भानु जयन्ती
यस्तो नेपालको निर्माण गर्न सकौँ– जहाँ जनकपुरधामको भानुचोकमा भानुभक्त ससम्मान मुस्काइरहेका होऊन्, मैथिल महाकवि विद्यापतिको ‘देसिल वयना’ को मधुर धुन देशभर गुन्जियोस्।
असारको झरी, हिलो र रोपाइँको चटारोका बीच जब आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आउँछ, तब नेपालभित्र मात्र होइन, विश्वका अनेकन् कुनाकाप्चामा छरिएर रहेका नेपाली मन एकाकार हुन पुग्छन्। यतिबेला नेपाल र नेपाली जातिको बसोबास रहेका विश्वका विभिन्न भूगोलमा भानु जयन्ती समारोहको उत्सव चलिरहेको छ।
नेपालमा आजको राजनीतिक चेतना, बदलिँदो सामाजिक विमर्श र पहिचानको आन्दोलनका बीच भानुभक्तको एकल भाषिक र जातीय पहिचानबारे यस पंक्तिकारसहित पहिचानवादीहरूका गुनासा हुनु स्वाभाविक हो। तर, त्यसले नै उनको साहित्यिक योगदानको मूल्यांकनलाई निर्धारण गर्दैन। मुलुकको सिमानाबाहिर पुग्नासाथ भानु कुनै एउटा भूगोल वा जातिको घेरामा सीमित रहँदैनन्, उनी सम्पूर्ण नेपाली महाजातिका साझा प्रतीक पुरुष बन्न पुग्छन्। भानुका काव्य-हरफहरूमा उनिएर नै वैश्विक रूपमा नेपालीहरूले आत्मपरिचय स्थापना गरेको पाइन्छ। वस्तुतः विश्वमा यसै प्रक्रियाबाट एउटा बलियो र भावनात्मक ‘नेपाली महाजाति’ को निर्माण भएको छ।
व्यक्तिगत रूपमा मैले भारतका असम, मणिपुर, पश्चिम बंगाल, देहरादुनलगायत अनेकौँ क्षेत्रमा पुग्दा प्रत्यक्ष देखेको र अनुभूत गरेको यथार्थ हो यो। भारतमा मात्र होइन, अल्पकालीन रूपमा नेपालीहरूको बसोबास रहने गरेका देश मलेसिया, कतार, यूएई, साउदी अरब, कुवेतमा पनि धेरथोर मात्रामा नेपालीपनको यही छवि देखिने गरेको छ। अझ अमेरिका, अस्ट्रेलिया, बेलायत जस्ता देशमा नेपाली महाजातिको निर्माणमा भानुभक्तीय तत्त्वले झन् बढी काम गरेको देख्न-सुन्न पाइन्छ। यी दृष्टान्तका आधारमा के भन्न सकिन्छ भने, भानुभक्त केवल एक ऐतिहासिक कवि होइनन्, नेपाली पहिचान, संस्कृति र अस्तित्व रक्षाका बलिया सांस्कृतिक खम्बा पनि हुन्।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य।
नेपालमै भने यो अवस्था रहन सकेको छैन। विश्वभरिका नेपाली जन जनका मन मनमा उदाएका भानुभक्तले आफ्नै देशका कतिपय ठाउँमा आश्रयविहीन हुनुपरेको छ। कुरा गर्दै छु- नेपालको एउटा विशिष्ट सांस्कृतिक सहरको, जसले प्राचीन मिथिला सभ्यताको चरम उत्कर्ष, प्रज्ञा, दर्शन र वैभवलाई आफ्नो छातीभित्र युगौँदेखि सँगालेर राखेको छ, त्यहाँ भानुले सहरबाट उठिबास लगाइएका सुकुम्बासीको नियति भोगिरहेका छन् दुई दशकदेखि। जनकपुरधामको भानुचोकबाट दुई दशकअघि आन्दोलन र आक्रोशको भुमरीमा परी भानुको सालिक भत्काइयो। एउटा कविको प्रतीकात्मक स्वरूपलाई राजनीतिक असन्तोषको तारो बनाइयो।
विडम्बना के भने, दुई दशक बितिसक्दा पनि भानु चोक व्यवस्थित र पुनर्जीवित हुन सकेको छैन। बरु उपेक्षित खण्डहरका रूपमा छ। आफ्नो भत्किएको सालिक र त्यो स्थान दुई दशकसम्म उजाड, धुलोमैलो र भग्नावशेषको रूपमा देख्दा भानुको आत्मा कति रुँदो हो!
