काठमाडौँ। आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबीच नौबुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आइतबार भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। सहमतिअनुसार गणेश नेपालीकी श्रीमतीलाई योग्यताअनुसार रोजगारीको व्यवस्था गरिने, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने, परिवारलाई आवश्यक राहत तथा सामाजिक सुरक्षा उपलब्ध गराउने, घटनाको निष्पक्ष छानबिन गर्ने पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने र दोषी देखिए कानुनबमोजिम कारबाही अघि बढाउने प्रतिबद्धता जनाइएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल।
साथै अन्य राहत, पुन:स्थापना र सहमतिका बुँदा कार्यान्वयनका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने सहमति जुटेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए।
सहमतिपछि परिवारले गणेश नेपालीको शव बुझ्ने सहमति जनाएको बताइएको छ। यसअघि पीडित पक्षले न्याय, निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गरिरहेको थियो।
