काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्।
सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सेवा प्रभावित भएको छ।
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीपछि एकतर्फी सञ्चालनमा रहेको छ भने वैकल्पिक मार्गसमेत प्रयोगमा ल्याइएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध रहे पनि वैकल्पिक मार्गबाट सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै असार २२ गतेदेखि काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डको बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको छ। यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडक खण्ड पनि पहिरोका कारण बन्द रहेको छ।
लुम्बिनी प्रदेशमा रोल्पाको घोराही–रुकुम शहीद मार्ग, अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक र गुल्मीस्थित मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्ग भने पहिरो हटाइएपछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।