एकल पहिचानको राजनीति
भानुभक्त नेपाली जातीयता र भाषिक एकताको बलियो पहिचान बनेकामा कसैको विमति हुन सक्दैन। तर, इतिहासको एउटा निर्मम र अँध्यारो पाटोलाई हामीले बेवास्ता गर्न मिल्दैन, जसले आजको यो अचेतनताको बीजारोपण गरेको थियो। राणाशासनदेखि पञ्चायतकाल र त्यसपछिको प्रजातन्त्रमा समेत ‘नेपाली पहिचान’ र राष्ट्रिय एकताको एउटा साझा मञ्च बनाउने नाममा राज्यद्वारा एकलौटी र एकात्मक सांस्कृतिक नीतिहरू लादिए। ‘एक भाषा, एक भेष’ को त्यो आक्रामक राजनीतिक अभियानमा नेपालका अन्य समृद्ध, ऐतिहासिक, मौलिक र जीवन्त भाषिक तथा सांस्कृतिक समुदायका रैथाने पहिचानहरूलाई संरक्षण गर्नुको साटो नियोजित रूपमा किनाराकृत गर्ने र मेट्ने प्रयासहरू भइरहे। स्वयं त्यस माटोका सन्ततिहरूलाई माटोबाट उखेलिन प्रेरित गरियो।
मिथिलाको मुटु जनकपुरधामका स्थानीय बासिन्दाहरूलाई तत्कालीन केन्द्रीकृत र सामन्ती राज्य व्यवस्थाले आफ्नो सांस्कृतिक तथा सिर्जनात्मक पहिचानको सर्वोच्च प्रतीक, मैथिल कोकिल महाकवि विद्यापतिलाई गौरवका साथ सम्झिरहन सक्ने कुनै संस्थागत आधार दिएन। राज्यका निकायहरूले मैथिली भाषा, कला तथा सलहेस, दिना-भद्री, लोरिक जस्ता लोकनायकहरूलाई सम्मान दिनुको साटो उपेक्षाको दृष्टिले हेरे।

इलामको सूर्योदय नगरपालिकाको पञ्चकन्यामा रहेको विद्यापतिको प्रतिमा नियाल्दै लेखक प्रेमर्षि।
यहाँ एउटा गम्भीर सामाजिक र मनोवैज्ञानिक प्रश्न खडा हुन्छ– आफ्नै घरको जन्मदाता बाबुआमालाई चिन्न नसक्ने, उनीहरूलाई उचित स्थान र सम्मान दिन नसक्ने सन्तानबाट समाज, टोल वा सिंगो राज्यको गौरवलाई आत्मसात् गर्ने अपेक्षा कसरी राख्न सकिन्छ? जब स्थानीय जनमानसले आफ्नो प्राचीन र ऐतिहासिक पहिचानमा राज्यको बुट बज्रेको महसुस गर्छ, तब त्यसको प्रतिरोधी आक्रोश कहिलेकाहीँ गलत ठाउँमा वा गलत पात्रमा पोखिन पुग्छ। जनकपुरधाममा भानुको सालिक ढालिनुमा नेपाली भाषाका आदिकवि भानुभक्तप्रतिको व्यक्तिगत असन्तोष वा साहित्यिक विद्वेष पक्कै थिएन, त्यो राज्यको एकल जातीय र भाषिक दमनकारी नीतिविरोधी आक्रोशको प्रकटीकरण थियो।
विद्यापति : जनभाषाको आदि–मार्ग र भाषिक सामर्थ्य
इतिहास पल्टाएर हेर्दा भानुभक्त आचार्य जुन बाटो हिँडेर लोकको प्रिय कवि हुन सफल भए, त्यो लोकभाषाको राजमार्ग आजभन्दा झन्डै ७०० वर्षअघि नै मैथिल कविकोकिल विद्यापति (१३५०-१४४८ ई.)ले खनिसकेका थिए।
