मुख्य सञ्चालकसहित आठजना पक्राउ, भारतसँग जोडिएको सञ्जालको २७औँ शाखा भएको प्रहरीको प्रारम्भिक निष्कर्ष
पोखरा। पर्यटकीय नगर पोखराबाट अनलाइन जुवा तथा सट्टेबाजी सञ्चालन भइरहेको खुलेको छ। कास्की प्रहरीले पोखरा महानगरपालिका १८‚ सेदीस्थित एक घरमा छापा मारेर अनलाइन बेटिङ सञ्चालन गर्ने गिरोहमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त समूहले २० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।
घरभित्रै चलिरहेको थियो अनलाइन सट्टेबाजीको कारोबार
कास्की प्रहरीले २६ असारको बिहान गोप्य सूचनाका आधारमा संयुक्त टोली परिचालन गरी सेदीस्थित जीवन श्रेष्ठको घरमा छापा हानेको थियो। गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घरमा जाँच गर्दा अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार पक्राउ परेकाहरूले अनलाइन माध्यमबाट विभिन्न खेलमा सट्टा लगाउने र रकम संकलन गर्ने काम गर्दै आएका थिए।
सातकोठे घरमा ‘बेटिङ सेन्टर’
प्रहरीका अनुसार उक्त समूहले गत १८ वैशाखदेखि सातकोठे घर भाडामा लिएर अनलाइन सट्टेबाजीको कारोबार सञ्चालन गर्दै आएको थियो।
उनीहरूले टेलिग्राम र ह्वाट्सएपमार्फत विभिन्न समूह बनाएर मानिसहरूलाई सट्टेबाजीका लागि आकर्षित गर्ने, लिंक पठाउने र रकम जम्मा गराउने गरेको अनुसन्धानबाट खुलेको छ। क्रिकेट, फुटबल तथा क्यासिनोसँग सम्बन्धित खेलमा अनलाइन बाजी लगाउने व्यवस्था मिलाउने गरेको प्रहरीको भनाइ छ।
दैनिक लाखौँ आम्दानी, भारतसँग जोडिएको सञ्जाल
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्ने गरेको खुलेको छ। उनीहरूले भारतीय बैंक खाता भाडामा प्रयोग गरी अनलाइन कारोबार गर्ने गरेको र भारतबाट सञ्चालन हुने मुख्य गिरोहको २७औँ शाखाका रूपमा पोखराको केन्द्र सञ्चालन भएको देखिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतीयसहित आठजना
पक्राउ पर्नेमा दार्चुला घर भई पोखरा १८‚ सेदी बस्ने ३१ वर्षीय दिनेशसिंह बोहोरा, भारतको भुपा मानपुर स्थायी ठेगाना भई पोखरा १८ बस्ने ३४ वर्षीय सत्यम् सिंह (मुख्य सञ्चालक) छन्।
त्यस्तै हर्ष उम्रेटे, विशाल चाउड, जमानसिंह तमार, विक्रान सिंह, अजितेशकुमार मिश्र र सत्यम् राजपुत पक्राउ परेका छन्।

बरामद सामग्रीहरू।
बरामद सामग्रीले देखायो संगठित कारोबार
प्रहरीले घटनास्थलबाट ठूलो मात्रामा विद्युतीय उपकरण र सञ्चार सामग्री बरामद गरेको छ। विभिन्न कम्पनीका सात थान ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल फोन, चार थान मिनी डेस्कटप, दुई थान राउटर, ३४ थान भारतीय सिमकार्ड, यूपीएस, ब्याट्री, किबोर्ड र चार्जरलगायत सामग्री बरामद गरेको छ।
कास्की प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले यो गिरोहको आर्थिक सञ्जाल, संलग्न व्यक्ति, रकमको प्रवाह र भारतसँगको सम्बन्धबारे अनुसन्धान अघि बढाएको छ।