिक रोजगारीको नाममा ठगीका घटना बढ्दो क्रममा रहेकाले यस्ता प्रलोभनमा नपर्न प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।