विद्यापति संस्कृत भाषाका प्रकाण्ड विद्वान् थिए। उनले संस्कृत भाषामा कैयौँ कालजयी कृतिको प्रणयन गरेका थिए। तर, दरबारिया प्रतिष्ठा र संस्कृतको उच्च आदर हुँदाहुँदै उनले रैथाने जनभाषाको सामर्थ्य र मिठास चिन्न सके। उनले देवभाषा भनिने संस्कृतमा मात्र साहित्य सिर्जना गर्ने तत्कालीन रूढ परम्परालाई तोडेर जनभाषामा सिर्जना गर्ने परिपाटी बसाले। संस्कृत र प्राकृत भाषा जनसाधारणको मन र संवेदना अभिव्यक्त गर्न असमर्थ देखिएपछि आफू जनभाषा (अवहट्ठ/मैथिली)मा आफूले लेख्ने निश्चय गरेको सम्बन्धमा उनले भनेका छन्:
सक्कअ वाणी बहुअन भाबइ
पाउअ रस को मम्म न पाबइ।
देसिल वयना सबजन मिट्ठा
तै तैसन जम्पओ अवहट्टा ।
(अर्थात्, संस्कृत भाषा विद्वान्हरूलाई प्रिय लागे पनि यसले आममानिसको भावना समेट्न सक्दैन। प्राकृत भाषाले साहित्यको रस र मर्मलाई अँगाल्न सक्दैन। आफ्नो देशी भाषा सबैलाई मीठो लाग्छ, यसैले म अवहट्टमा काव्य लेख्छु।)
विद्यापतिको भाषाको यही प्रवाह, काव्यको जादुमयी प्रभाव र अद्भुत भाषिक सामर्थ्यलाई सूक्ष्म रूपमा नियाल्दा लेखक/विश्लेषक सीके लालको एउटा धारणा निकै सान्दर्भिक देखिन्छ। उनी भन्छन्, ‘विद्यापतिको समयमा मैथिली कुनै नयाँ भाषाका रूपमा संघर्षरत नरहेर पूर्ण रूपमा एउटा स्थापित भाषाका रूपमा लोकमानस र प्रज्ञामा स्थापित भइसकेको थियो।’

मैथिली भाषाका महाकवि विद्यापति। तस्बिर : सामाजिक सञ्जाल
संस्कृतको प्रकाण्ड विद्वता हुँदाहुँदै आमजनका लागि अवहट्ठ (मिथिला अपभ्रंश) र मैथिलीमा कविता रचना गरेकै कारण विद्यापतिले तत्कालीन समयका अनुदार पण्डित र शास्त्रीय रूढिवादीहरूको घोर आलोचना र विरोध खेप्नुपर्यो। तर, समयको कसीमा ती आलोचकहरू हराएर गए, र तिनै मैथिली पदावलीहरूका कारण विद्यापति समस्त भारतीय आर्यभाषाहरूकै पथप्रदर्शक र युगान्तकारी कविका रूपमा विख्यात भए। उनी मिथिलाको सिमानामा मात्र बाँधिएनन्, बंगाल, असम, उडिसा र नेपाल उपत्यका आदि सबैतिर सम्मानित भए।
‘देसिल वयना’ को वैश्विक पदचाप
विद्यापतिले प्रतिपादन गरेको ‘देसिल वयना’ (स्वदेशी भाषा)को सूत्र वस्तुतः आफ्नै मातृभाषाको प्रयोगको क्रान्तिकारी आन्दोलन थियो। कालान्तरमा त्यसै मातृभाषी सूत्रको सिको गर्दै र त्यही गोरेटोमा हिँडेर सन्त तुलसीदास, कबीर दास, मीरा बाई र सूर दास जस्ता युगान्तकारी कविहरूले भारतवर्षको साहित्यिक क्षितिजमा उत्कर्ष प्राप्त गरे। मातृभाषाको प्रयोगबाट मात्र जनमनको संवेदनालाई वास्तविक रूपमा अनुभूत गर्न र प्रकट गर्न सकिन्छ भन्ने निचोडमा पुगेरै होला, हिन्दीका सुप्रसिद्ध कवि हरिवंश राय बच्चनले मैथिल कविकोकिल विद्यापतिलाई सम्बोधन गर्दै मार्मिक शब्दमा लेखेका छन् :
