परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को २४ असारको निर्णयअनुसार उनीहरूलाई नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्षद्वयले आज (सोमबार) सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरे। प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिए।
नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए। सिफारिस समितिले अन्य उम्मेदवारभन्दा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढंगले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा घिमिरे र श्रेष्ठलाई नियुक्त गरिएको बताए। उनले नियामक निकायहरूले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।
सञ्चार क्षेत्रलाई बलियो बनाउन सकिए त्यसबाट सबैभन्दा बढी लाभ सञ्चारजगतले नै लिने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले त्यसका लागि काउन्सिलले आवश्यक सकारात्मक हस्तक्षेप गर्नुपर्नेसमेत बताए। पुराना कानुन समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उनले उल्लेख गरे।
प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त श्रेष्ठले सञ्चारमाध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए। पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने उनले बताए। सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा काउन्सिल सक्रिय रहने बताए।
त्यसैगरी प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी-कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार तथा सुशासनका लागि काम गर्ने उनले बताए। उनले नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने उल्लेख गर्दै आवश्यक निर्णय लिन आफू दृढतापूर्वक अघि बढ्ने उल्लेख गरे।