काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पौडेलको हिरासत अवधि थप तीन दिनका लागि बढाउने आदेश दिएको हो। योसँगै उनको हिरासत म्याद पाँचौँपटक थपिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। अनुसन्धान अझै पूरा नभएकाले विभागले थप हिरासत आवश्यक रहेको भन्दै अदालतसँग म्याद थपको माग गरेको थियो।
यसअघि विशेष अदालतले २४ असारमा पौडेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उनलाई ८ असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो। अनुसन्धान जारी रहेकाले अदालतले पुनः हिरासत अवधि थप गर्ने आदेश दिएको हो।
व्यवसायी दीपक भट्टसँग उनको संलग्नता देखिएपछि विभागले उनीमाथिको अनुसन्धानलाई गम्भीर रूपमा अघि बढाएको हो। भट्ट अहिले थुनामा छन्।