थे न कबीर न सुर न तुलसी
और न थी जब बाबरि मीरा
तब तुम ने ही मुखरित की थी
मानव के मानस की पीडा।
अर्थात्, प्राचीन भारत आर्यावर्तमा पछि आएका कबीरदास, सुरदास, तुलसीदास र मीराबाई जस्ता कविहरूको विशिष्ट महत्त्व र उच्च स्थान त छँदै छ, तर आममानिसको छातीभित्र गुम्सिएको दुःख-पीडा, हाँसो-रोदन र संवेदनालाई तिनकै भाषा र परिवेशमा मुखरित गरिदिने पहिलो कवि विद्यापति नै थिए। विद्यापतिले सुरुआतमा कोरेको जनभाषाको गोरेटोले नै परवर्ती साहित्यकारहरूका लागि राजमार्ग बनाउने पूर्वाधार खडा गर्यो।
नेपाली भाषाका आदिकवि भानुभक्तलाई पनि हामी ठ्याक्कै त्यही कोटिमा राखेर हेर्न सक्छौँ। भानुभक्तले पनि संस्कृतको पाण्डित्याइँ छाडेर आमजनले बुझ्ने गरी सरल नेपाली भाषामा रामायणको अनुवाद गरे, जसले छरिएर रहेका नेपालीहरूलाई एउटै भाषिक सूत्रमा उनेर ‘नेपाली महाजाति’ को निर्माणमा ऐतिहासिक टेवा पुर्यायो र नेपाललाई एउटा भाषिक आधारशिला प्रदान गर्यो।
विद्यापतिको काव्य-चेतनाको प्रभाव कति विराट् थियो भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण विश्वकवि तथा नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोर हुन्। टैगोर आफ्नो लेखनको प्रारम्भिक चरणमा विद्यापतिबाट कतिसम्म प्रभावित भए भने उनले ‘भानुसिंह’ छद्मनाम प्रयोग गरेर कतिपय उत्कृष्ट कविताहरू लेखे। उनको भानुसिंघेर पदावली नामको एउटा ग्रन्थ नै प्रकाशित छ। पछिल्ला खोजहरूबाट कविगुरु टैगोरले विद्यापतिका अनेकौँ कालजयी गीतलाई आफैँले संगीतबद्ध गरेको प्रमाणसमेत फेला पर्दै गएका छन्। टैगोरले स्विकारेका छन्, ‘मेरो काव्यचेतनालाई सर्वप्रथम भित्रैदेखि झकझक्याउने र ब्युँझाउने तत्त्व भनेकै मैथिल कविकोकिल विद्यापतिका राधा-कृष्णको अलौकिक प्रेम र विरहसम्बन्धी पदावलीहरू हुन्।’
उपर्युक्त प्रसंगहरूबाट के स्पष्ट हुन्छ भने, भानुभक्त जस्ता प्रतिभाको निर्मितिमा समेत विद्यापतिले आफ्नो समयमा बनाएका बाटा र छरेका सिर्जनाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसकारण भानुभक्तको साँचो सम्मानका लागि पनि हाम्रो परिवेशका पूर्ववर्ती साहित्यिक विभूतिहरूको परिचय जनमानसमा रहिरहनु आवश्यक थियो।
सांस्कृतिक बहुलताको सम्मान
