काठमाडौँ। प्रहरीले नियन्त्रित लागुऔषधसहित भैरहवाबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्तापश्चिम सरावल गाउँपालिका-७ का २४ वर्षीय महम्मद अफ्जल अन्सारी र पालिनन्दन गाउँपालिका-२ का २५ वर्षीय सोहितकुमार कमकर रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाको टोलीले उनीहरूलाई सोमबार पालिनन्दन गाउँपालिका-३ सुगौलीबाट पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरू भारतीय नम्बरको मोटरसाइकलमा सवार थिए।
युपी५६एफ ९५२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन १९३५ एम्पुल बरामद भएको रेग्मीले बताए।
पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय महेशपुर नवलपरासीले हिरासतमा लिएर अनुसन्धान थालेको छ।