काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३० असार २०८३
अ+
अ-

काठमाडौँ। कास्की प्रहरीले टल्किने वस्तु देखाएर लाखौँ ठगी गरेको आरोपमा पोखराबाट ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका-४ घर भई पोखरा महानगरपालिका-२६ बस्ने ५१ वर्षीय डिलबहादुर बुढाथोकी, म्याग्दी रघुगंगा गाउँपालिका-५ का २९ वर्षीय दीपक गोतामे, पोखरा महानगरपालका-२८ का ४५ वर्षीय प्रेमचन्द विश्वकर्मा, पर्वत फलेवास नगरपालिका-५ का ३५ वर्षीय राजन विश्वकर्मा, २९ वर्षीया रोशनी सुनार र ७२ वर्षीया खैसरा सुनार रहेका छन्।

उनीहरूलाई सोमबार बिहान राति पोखरा महानरपालिका-२६ कालिकास्थान छहारीबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताए। कार्कीका अनुसार उनीहरूले पोखरा महानगरपालिका-१८ का दीपेन्द्र तिम्सिनालाई ठगी गरेको आरोप छ।

पक्राउ परेकाहरूले बहुमूल्य ‘क्रिस्टल’ भन्दै टल्किने वस्तु देखाएका थिए। उक्त वस्तुको अर्बौँ रुपैयाँ पर्ने भन्दै तिम्सिनालाई दिएर १० लाख रुपैयाँ लिएका थिए।

पुन: उनीहरूले फोन गरेर २० लाख रुपैयाँ मागेका थिए। थप मागिएको रकम नदिए धाकधम्की देखाएपछि तिम्सिनाले प्रहरीमा खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उक्त वस्तु, काठको फोल्डिङ बट्टा, मोबाइल ६ थानसहित उनीहरूलाई पक्राउ गरेर हिरासतमा राखेको छ।