विगतका शासक, नीति-निर्माता र राज्य संयन्त्रसँग नेपालको यो विराट् बहुभाषिक र सांस्कृतिक बहुलतालाई बुझ्ने न्यूनतम विवेक हुन्थ्यो भने आज जनकपुरधाममा भए जस्तो दुर्दान्त अवस्था कुनै सिर्जनधर्मीले भोग्नुपर्ने थिएन। राज्यले मैथिलीका महाकवि विद्यापति, नेवारीका महाकवि सिद्धिदास महाजु, किरात संस्कृतिका महागुरु फाल्गुनन्द प्रभृति विभूतिहरूको पहिचान, इतिहास र सम्मानलाई सम्बद्ध समुदायको गौरवका रूपमा स्थापित गर्ने इमानदार प्रयास गरेको भए जस्तोसुकै मूढ वा कुण्ठित मानसिकता भएको व्यक्तिले पनि जनकपुरधामको भानुचोकलाई भानुभक्तको सालिकविहीन बनाउने धृष्टता कदापि गर्ने थिएन। कदाचित् कुनै उच्छृंखल तत्त्व वा राजनीतिक स्वार्थ समूहले त्यस्तो कुकर्म गरिहालेको खण्डमा पनि स्थानीय समुदाय अघि सरेर ‘भानु पनि हाम्रै हुन्’ भन्दै उनलाई पुनः ससम्मान त्यही चोकमा विराजमान गराउने थियो। किनभने, जब मानिसले आफ्नो घरमा आफ्ना जन्मदाताको पहिचान सुरक्षित र सम्मानित देख्छ, तब मात्र उसमा अरूको पहिचान, अरूको भाषा र प्रतीकलाई पनि आदर गर्ने उदारता र वैश्विक सद्भाव स्वतः प्रस्फुटित हुन्छ।

तनहुँको चुँदी रम्घास्थित भानु संग्रहालयमा रहेको नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य र मैथिली भाषाका आदिकवि विद्यापतिको एउटै फ्रेमको चित्र।
उसो त नेपाली समाज र इतिहासमा यस्ता सकारात्मक र सद्भावपूर्ण प्रयास हुँदै नभएका भने होइनन्। मिथिलाको केन्द्रीय भाग जनकपुरधाममा राज्यले त्यो विवेक र दूरदर्शिता देखाउन नसके पनि पूर्वी मिथिलाको ऐतिहासिक, औद्योगिक र प्राज्ञिक सहर विराटनगरमा स्थानीय समुदायले राज्यको समेत सक्रिय संलग्नतामा एउटा उदाहरणीय कार्य गरेर देखाएका छन्। विराटनगरमा महाकवि विद्यापति, नेपाली भाषाका विशिष्ट साधक महानन्द सापकोटा र आदिकवि भानुभक्तको ‘त्रिमूर्ति’ स्थापना गरिएको छ। यस त्रिमूर्तिले बहुभाषिक र बहुसांस्कृतिक नेपालको सुन्दर तस्बिर झल्काउँछ।
त्यसैगरी, पछिल्लो समयमा पूर्वी पहाडको सुन्दर जिल्ला इलामको पञ्चकन्या डाँडामा महाकवि विद्यापतिको पूर्णकदको भव्य सालिक स्थापना गरिएको छ। पहाडको चुचुरोमा मैथिल कोकिलको सालिक ठडिनु र मिथिला-मधेसको केन्द्रमा भानुको सम्मानको खोजी हुनु अन्तरसांस्कृतिक सद्भाव र सम्मानको अनुपम उदाहरण हो।
