पुँजीबजार
काठमाडौँ। नेपालमा डिम्याट (हितग्राही) खाताको संख्या ७७ लाख ६६ हजार ५६५ पुगेको छ।
आर्थिक वर्ष ०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो। अहिले नेपालको कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ मा उल्लेख छ।
डिम्याट खाता सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३४.१३ प्रतिशतले खोलेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा २.९८ प्रतिशतले खोलेका छन्। कोसीमा १८.९३ प्रतिशत, गण्डकीमा १२.४६ प्रतिशत, लुम्बिनीमा १२.१४ प्रतिशत, मधेसमा १२.६८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६.६७ प्रतिशतले डिम्याट खाता खालेका छन्।
नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार मेरो सेयर खाता खोल्ने लगानीकर्ताको संख्या पनि बढेको छ। आव ०७७/७८ सम्म मेरो सेयर खाता खोल्ने संख्या सात लाख थियो। चालु आवको जेठ मसान्तसम्मको अवधिमा भने ६७ लाख ३७ हजार २५४ लगानीकर्ताले मेरो सेयर खाता खोलेका छन्। कुल जनसंख्याको २३ प्रतिशतले मेरो सेयरको खाता खोलेका छन्।
विगत पाँच वर्षको अवधिमा सेयर कारोबार गर्ने (टीएमएस) खाता खोल्नेको संख्या पनि बढेको प्रतिवेदनमा उल्लेख छ। धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न प्रत्येक लगानीकर्ताले टीएमएस खाता खोल्नुपर्ने हुन्छ।
आव ०७७/७८ मा टीएमएस खाता खोल्ने लगानीकर्ताको संख्या करिब ३५ हजार मात्रै थियो। आव ०८२/८३ को जेठ मसान्तसम्म टीएमएस खोल्ने लगानीकर्ताको संख्या भने ३४ लाख ६६ हजार ४९९ जना पुगेको छ। प्रतिवेदनअनुसार सेयर पुँजीबजारमार्फत सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरबापत प्राप्त हुने राजस्व पनि बढेको छ।
आव ०७७/७८ मा सरकारले पुँजीबजारबाट लाभकरबापत १५ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो। चालु आवको जेठ मसान्तसम्मको अवधिमा सरकारले पुँजीगत लाभकर बापत १० अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
चालु आवमा सेयर बजार ओरालो लागेकाले पनि अपेक्षाकृत पुँजीगत लाभकर उठाउन सकेको छैन। नेपाल पुँजीबजार विकास मार्गचित्र २०८३ अनुसार नेपालको पुँजी बजारले पछिल्लो तीन दशकमा उल्लेखनीय विस्तार गरेको जनाएको छ। सन् २०२६ सम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २९७ कम्पनी सूचीकृत छन्। बजार पुँजीकरण करिब ४६ खर्च ५६ अर्ब पुगेको छ। जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ७०.५२ प्रतिशत बराबर हो।