काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

३१ असार २०८३
अ+
अ-

काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनसँग २–० को हार बेहोरेपछि आफ्नो टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन्।

डालास स्टेडियममा भएको सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै फ्रान्स प्रतियोगिताबाट बाहिरिएपछि डेसचाम्प्सले खेलाडीहरू निकै निराश रहेको बताए। उनले टोलीको लक्ष्य फाइनल पुग्ने भए पनि प्राविधिक कमजोरी र आक्रमणमा प्रभावकारी प्रदर्शन गर्न नसक्दा सफलता हात पार्न नसकिएको उल्लेख गरे।

‘हाम्रा खेलाडी निकै निराश छन्। हाम्रो लक्ष्य फाइनल पुग्ने थियो। तर आज हामी आफ्नै स्तरअनुसार खेल्न सकेनौं र स्पेनले खेलभरि उत्कृष्ट नियन्त्रण कायम गर्‍यो,’ डेसचाम्प्सले भने।

उनले हारको जिम्मेवारी आफ्नै टोलीले लिनुपर्ने बताउँदै सिर्जना भएका अवसरलाई सदुपयोग गर्न नसक्नु महँगो परेको प्रतिक्रिया दिए।

‘यो हार मुख्य रूपमा हाम्रो आफ्नै कमजोरीका कारण भयो। हामीले आक्रमणमा पर्याप्त दबाब सिर्जना गर्न सकेनौं। केही गलत पासका कारण महत्वपूर्ण अवसर पनि गुमायौं। उच्चस्तरीय फुटबलमा यस्ता गल्तीको मूल्य चुकाउनुपर्छ,’ उनले थपे।

खेलमा स्पेनले सुरुदेखि नै सन्तुलित र प्रभावशाली प्रदर्शन गर्‍यो। लामिन यामालमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि प्राप्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसपछि डानी ओल्मोसँगको उत्कृष्ट समन्वयमा पेड्रो पोरोले दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका पोरो ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यो जितसँगै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अब उसले आइतबार न्यूयोर्क–न्यु जर्सी स्टेडियममा इंग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। सन् २०१० पछि दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा स्पेन रहेको छ।

यता, ओयार्जाबालले पछिल्ला २० अन्तर्राष्ट्रिय खेलमा १८ गोल पूरा गरेका छन्। यससँगै उनी स्पेनका लागि ३० अन्तर्राष्ट्रिय गोल गर्ने छैटौं खेलाडी बनेका छन्। फ्रान्सले भने शनिबार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल खेल्नेछ, जहाँ कप्तान किलियन एमबाप्पेलाई गोल्डेन बुटको दौडमा आफ्नो गोल संख्या बढाउने अवसर हुनेछ।