यस्ता रचनात्मक क्रियाकलापले विगतमा राज्यकै विभेद र बेवास्ताका कारण मरुभूमि जस्तै रूखो बन्दै गएको हाम्रो सामाजिक मानसिकतामा सदाशय, आपसी विश्वास र सद्भावको सिञ्चन र मलजल हुन थालेको आभास दिन्छ। यसले भ्रातृत्वको नयाँ पालुवा पलाउने बलियो आशा जगाउँछ।
अमिलो यथार्थ र भावी पुस्ताको दायित्व
सत्य जतिसुकै अप्रिय लागे पनि एउटा अमिलो यथार्थ हामीले स्विकार्नैपर्छ। विगतका गलत गतिविधि, निषेधको राजनीति र साम्प्रदायिक विद्वेषका कारण उजाड र बन्जर बनिसकेको लोकमानसलाई चेतना, प्रज्ञा र भ्रातृत्वको पुरानै लयमा फर्काउन धेरै गाह्रो भइरहेको छ। भत्काउन त एकै क्षणको राजनीतिक आक्रोश काफी हुन्छ, तर निर्माण गर्न र मनहरू जोड्न वर्षौंको साधना, क्षमा र सद्भाव आवश्यक पर्छ। जनकपुरधामको भानुचोक आफ्नो पूर्ण स्वरूप र पुनरुत्थान पर्खेर बसिरहेको छ, जसले हाम्रो सांस्कृतिक घुलनको अभाव र अक्षमता प्रदर्शित गरिरहेको भान हुन्छ।
अबको समय पुरानो गल्ती दोहोर्याएर बस्ने वा अतीतको आक्रोशमा वर्तमान र भविष्यलाई बन्धक बनाउने होइन। अब सम्बद्ध समुदायका चेतनशील व्यक्तिहरू, नागरिक समाज र राज्यका स्थानीय तथा केन्द्रीय निकायहरूले आफ्ना ऐतिहासिक विभूतिहरूको पहिचान गरी उनीहरूलाई उचित सम्मान दिने स्वस्थ वातावरण बनाउनुपर्छ। नेपाली महाजातिको चिनारीका अजम्बरी प्रतीक भानुभक्त आचार्य हुन् वा प्राचीन प्राच्य प्रज्ञा र जनभाषाका महानायक महाकवि विद्यापति, यस्ता विभूतिहरूको सिर्जना, विचार र साधनाका कारण जनमन उज्यालो भइरहेको छ।
विद्यापतिले आजभन्दा ७०० वर्षअघि खनेको जनभाषाको गोरेटोमा हिँडेर नै २०० वर्षअघि भानुभक्तले नेपाली भाषालाई सिञ्चित गरेका हुन्। त्यसैले यी दुवै मानसका प्रकाश-पुञ्ज हुन्। यस्तो प्रकाशलाई कसैले पनि आफ्नो कुत्सित, संकुचित र साम्प्रदायिक-राजनीतिक स्वार्थको हत्केलाले छेक्ने दुष्प्रयास गर्न हुन्न र गर्ने वातावरण पनि रहन दिनु हुँदैन। राजनीतिक नाराका नाममा कालजयी सर्जकहरूलाई अपमानित गर्नु आत्मघाती कदम हो।
अब हामीले यस्तो नेपालको निर्माण गर्न सकौँ– जहाँ जनकपुरधामको भानुचोकमा भानुभक्त ससम्मान मुस्काइरहेका होऊन्, सँगै मैथिल महाकवि विद्यापतिको ‘देसिल वयना’ को मधुर धुन देशको ढुकढुकी बनेर गुन्जियोस्। जबसम्म हामी एकअर्काको अस्तित्व, भाषा, इतिहास र योगदानलाई हृदयदेखि स्वीकार गरेर अघि बढ्दैनौँ, तबसम्म न त भानुभक्तको आत्माले शान्ति पाउनेछ, न विद्यापतिको प्रज्ञाकै साँचो सम्मान हुनेछ। चेतना, प्रज्ञा र भ्रातृत्वको यही साझा गोरेटो नै हाम्रो सुखद भविष्यको राजमार्ग हो।