काठमाडौँ। विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण भएको जनाएको छ।
महामन्त्री विपिनकुमार आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा रास्वपाले यस्ता गतिविधिले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्य राखेको भन्दै त्यसलाई लोकतान्त्रिक मूल्य-मान्यताविपरीत कार्य भएको उल्लेख गरेको छ। स्वतन्त्र र भयरहित पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ मान्दै पार्टीले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
रास्वपाले कुनै पनि बहानामा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई कमजोर पार्ने प्रयास कदापि स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै यस्ता घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीको पहिचान गरेर कानुनअनुसार कारबाही गर्न सरकार, गृह मन्त्रालय र सुरक्षा निकायसँग माग गरिएको छ।
पार्टीले सञ्चारकर्मीहरूलाई कुनै दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता जारी राख्न अपिल गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धता जनाएको छ।
तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरमा रहेको अनलाइनखबर‚ मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजन‚ अनामनगरको भाटभटेनी अगाडिको सडकमा र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निवासअगाडिको सडकमा सोमबार गाडी बेवारिसे राखिएका थिए। पछि प्रहरीको सहायतामा ती गाडी हटाइएका थिए।
